सुर्खेत, १७ मंसिर ।
नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताउनु भएको छ । नेकपा एमाले छैठौं प्रदेश कार्यकर्ता भेलालाई शुक्रबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै नेता खनालले अहिले मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र (माओवादी केन्द्र) बीच एकता आवश्यक रहेको विचार व्यक्त गर्नु भयो । उहाँले अंगिकृत नागरिकलेपनि संवैधानिक आयोगमा बस्न पाउनुपर्ने, पहाड र मधेशको नाममा अलग अलग राज्य हुनुपर्ने माग राख्नु गलत विचार भएको जिकिर गर्नु भयो ।
वरिष्ठ नेता खनालले संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने बताउनु भयो । संविधान कार्यान्वयन नै नगरि संशोधन गर्न नसकिने बताउँदै उहाँले एमाले संशोधन प्रस्तावको विरुद्धमा उभिने बताउनु भयो ।
त्यस्तै कुनै पनि बहाना बनाएर संघीय पुनर्संरचनाको नाममा ५ नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाहरुबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको एमालेले प्रतिकार गर्ने एमालेका अर्का नेता महासचिव ईश्वर पोखरेल बताउनु भयो । उहाँले पहाडी तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुुक्त भएको बताउँदै टुक्राउने भन्ने कुरा असम्भव रहेको उहाँको भनाइ थियो ।
सभालाई एमाले युवराज ज्ञवाली, यामलाल कँडेललगायतका नेताले सम्बोधन गर्नु भएको थियो ।