सुर्खेत, २५ कात्तिक ।
पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले काँग्रेसको नेतृत्वमा विगतमा भएका विकास निर्माणका कामहरुलाइ मूल्याङ्कन गरि आगामी निर्वाचनमा पनि जिम्मेवारी सुम्पिन आग्रह गर्नुभएको छ । प्रतिनिधी सभाका लागि सुर्खेतको क्षेत्र नं. १ बाट उम्मेदवार रहनुभएका खड्काले चुनवी कार्यक्रमअन्तर्गत शुक्रबार सुर्खेतको लेकवेशीमा भएको आमसभामा काँग्रेसले विगतमा गरेको विकास निर्माणका कामहरु उदाहरणीय भएको दावी गर्दै अब नेतृत्व गर्ने मौका पाए त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
आफू क्षेत्र नं. १ मा २०४८ साल यता लगातार सांसद रहँदा जनतालाइ विकास निर्माणका कार्यमा न्याय दिलाएकोले अब पनि जनताले आफूलाइ प्रनिधित्व गर्ने अवसर दिने विश्वास व्यक्त गर्नुभयो ।
खड्काले चुनाव प्रचारका क्रममा २०६४ सालअघि र २०७० सालपछि कांग्रेस नेतृत्वमा भएका विकास–निर्माणका कामहरुका बारेमा जनतालाई जानकारी गराउन निर्देशन दिनुभयो । खड्काले विकासको सृजना र सृष्टी कांग्रेसले गरेको बताउँदै विकास निर्माणको निरन्तरताका लागि पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैबीच लेकबेशीमा सम्पन्न आमसभामा माओवादी केन्द्रका टिकाराम छन्त्याल, धनिराम लामिछाने, देउरुपा कार्कीसहित ८० जना नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यसैगरी नेकपा एमालेका भिमप्रकाश आचार्य, बलबहादुर सलामी, राजकुमारी खाम्चा, शान्ति विकसहित ७८ जनाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । यस्तै राप्रपाबाट यमलाल सुवेदीसहित ७ जनाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । यसैगरी, कल्याणमा भएको कार्यक्रममा पनि ५ जनाले विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन्