विचलित नहुन निर्देशन

सुर्खेत, मंसिर २५ ।
नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले चुनावी परिणामबाट विचलित नहुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार विज्ञप्ति निकालेर विष्टले अहिले आएको नतिजाबाट रत्तिभर बिचलित नहुन, बरु गम्भीर रुपमा आत्मसमिक्षा गर्दै पार्टीको संगठन सुदृढीकरणमा लाग्न आम नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।
‘करिब ७ दसक लामो राजनीतिक जीवनमा नेपाली कांग्रेसले यस्ता थुप्रै आरोह–अवरोह पार गरेको छ’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘अहिले आएको नतिजाबाट रत्तिभर बिचलित नहुन, बरु गम्भीर रुपमा आत्मसमिक्षा गर्दै पार्टीको संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका आम नेता–कार्यकर्ता साथीहरुलाई आह्वान गर्दछु ।’


सुर्खेत क्षेत्र नं. २ ‘ख’ प्रदेशसभा सदस्य उम्मेदवारमा पराजित भएका विष्टले जनताले दिएको यो जनादेशको सम्मान गर्दै सुर्खेत क्षेत्र नं. २ (ख) बाट निर्बाचित बिन्दमान बिष्टसहित  निर्बाचित अन्य सबै उम्मेदवारहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।
विष्टले कांग्रेसको नेतृत्वमा पश्चिम सुर्खेतमा थुप्रै विकास–निर्माणका कामहरु भएको बताएका छन् । ‘नेपाली कांग्रेसको नेतृत्वमा पश्चिम सुर्खेतमा भएका विकास–निर्माणका कामहरुको मूल्याङ्कन जनताले गर्नु भएको छ । भौतिक संरचना निर्माण, पक्की र झोलुङ्गे पुल, शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, सञ्चार, सुर्खेतका सबै विद्यालयहरुमा दुई थान कम्प्युटर, सोलारसहितको इन्टरनेटको व्यवस्था, फ्रि वाइफाईलगायतका कार्यहरु कांग्रेसको नेतृत्वमा भएका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले सुरु गरेका विकास निर्माण योजनाहरुको प्रभावकारी कार्यान्वयनमा हाम्रो नियमित र निरन्तर जागरुकतासहितको निगरानी रहिरहेनछ ।’

 

प्रकाशित मितिः २५ मंसिर २०७४, सोमबार २०:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *