सुर्खेत, २ मंसिर ।
नेकपा एमालेका नेता यामलाल कंडेलले वीरेन्द्रनगर सम्वृद्ध बनाउने भिजन आफूसँग मात्रै रहेको दाबी गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ (क) प्रदेश सभाका वाम गठबन्धनका साझा उम्मेदवार कंडेलले बुधबार वीरेन्द्रनगर –१० मा घरदैलो कार्यक्रमपछि कोण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । वीरेन्द्रनगरलाई छैटौं प्रदेशको नमुना तथा सुविधा सम्पन्न राजधानीका रुपमा विकास गर्न वापन्थीहरुको सरकार आवश्यक रहेको भन्दै उनले मतदाताहरुलाई वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे । आफू निर्वाचित भए वीरेन्द्रनगरको गुरुयोजना पुनरालोकन, निर्माण र कार्यान्वयन, उपत्यकाको चक्रपथ निर्माण तथा सञ्चालन, सुविधा सम्पन्न सिटी अस्पतालको स्थापना र सडक पूर्वाधार खानेपानीलगायतका क्षेत्रमा उल्लेखिय काहरु गर्ने नेता कंडेलले मतदातासंग प्रतिवद्धता व्यक्त गरे ।
यसैबीच, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले वाम गठवन्धनको पक्षमा व्यापक जनलहर रहेको बताएका छन् । स्थानीय तहमा निर्वाचित भएपछि अरु दलमा आवद्धभन्दा आफूहरुले जनपक्षिय काम गरिरहेकाले नागरिकहरु अझै आकर्षित भएका उनीहरुको भनाई छ । वीरेन्द्रनगर नगरपालिकाभित्रका वडामा निर्वाचित भएका र नगर उपप्रमुख मोहनमाया ढकालले अहिले झन वामपन्थी गठवन्धन र पार्टी एकताको कुराले लोकप्रियता बढाएको बताईन् । नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा सुर्खेत क्षेत्र नम्वर २ (क) का प्रत्येक्ष उम्मेदवार यामलाल कँडेलसँगको औपचारिक भेटघाटमा उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले पहिलो प्रदेश सरकार वामपन्थीकै बनाउनुपर्ने भएकाले पनि मतदाताले सोचेरै क्षेत्र नम्वर २ (क) का उम्मेदवार कँडेललाई मतदान गर्नुपर्ने बताएका छन् । प्रदेशकै राजधानीभित्रै व्यक्तिलाई मुख्य मन्त्री बनाउनका लागि नागरिकको मत वामपन्थी गठवन्धनमा आउनेमा आशावादी रहेको समेत जनप्रतिनिधिहरुले बताएका छन् ।