किशोरीहरुकी प्रिय एक्ली अभियन्ता

सुर्खेतको जर्वुटा स्वास्थ्य चौकीकी सिनियर अनमी सीता शर्माले किशोरीहरुको लागि महिनावारी सरसफाई शिक्षा सम्वन्धी अभियान थाल्नु भएको छ । महिनावारी हुँदा सरसफाईको अभावले हुने हूमन प्यापोलमा विरुद्ध उहाँले अभियान थाल्नु भएको हो । महिनावारीको समयमा सरसफाईको कमीले पाठेघरमा हूमन प्यापोलमा भाइरसको संक्रमण हुन्छ । यसको संक्रमणले पाठेघरको मुखमा क्यान्सर पनि हुन्छ । लामो समयदेखि सुरक्षित मातृत्व सम्वन्धी काम गदै आउँनु भएकी शर्माले एक महिनाअघिबाट यो अभियान थाल्नु भएको हो । उहाँले यो अवधिमा सरकारी तथा नीजि विद्यालयमा पढ्ने १ हजार ५ सय किशोरीहरुलाई महिनावारी सरसफाई सम्वन्धी शिक्षा दिनु भएको छ ।
किशोरीहरुका लागि महिनावारी सरसफाई शिक्षा सम्वन्धी अभियानले किशोरीहरुमा सकारात्मक सन्देश दिएको छ । जागिरको सिलसिलामा दुर्गम गाउँमा काम गर्नु भएकी शर्मा भन्नुहुन्छ सुगम÷ दुर्गम सवैतिरका महिलामा पाठेघर खस्ने समस्या देखे, जहाँ गएपनि एउटै समस्याले महिला दिदीबहिनीहरु पीडित भएको देखेपछि यो अभियान चलाउने प्रेरणा मिल्यो । समयमै सचेत गराउनको लागि अभियान थाले ।
महिनावारीको वेलामा सरसफाई नहुँदा संक्रमण हुने हूयम प्यापोलमा भाइरसले गर्दा १०÷१२ वर्षमै पाठेघरको मुखमा क्यान्सर हुन्छ । नेपालमा करिव १५ प्रतिशत महिलाहरुको पाठेघरको क्यान्सरकै कारण ज्यान जाने गर्छ, शर्माले भन्नुभयो । महिनावरी सरसफाई सम्वन्धी तालिम लिनु भएकी शर्मालाई त्यही तालिमले गर्दा अभियान चलाउन निकै सहयोग पुगेको छ । समय मिलाएर विद्यालयमा पढ्ने किशोरीहरुलाई जानकारी दिदै आउनु भएको छ । यो सँगसगै किशोरी मैत्री शौचालय बनाउन लगाउने, प्रयोगमा नआएकोलाई प्रयोगमा ल्याउने, विद्यालयलाई प्याडको व्यवस्था गर्न लगाउने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आफैले प्याड समेत किनेर दिनु हुन्छ । यो अभियानले किशोरीहरुकी प्रिय भएकी छु सिनियर अनमी शर्माले भन्नुभयो म सँग उनीहरुले आफनो समस्या खुलस्त रुपमा राख्छन । फोन गरेर, म्यासेज लेखरे अनि भेटेर पनि आफनो समस्या भन्छन, सल्लाह सुझाव माग्छन । व्यवहारिक ज्ञान दिने भएकोले पनि उनीहरुमा धेरै परिवर्तन आएको अनुभुति गरेकी छु ।
उहाँले करिव ३ घण्टासम्म क्लास लिनु हुन्छ । अहिले किशोरीहरुले कक्षा कक्षामा समुह बनाएका छन । १० रुपैया उठाएर आकस्मिक प्याड किन्छन । यो अभियान सुरु गर्दा कतिपयले यस्तो चुनौतिपूर्ण काम कसरी गर्न सकिन्छ पनि भनेका थिए तर मैले यसलाई सजिलोसँग लिएकी छु । अभियान चलाउन कुनै समस्या छैन । मैले जाने बुझेको ज्ञान, सीप बाँड्ने हो । काम गर्दा पीडा त हुन्छ नै तरपनि किशोरीहरुको सन्तुष्टी देखेपछि सवै पीडाहरु बिर्सन्छु ।
१४ वर्षदेखि सरकारी सेवामा कार्यरत शर्मा सुर्खेतको अवलचिङ्गमा ४ वर्ष, सल्यानको मुलखोला स्वास्थ्य चौकीमा बसेर ५ वर्ष काम गर्नु भएको थियो । सधै विरामीको सेवामा तल्लिन रहने उहाँ अहिले जर्वुटा स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ । चौवीसै घण्टा विरामीको सेवामा खटिने शर्माले दुर्गम ठाउँमा बस्दा धेरैजना महिलाको ज्यान बचाउनु भएको छ । आफै विरामी हुँदा पनि विरामीको भने उपचार गर्न छाडिन उहाँले भन्नुभयो चौवीसै घण्टा बर्थिङ्ग सेन्टरमा बस्नु पथ्र्यो । दुर्गम ठाउँमा बस्दा सेटेलाईट क्लिनिक पनि चलाए ।
यो अभियान थालेपछि उहाँले सवैबाट रचनात्मक सहयोग पाउनु भएको छ । कार्यालयले पनि सहयोग गदै आएको छ । उहाँ भन्नुहुन्छ यो एउटा विकराल समस्या हो, त्यसैले किशोरीहरुलाई शिक्षा दियो भने भविस्यमा उनीहरुलाई यसले छुदैन । अभियानलाई अघि बढाउन कार्यालयले पनि यही काममा खटाएको भए हुन्थ्यो भन्ने उहाँलाई लागेको छ । म जस्तै अरु स्वास्थ्यकर्मीले पनि अन्य ठाउँ र जिल्लामा यो अभियान संचालन गर्नुपर्छ उहाँ भन्नुहुन्छ । अभियानको क्रममा किशोरीहरुमा खासै समस्या नभेटिए पनि ८÷१० जना महिलालाई भने उपचारको लागि क्षेत्रीय अस्पताल पठाउनु भएको छ ।
यो अभियान थाल्दाको अनुभव सुनाउदै शर्मा भन्नुहुन्छ पहिला आफै विद्यालयले खोज्दै जानु पथ्यार्,े अहिले भने बिद्यालय आफैले नै वोलाउँछन । कुनै पनि शुल्क नलिएर किशोरीहरुलाई ज्ञान वाँड्छु । घरको काम पनि गर्नु पर्छ । समय मिलाउन भने अलि कठिन हुन्छ । हतार –हतारमै समय बित्ने गर्छ । अभियान चलाएपछि धेरैले अघि बढ्ने हैसला दिएका छन । त्यसैमा उहाँ खुशी हुनुहुन्छ । त्यही हैसलाले नै अघि बढ्ने प्रेरणा पनि दिएको छ । सहास दिएको छ । अनि उर्जा पनि थपिएको छ उहाँ भन्नुहुन्छ ।
लाइन्स क्लव लगायत सुर्खेतका विभिन्न समाजिक संस्थामा सक्रिय ३८ वर्षिय शर्मा एउटा पनि किशोरीलाई नछुटाएर शिक्षा दिने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ केही समयको लागि मात्र हैन, यो अभियान सधैभरी चलाउछु । स्वास्थ्य मन्त्रालयले यो अभियानलाई देशव्यापी बनाएको भए हुन्थ्यो । अहिले किशोरीहरुलाई शिक्षा दिए, भोली उनीहरु पाठेघरको समस्याबाट पीडित हुनु पदैन । त्यसैले यसतर्फ मन्त्रालय लगायत सम्वन्धीत सरोकारवालाको समयमै ध्यान जानुपर्छ । पछिल्लो समय सरकारले पनि हूमन प्यापोलमा भाइरस विरुद्ध खोप अभियान सुरु गरेको छ । कास्की र चितवान जिल्लामा पहिलो पटक पाइलटिङ्गको रुपमा खोप अभियान थालिएको हो । खोपसँगसगै चेतनामुलक अभियानलाई पनि अघि बढाए अझ प्रभावकारी हुन्छ । (पत्रकार प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मितिः २४ फाल्गुन २०७३, मंगलवार ०४:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *