मुख्यमन्त्री विरुद्ध ल्याउन लागिएको ‘अविश्वासको प्रस्ताव असफल’

प्रकाश पन्त

बीबीसी न्यूज नेपाली

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सांसदहरू एक ठाउँमा उभिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको दाबी गरिएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले नेता नेपालनिकट भनिएका सांसदहरूको साथ छुटेपछि अविश्वास प्रस्ताव असफल भएको दाबी गरिन्।

उनले भनिन्, “नेपाल समूहले मुख्यमन्त्रीलाई साथ दिएपछि यामलाल कँडेल समूह अल्पमतमा परेको छ।”

माधवकुमार नेपाल समूहले मन्त्री बनाउन सिफारिस गरेका केही सांसदलाई समेटेर प्रदेश सरकारको मन्त्रिपरिषद् पुर्नगठन गर्न लागिएको पनि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीले जानकारी दिइन्।

को पछि हटे?

तीन दिनअघि नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध पार्टीको संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

प्रस्ताव दर्ता गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनिएका आठ, पूर्वमाओवादी समूहका तीन र माधवकुमार नेपाल समूहका भनिएका सात सांसद देखिएका थिए।

तीमध्ये नेता नेपाल समूहका भनिएका सात जना हाल पछि हटेका बताइएको छ।

पार्टीको संसदीय दलमा उक्त प्रस्तावमा छलफलका लागि भन्दै प्रस्ताव गर्ने समूहले मङ्गलवार बोलाएको बैठकमा नेपालपक्षधर सांसदहरू सहभागी नभएपछि बैठक नै बस्न नसकेको बताइएको छ।

किन पछि हटे?

नेता नेपाल निकट सांसद कुर्मराज शाहीले केन्द्रीय नेतृत्वको निर्देशनमा आफुहरु पछि हटेको बताए।

उनले भने, “दलभित्र सानातिना समस्याहरु थिए पार्टी केन्द्रले ती समस्याहरू व्यवस्थापन गरेको छ।”

सांसद यामलाल कँडेलनिकट सांसद खड्कबहादुर खत्रीले अविश्वासको प्रस्ताव ल्याउने केही सांसदले मन्त्री र सचेतक हुने लोभमा आफूहरूको प्रस्तावको साथ छोडेको आरोप लगाए।

नेकपा संसदीय दलका नेता पनि रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मङ्गलवार नै नेपाल समूहका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन्।

अविश्वास प्रस्तावका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएका पहिलेका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई मुख्यमन्त्री शाहीले पदबाट हटाएका थिए।

नवनियुक्त सचेतक कुर्मराज शाहीले संसदीय दलको बैठक बस्न नसकेको कारण पहिले दर्ता गरिएको अविश्वासको प्रस्ताव स्वतः निस्कृय भएको दावी गरे ।

“दलको बैठक बसेर आधिकारीक ढंगले बहुमत सिद्ध गरेका भए दलको नेता जानु हुन्थ्यो”, उनले भने, “बैठक बस्न नसकेको हुनाले मुख्यमन्त्रीले फेरी विश्वासको मत हासिल गरेको भन्ने बुझिन्छ ।”

उनले अब संसदीय दलको बैठक कार्तिक ७ गते बस्ने जानकारी दिए ।

नेकपा संसदीय दलका नेता शाहीले गुलावजंग शाहीलाई दलको प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई उक्त जिम्मेवारी दिएका थिए ।

सीता नेपालीले दलको बैठक आगामी कार्तिक ७ गतेकालागि बोलाएकी थिइन् ।बीबीसीबाट

प्रकाशित मितिः २७ आश्विन २०७७, मंगलवार १७:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *