दलको नेता को कँडेल कि शाही ?

कर्णाली प्रदेशमा नेकपाका शीर्ष नेताबीच मत नमिल्दा संसदीय दलको नेता चयन हुन सकेको छैन । पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भए पनि दलको नेता छनोटमा सहमति बन्न सकेको छैन । दलको नेता को हुने भन्ने विवाद प्रदेशस्तरमा नमिलेपछि केन्द्रमा लबिङ सुरु भएको छ ।

कँडेलको योजना : अहिले नेता, दुई वर्षपछि मुख्यमन्त्री
कँडेल दुई वर्षपछि मुख्यमन्त्री बन्ने योजनासहित अहिले संसदीय दलको नेता बन्न खोजिरहेका छन् । पहिला एमाले र माओवादी केन्दबीच सहमतिमा मुख्यमन्त्री चयन गर्ने वेलामा पनि नेता कँडेलले आलोपालोको कुरा निकालेका थिए । तर, त्यसमा औपचारिक सहमति नभएपछि मुख्यमन्त्रीमा शाहीलाई समर्थन गरेका थिए । कँडेल अहिले नेता जनार्दन शर्मालाई साथ लिएर भावी मुख्यमन्त्रीको प्रयासमा रहेको स्रोतले बतायो ।

सहमति नभए निर्वाचनबाट नेता छानिने
पार्टी केन्द्रले सहमतिमा संसदीय दलको नेता टुंगो नलगाए निर्वाचनबाट नेता छान्न म्यान्डेट दिएको छ । यो अवस्था आए दलको नेताका लागि पूर्वमाओवादी र एमालेबाट आकांक्षी थपिन सक्ने तथा सांसदहरू छ्यासमिस हुन सक्ने सम्भावना छ ।

कर्णाली प्रदेशका नेकपाका सांसद धर्मराज रेग्मीले संसदीय दलको नेता कहिले चयन हुने अहिलेसम्म टुंगो नभएको बताए । ‘नेताहरू छलफलमा हुनुहुन्छ चाँडै टुंगो लाग्ला, थप केही पनि जानकारी छैन,’ रेग्मीले नयाँ पत्रिकासँग भने ।

संसदीय दलको नेता चयन हुन नसक्दा प्रदेश सभा संसदीय समितिका सभापतिसमेत चयन हुन सकेको छैन । अहिले ज्येष्ठ सदस्यले नेतृत्व गरिरहेका छन् । साथै, प्रदेश सभाले पनि बिजनस पाइरहेको छैन । प्रदेशले बनाउनुपर्ने विधेयकको मस्यौदा बन्ने क्रममै रहेकाले प्रदेश सभाले धेरै बिजनेस पाउन नसकेको प्रदेश सभाका सदस्यहरूले बताए ।

कँडेल र शाहीको दाबी
संसदीय दलको नेताका लागि पूर्वएमाले नेता यामलाल कँडेल र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच प्रतिस्पर्धा छ । शाही पूर्वमाओवादी नेता हुन् । कँडेल पूर्वएमालेका संसदीय दलका नेतासमेत हुन् । शाहीलाई मुख्यमन्त्रीमा कायम राखेर आफूलाई दलको नेता बनाउनुपर्ने कँडेलको माग छ । तर, उनलाई दलको नेता बनाउँदा दुईवटा शक्तिकेन्द्र बन्ने भन्दै शाही आफैँले पाउनुपर्ने लबिङमा छन् ।नयाँ पत्रिकाबाट

प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार ०७:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *