सुर्खेत, २४ भदौ ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्ती सुर्खेत शुक्रबार मनाइएको छ ।
वीपी चिन्तन प्रतिष्ठान शाखा सुर्खेतले चियापान कार्यक्रम गरी दिवस मनाएको हो ।
चियापान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुशीलराज शर्माले वीपीले देखाएको बाटोलाई नेपाली काँग्रेसका कार्यकर्ताले सधैै अनुसरण गर्नुपर्ने बताए ।
उनले समाज रुपान्तरण र परिवतर्नलाई नै पार्टीले मुल मन्त्र बनाएर अगाडी बढ्न सुझाव दिए ।
प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य रामबहादुर सिंह, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरी शर्मा, प्रजातान्त्रीक प्राध्यापक संघका अध्यक्ष रुपेश खत्री, सचिव गीता ढकाल, नेपाल विद्याथी संघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सदस्य यज्ञ रामझालीलगायत मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो ।
वीपीको यात्रा
वीपी कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो
उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए । विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वा्चित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।
वीपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन् । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’ उपन्यास र कविता कृति प्रकाशित छन् । वीपीको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो ।