सुर्खेत, ३ फागुन ।
प्रदेश ६ को मुख्य मन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त हुनु भएको छ । बिहीबार साँझ प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
पूर्व ऊर्जामन्त्री शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुखसमक्ष दावी पेश गरेको थियो । शाहीलाई मुख्यमन्त्री बनाउन एमालेका १९ र माओवादीका १३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
मुख्यमन्त्री शाहीले भोली पद तथा गोपनीयताको शपथग्रहण गर्ने प्रदेश सचिवालयले बताएको छ । प्रदेश ६ भागबण्डामा मुख्यमन्त्री माओवादीको भागमा परेपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो । विहीबार दिउँसो दुबै दलका नेताहरुबीच माओवादीले नै मुख्यमन्त्री चलाउने सहमति गरेका थिए ।
प्रदेश ६ मा जम्मा ४० सांसद मध्ये एमालेका २०, माओवादीका १३ गरी वामगठबन्धनका ३३ जना छन भने कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन । नवनियुक्त मुख्यमन्त्री शाही कालिकोट ख बाट प्रदेश सभामा निर्वाचित हुनु भएको हो ।