सुर्खेत, १६ मंसिर ।
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. १ का उम्मेदवार पूर्णबहादुर खड्काले विकास निर्माणका क्रममा काँग्रेसले चालेको कदमको मूल्याङ्कन अब विपक्षिले गर्नुपर्ने बताएका छन् । शनिबार सुर्खेतको डाँडाखालीस्थित जुम्ली अम्राइमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खड्काले गुमी–पातीहाल्ना सडकको सर्भे गर्दा ‘बिरालकानेको लहराले नापेर सडक कहिल्यै बन्न सक्दैन’ भनेर हिँड्ने विपक्षीहरु अहिले त्यही सडक हुँदै चुनाव प्रचार गर्न सिम्ता पुगेको बताए ।
उनले भने –‘काँग्रेसको पहलमा बनेको यो बाटोले यातायातको क्षेत्रमा सिम्ताको कायापलट गरेको छ ।’ फेरि पनि जनताले नेपाली काँग्रेसलाइ जिताएमा पाँच बर्षभित्र सिम्ता क्षेत्रलाई सबै सुविधाबाट सम्पन्न गराइ देशकै उत्कृष्ट क्षेत्र बनाउने उनले घोषणा समेत गरे ।
सिम्ताका बिरामीहरु उपचार गराउन बाहिर जान नपर्ने गरि पाँच बर्षभित्र सुविधा सम्पन्न अस्पताल निर्माण गर्दै खड्काले घरघरमा बिजुली बत्तीको सुविधा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । सञ्चारको क्षेत्रमा सुविधा सम्पन्न गराउन पाँच बर्षभित्र सिम्ताका टोल तथा गाउँ वस्तीहरुमा इन्टरनेटको सुविधा पु¥याइने उनले दावी गरे ।
सुर्खेतको पूर्व बोटेचौरदेखि पश्चिमको तातापानीसम्म सडक, बिजुली, सिचाइँ सुविधा उपलब्ध गराउन ४ अर्ब रुपैयाँको लगानीमा हाल बहुउद्देश्यीय सिचाइँ आयोजना शुरु गरिएको जानकारी दिँदै सोही आयोजनाबाट युवाहरुलाइ रोजगारी सृजना गरि नमूना रोजगार क्षेत्र बनाउने बताए ।
यसैगरी, चुनावी सभालाई सम्बोधन गर्दै सुर्खेत क्षेत्र नं. १ (क) नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार टेकबहादुर सिंहले जनताले आफूलाई विजयी गराएमा विकासका सम्पूर्ण पूर्वाधार तयार गर्न लागी पर्ने सिम्ता वासीलाइ बचन दिए । वाम गठबन्ध झुटको खेती भएको भन्दै उनले यो निर्वाचनमा जनताले नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ जिताएर सिम्ता काँग्रेसको किल्लाका रुपमा चिनाउने विश्वास व्यक्त गरे । उनले सिम्ताको विकास देखेर विपक्षीहरु अत्तालिएको टिप्पणी गर्दै विकासलाइ अझ तिब्र गतिमा लैजान काँग्रेसलाई जिताउन सिम्ता वासीलाई आग्रह गरे ।
काँग्रेस गाउँ कार्य समिति डाँडाखालीका सभापति चेतबहादुर रेग्मीको सभापतित्वमा भएको चुनावी सभामा पूर्व सांसद् लालबहादुर घले, क्षेत्रीय सभापति खड्क पोखरेल, काँग्रेसका नेताहरु वीरेन्द्र रावत र खड्क पोखरेलले पनि नेपाली काँग्रेसलाइ जिताउन मतदातासंग अपिल गरे ।कार्यक्रममा एमाले तथा माओवादी केन्द्र परित्याग गरि एकसय भन्दा बढीले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।