सुर्खेत, २५ मंसिर ।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले निर्वाचित सांसदलाई विकासकार्यमा एक भएर लाग्न अपिल गरेका छन् । सुर्खेत क्षेत्र नं. १ बाट पराजित भएपछि उनले विज्ञप्तिमार्पmत यस्तो बताएका हुन् ।
विज्ञप्तिमा उनले कांग्रेसको नेतृत्वमा सम्पन्न गरेका र सुरु गरेका विकासको जगमा समृद्धि अबको मूल ‘मिसन’ भएको बताएका छन् । ‘म सबैलाई विश्वास दिलाउन चाहन्छु कि– म संसदमा नरहे पनि विशेषगरी सुर्खेत क्षेत्र नं. १, समग्र जिल्ला, ६ नम्बर प्रदेश र मुलुककै विकास र समृद्धिको लागि म मेरो बुद्धि, विवेक, क्षमता र पहुँचको समुचित उपयोग गर्दै अहोरात्र खटिरहनेछु’ उनले भनेका छन्, ‘विशेषगरी हाम्रो पहलमा सुरु भएका समृद्ध सुर्खेत बनाउने केन्द्रीय, रणनीतिक, प्रादेशिक, क्षेत्रीय र सहरी सडकहरु, पुलहरु, खानेपानी, सिँचाई, विद्युतीकरणका योजनाहरु, २० वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको ‘भेरीगंगा उपत्यका नमूनाको आधुनिक सहर निर्माण योजना, ५० बेडको मेहलकुना अस्पताल निर्माणलगायत अन्य स्वास्थ्य संस्थाको भौतिक विस्तार योजनाहरु, शैक्षिक संस्थाहरुको भौतिक विस्तार योजनाहरु, रामघाटमा प्रादेशिक विमानस्थल निर्माण योजना, मेहलकुनाको नदी किनारमा निर्माण सुरु हुन थालेको सभाहल, एक वर्षभित्र सबै वडा र विद्यालयमा इन्टरनेट सेवा पु¥याउन सुरु गरिएको पाइलट प्रोजेक्टलगायत जिल्लाका विभिन्न भागमा सञ्चार सेवाको बिस्तार योजनाहरु, जिल्लाभित्रका सबै नदी–खोला तथा पहिरो नियन्त्रण योजनाहरु, ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित बिगत वर्षदेखि सुरु गरिएको भेरी करिडोर सिँचाई योजनालगायतका ‘सुनौला योजना’को प्रभावकारी कार्यान्वयनमा हाम्रो नियमित र निरन्तर जागरुकतासहितको निगरानी रहिरहनेछ ।’
पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहेका खड्काले करिब ७ दसक लामो राजनीतिक जीवनमा नेपाली कांग्रेसले यस्ता थुप्रै आरोह–अवरोह पार गरेको बताउँदै चुनावी नतिजाबाट रत्तिभर बिचलित नहुन, बरु गम्भीर रुपमा आत्मसमिक्षा गर्दै पार्टीको संगठन सुदृढीकरणमा लाग्न आह्वान पनि गरेका छन् ।
उनले प्रतिकूल परिस्थितिमा परिणाम ‘अस्वाभाविक’ आए पनि यसलाई स्वाभाविक रुपमा स्वीकार्नु लोकतान्त्रिक मूल्यमान्यताको सम्मान हो भनेका छन् । ‘निर्वाचनबाट आएको जनमतलाई सम्मान गर्दै सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित ध्रुवकुमार शाही र जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित सबै उम्मेदवारहरुलाई हार्दिक बधाई व्यक्त गर्दछु’ विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाको विकास र जनताको पक्षमा उहाँहरुको कार्यकाल सफल रहोस्, शुभकामना !’