प्रधानमन्त्री तानाशाही बन्दै गए : पौडेल

सुर्खेत — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाही बन्दै गएको आरोप लगाएका छन् । न्यायालय र संवैधानिक निकायमाथि हस्तक्षेप गरिनु यसैको प्रारम्भिक चरण भएको उनले बताए ।

पार्टीको जागरण अभियानको क्रममा सुर्खेत आइपुगेका नेता पौडेलले ओलीले उधारो बजेट विनियोजित गरेर चर्चा कमाएको बताए। उनले भने, ‘संघीयता विपरित, संविधान विपरित कामहरु गर्दै गइरहेका छन्, सबै अधिकार आफैंतर्फ केन्द्रित गरेका छन्।’

उनले नेकपाको दुई तिहाइ सरकारले जनताका मतको दुरुपयोग गरेको आरोप लगाउँदै नेकपाले चुनावमा देखाएका सपना विपरित काम गरिरहेको बताए। ‘हिजो चुनावमा जाँदा कम्युनिष्टले जुन सपना बाँडेका थिए ती सपना पूरा भएका छैनन्,’ उनले भने।

सरकारले अहिले पनि स्थानीय तह र प्रदेश सरकारलाई अधिकार नदिएको नेता पौडेलले बताए। ‘अहिले पनि केन्द्रबाटै बजेट दिने गरी केन्द्रीकृत शासन गर्न खोजिएको छ,’ उनले भने, ‘संसदलाई करोडौं बाँडेर उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्ने मनसाय सरकारले गरेको छ।’

सबै जनताले पानीसमेत खान पाएका नपाएको तर, पधानमन्त्री ओलीले पानीजहाजको आश देखाएको उनले बताए। कर्णाली राजमार्ग कांग्रेसले बनाएको भएकै कारण सरकारले बेवास्ता गरेको र यसले वर्षेनी दुर्घटना हुँदै गएको उनले दाबी गरे। नेपालका सबै नदिको पानी एकै ठाँउमा जम्मा गर्ने र भारतलाई बुझाउने यो कस्तो ओलीको राष्ट्रवाद हो? उनले प्रश्न गरे। कान्तिपुरबाट
प्रकाशित मितिः १८ जेष्ठ २०७६, शनिबार २१:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *