सुर्खेत,२८ जेठ ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधान कार्यान्वयनको लागि राष्ट्रिय सरकार आवश्यक रहेको वताउनु भएको छ ।
प्रेस चौतारी सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाटमा उहाँले संविधान कार्यान्वयन प्रमुख कुरा भएकोले राष्ट्रिय सरकार आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेकै सरकारलाई राष्टिय सहिमतिको सरकारको रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो यो सरकार तत्काल परिवर्तन हुदैन, वाहिर रहेका दलहरुलाई सहभागी गराएर यसैलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्छ ।
एमालेभित्रवाटै सरकारको आलोचना भैइरहेको भन्ने प्रश्नमा उहाँले एमालेमा धेरै थरी नेता भएकोले धेरै थरीका विचार आउनु स्वभाविक भएकोले यसलाई अन्यथा रुपमा लिन नहुने दावी गर्नुभयो । सचिव विष्टले एमाले भित्र प्रधानमन्त्री हुने हैसियत भएका धेरै नेताहरु पाइपलाइनमा रहेको समेत उल्लेख गर्नुभयो ।
सत्ताधारी नेकपा माओवादी केन्द्रसगँ सरकारको नेतृत्व परिवर्तनको वारेमा नभई सरकार संचालनको वारेमा भद्र सहमति भएको दावी उहाँले वताउनु भयो । उहाँले हिमाल, पहाड र तराइका जनताले उठाएका जाहेज माग पुरा गर्नको लागि नेतृत्व गर्न एमाले तयार रहेको पनि वताउनु भयो । पत्रकार सम्मेलनमा एमालेका पोलिटव्युरो सदस्य यामलाल कँडेल, सुर्खेतका अध्यक्ष धुव्रकुमार शाही लगायतको सहभागीता रहेको छ ।