खसीबोका संकलन केन्द्र निर्माण हुँदा बाख्रापालक किसान हर्षित

सुर्खेत, १६ मंसिर ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा दैलेखको गुराँस गाउँपालिकाको खडकवाडामा निर्माण भएको खसीबोका संकलन केन्द्र संचालनमा आएको छ । खसीवोका संकलन केन्द्र संचालन भएपछि यस क्षेत्रका किसानहरु हर्षित भएका छन ।
आयोजनाले खडकवाडा क्षेत्रमा रहेका ८ वटा सहकारी संस्थासँगको सहकार्यमा ९ लाख रुपैयाको लागतमा खसीवोका संकलन केन्द्र निर्माण गरेको हो । संकलन केन्द्रको बन्द कोठाभित्र ६० वटा, खुला कोठाभित्र डेढसय वटा र कम्पाउण्डभित्र ५ सय वटा बाख्रा अटने आयोजनाका पशु सेवा विज्ञ दामोदर न्यौपानेले बताउनु भयो ।संकलन केन्द्र उद्घाटन भएकै दिन २३ वटा खसीवोका विक्री भएका थिए ।


संकलन केन्द्र स्थापना भएपनि त्यस क्षेत्रका बाख्रापालक किसान र व्यापारी दुवैलाई फाइदा भएको आयोजनाले वताएको छ । संकलन केन्द्र संचालनमा आएपनि किसानलाई आफुले उत्पादन गरेका खसीवोका विक्री गर्न ग्राहक खोज्नु नपर्ने, लामो वार्गेनिङ्ग गर्नुपर्ने झन्झट पनि नहुँने, उचित मूल्य पनि पाउने र आफु ठगिएको पनि महशुस नहुने अवस्था सृजना भएको छ । यस्तै व्यापारीलाई खसीवोका खोज्न घरघर जानु नपर्ने, वार्गेनिङ्ग पनि गर्नु नपर्ने र तौल अनुसारको मुल्य हाल्नु पर्ने भएकोले घाटा होला कि भनेर पनि चिन्ता गर्नु नपर्ने अवस्था उत्पन्न भएको छ ।


संकलन केन्द्रमा हिनामा एक पटक खसीवोका संकलन गरेर ल्याइन्छ । खडकवाडा क्षेत्रका ८ मध्ये ७ वटा सहकारीले व्यपारीसँग अग्रिम संझौता गरेका छन । जसले गर्दा किसानले संकलन केन्द्रमा ल्याएका खसीवोका घर फर्काउनु पदैन । संकलन केन्द्रले खसीवोकाको फिक्स मुल्य निर्धारण गरेको छ । ३० केजीदेखि ५० केजीसम्मको जीवित खसीवोको मुल्य प्रतिकेजी ३ सय ३५ रुपैया र ५० केजीभन्दा माथिकोलाई प्रतिकेजी ३ सय ४० रुपैया मूल्य निर्धारण गरिएको छ ।


८ वटा सहकारीमा आवद्ध किसानसँग अहिले २२ हजार वाख्रा छन । उनीहरुले वार्षिक २ हजार खसीवोका विक्री गर्ने गर्छन । खसीवोका विक्री गरेरै यहाँका बाख्रापालक किसानले बार्षिक २ करोड ६८ लाख रुपैया आम्दानी गर्ने गरेको आयोजनाका पशु चिकित्सव डा. विष्णु धितालले बताउनु भयो । उहाँले पहिला हचुवाको भरमा मूल्य गरिदै आएकोमा संकलन केन्द्र संचालनमा आएपछि तौलको आधारमा विक्री गर्दा किसान र व्यापारी दुवैलाई फाइदा पुगेको पनि जानकारी दिनुभयो ।


उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले त्रिदेवी, हाँतेमालो, सृजनशिल, लक्ष्मीदेवी, मष्ट नारायण, कर्णाली, विवेकशिल र हिमचुली सहकारीमा आवद्ध बाख्रापालन किसानलाई आधुनिक खोर निर्माण, खोर सुधार, उन्नत जातका बोका, घाँसको नर्सरी, डिपिङ्ग टिंकी, परिजिवी नियन्त्रण र बाख्रापलन सम्वन्धी तालिमको लागि अनुदान सहयोग गरेको थियो । आयोजनाको सहयोगपछि परम्परागत रुपमा बाख्रापालन गदै आएका किसानहरु अहिले भने व्यवसायिक रुपमा बाख्रापालनमा जुटेका छन । अहिले उनीहरु बाख्रालाई नियमित रुपमा औषधी खुवाउने, पोषिलो घासँ लगाउने, उन्नतजातका वोकाहरु ल्याउने, सामुदायिक वनमा घुम्ती चरण प्रणाली अपनाएर वाख्रापालन गरिरहेका छन ।


आयोजनाले ४ सय आधुनिक खोर निर्माणमा सहयोग गरेको थियो । खोर सुधार भएपनि बाख्राहरुमा रोग पनि लाग्न छाडेको र उत्पादनपनि बढेको किसानहरुले वताएका छन । उनीहरुले बाख्रापालनवाटै एकजना किसानले वर्षमा कम्तिमा पनि ३० हजारदेखि डेढलाख रुपैयासम्म आम्दानी गर्ने गरेको बताएका छन ।


यसैवीच यही मंसिर ९ गते एक औपचारिक कार्यक्रमका वीच उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी र क्षेत्रिय पुश सेवा निर्देशक डा.किसनलाल भट्टले संयुक्त रुपमा उद्घाटन गदै संकलन केन्द्र संचालनमा आएको घोषणा गर्नु भएको थियो । कार्यक्रममा आयोजनाका प्रमुख भारीले संकलन केन्द्र संचालन भएपछि यस क्षेत्रका बाख्रापालक किसान र व्यापारी दुवैलाई फाइदा पग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संकलन केन्द्रलाई व्यवस्थित रुपमा संचालन गर्न पनि सम्वन्धीत सवैलाई सुझाव दिनुभयो ।


यस्तै क्षेत्रीय पशु सेवा निर्देशक डा. भट्टले बाख्रापालन व्यवसाय आयआर्जनको राम्रो माध्यम भएकोले यसलाई व्यसायिक रुपमै अघि बढाउन किसानलाई सुझाव दिनुभयो । उहाँले पनि संकलन केन्द्र स्थापना भएपछि किसान र व्यापारी दुवैले उत्तिकै फाइदा लिनसक्ने वताउनु भयो ।

प्रकाशित मितिः १६ मंसिर २०७४, शनिबार ०९:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *