सुर्खेत, २८ भदौ ।
नेपाल प्रहरीले अन्तर क्षेत्रिय प्रहरी कार्यालय कार्य दक्षता मूल्यांकनको क्रममा मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाको अनुगमन थालेको जनाएको छ ।
अन्तर क्षेत्रिय प्रहरी कार्यालय कार्य दक्षता मूल्यांकन समितिका अध्यक्ष तथा प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह नेतृत्वको टोलीले विभिन्न प्रहरी कार्यालयको अनुगमन गरिहरहेको छ ।
मूल्यांकनका क्रममा मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण र गुल्म र ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरिएको मध्यपश्चिममका प्रहरी प्रमुख डिआइजी माधव नेपालले बताउनु भयो ।
टोलीले निरीक्षणका क्रममा प्रहरीको काम, सर्वसाधारणको अपेक्षा, प्रहरीले भोग्नु परेका समस्या, सुधार्नुपर्ने पक्ष लगायतका वारेमा जानकारी लिने गरेको छ ।
क्षेत्रीय, अञ्चल, जिल्ला प्रहरी कार्यालयहरु, प्रहरी गुल्महरुको अनुगमन गरिएको छ । अहिलेसम्म बर्दिया, बाँके, सुर्खेत, लगायतका प्रहरी कार्यालयको अनुगमन गरिएको र मुगु लगायतका प्रहरी कार्यालयको अनुगमन गर्न वाकी रहेको डिआइजी नेपालले बताउनु भयो ।
प्रहरी प्रधान कार्यालयकावाट आएको टोलीले ४ वटा क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयहरुको अनुगमन गरिसकेको छ ।
अनुगमनपछि उत्कृष्ट हुने एउटा क्षेत्रीय प्रहरी कार्यालयलाई पुरस्कृत गरिने वताएको छ ।