सल्यानमा HVAP को चार करोड लगानी

सल्यान, १५ भदौ ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सल्यान जिल्लाका किसानलाई विभिन्न मुल्य श्रृंखलामा ४ करोड ३ लाख २८ हजार रुपैया अनुदान सहयोग गरेको छ । अनुदान पाएपछि लाभग्राहीहरुले पनि आफ्नो तर्फबाट २ करोड २१ लाख १२ हजार रुपैया खर्च गरेका छन । आयोजनाले २०७५ साल असार मसान्तसम्म ३ करोड ६० लाख रुपैया भुक्तानी दिइसकेको बताएको छ ।


आयोजनाले सल्यानमा बेमौसमी तरकारी, खसीबोका, टिमुर, अदुवा, बेसार र तरकारी बीउ गरी ६ वटा मुल्य श्रृंखलामा किसान र निजी सेवा प्रदायकलाई अनुदान सहयोग गरेको थियो । ६४ वटा उप–आयोजना मार्फत १ हजार १ सय ७६ घरधुरीका किसानको आयस्तर बृद्धिमा आयोजनाले प्रत्यक्ष रुपमा सहयोग पुर्याएको पनि बताएको छ । बनगाड कुपिन्डे नगरपालिकामा ५२ वटा, कालिमाटी गाउँपालिकामा ९ वटा र सिद्ध कुमाख गाउँपालिकामा ३ वटा उप आयोजना संचालन भएका थिए ।
सल्यान जिल्लामा आयोजना लागु भएपछि आधार वर्षको तुलनामा किसानको आम्दानी १ सय ४२ प्रतिशत अर्थात ४२ हजार ५ सय २३ रुपैयाले बृद्धि भएको छ । आधार वर्षमा प्रतिघरधुरी ९ हजार ५ सय ६९ रुपैया रहेको किसानको आम्दानी बढेर आयोजना सम्पन्न हुँदा ५२ हजार ९१ रुपैया पुगेको आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताउँनु भयो ।


आधार वर्षको तुलनामा अदुवामा २४ हजार १ सय १९, खसीबोकामा ५३ हजार ९ सय २८, बेमौसमी तरकारीमा ४७ हजार ४ सय ८५, टिमुरमा ८० हजार ६ सय १५ रुपैयाले आम्दानीमा बृद्धि भएको छ । यस्तै बेसारमा १७ हजार ७ सय ५५ र तरकारी बीउमा ५ हजार ३ सय ६० रुपैयाले आम्दानी बढेको छ ।
यस्तै आयोजना लागु भएपाछि आयस्तरमा बृद्धिसगै उत्पादन पनि बढेको छ । आधार वर्षमा २ सय ७६ मेट्रिक टन उत्पादन रहेकोमा आयोजना सम्पन्न हुँदा बढेर ९ सय १२ मेट्रिक टन पुगेको छ भने बिक्री परिमाणमा पनि उल्लेख रुपमा बृद्धि भएको छ । आधार वर्षमा प्रति वर्ष २ सय ५९ मेट्रिक टन रहेकोमा आयोजना सम्पन्न हुँदाको बर्ष विक्री परिमाण बढेर ८ सय ६३ मेट्रिक टन पुगेको छ ।


यसैवीच उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले सहयोग गरी सम्पन्न भएका उप–आयोजनाहरु सल्यान जिल्लाका सम्वन्धीत स्थानीय तहलाई हस्तान्तरण गरेको छ । शुक्रवार शारदा नगरपालिको श्रीनगरमा भएको आयोजना सम्पन्न गोष्ठीमा ४६ वटा कृषक समुह÷सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका ६४ वटा उप आयोजनालाई बनगाड कुपिन्डे नगरपालिका, कालिमाटी र सिद्ध कुमाख गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । गोष्ठीमा आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले उप आयोजनाको बिस्तृत विवरणसहित बनगाड कुपिन्डे नगरपालिकालाई ५२ वटा, कालिमाटी गाउँपालिकालाई ९ वटा र सिद्ध कुमाख गाउँपालिकालाई ३ वटा उपआयोजना हस्तान्तरण गर्नु भएको छ । आयोजनाले सहकार्य गरेका मध्ये अतिगरिव ३१ प्रतिशत, मध्यम गरिव ३९ प्रतिशत, सामान्य गरिव २२ प्रतिशत र सम्पन्न ८ प्रतिशत किसान समेटिएका छन ।


उप आयोजना हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले निम्न आयस्तर भएका किसानको आम्दानीमा बृद्धि गर्न र उनीहरुलाई व्यवसायिक कृषितर्फ आर्कषित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँनु भयो । पूर्व सांसद नेत्रलाल श्रेष्ठले बजारको माग अनुसारको कृषिजन्य बस्तुहरु उत्पादन गरी विक्री गर्न किसानलाई सुझाव दिनुभयो ।


तत्कालिन जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले मूल्य श्रृंखलामा आधारित कृषिजन्य बस्तुहरुको छनौट गरी कृषक समुह र सहकारीहरुलाई व्यवसायिक बनाउन आयोजनाले गरेको प्रयासको प्रशांसा गर्नुभयो ।


कार्यक्रममा सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सहनसिलता ओली डिसी र बनगाड कुपिन्डे नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष शान्तकुमार ऐरीले आयोजनाले सहयोग गरेका किसान तथा निजी सेवा प्रदायकहरुलाई व्यवसायिककरण गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा नेकपाका प्रतिनिधी दामोदर शर्मा, नेपाली काँगेसका जिल्ला कार्यसमिति सदस्य आइतु ओली, सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डन, उद्योग बाणिज्य संघका महासचिव भरत बस्नेत र पार्ड नेपालका अध्यक्ष शान्तबहादुर थापाले सल्यानमा कृषि क्षेत्र अन्तर्गत संचालन भएका विभिन्न आयोजनाहरु मध्ये उच्च मूल्य कृषि वस्तु विकास आयोजना सवैभन्दा सफल र उत्कृष्ट आयोजना भएको भन्दै प्रंशंंसा गर्नु भएको थियो ।


गोष्ठीमा गोठीखोला बाख्रापालन समुहकी कोषाध्यक्ष सुस्मिता शाही, राधाकृष्ण तरकारी कृषि समुहकी अध्यक्ष गोमा चौधरी, दाउन्नेदेवी कृषक समुहका सचिव गोविन्द खड्का र निजी सेवा प्रदायक निमप्रसाद बुढाले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहका सदस्यहरुमा आएको परिवर्तन सम्वन्धी अनुभव तथा सिकाई सुनाउनु भएको थियो । कार्यक्रममा टिमुर मूल्य श्रृंखला र किसान देवबहादुर रानाको सफलताको कथा समेटिएको भिडियो पनि देखाइएको थियो ।
आयोजना सम्पन्न गोष्ठीको समापन गदै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल बनाउन सहयोग गर्ने किसान, समुह, सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, सरकोकालवाला निकाय, संचार माध्यमप्रति हार्दिक आभार प्रकट गदै आगामी दिनमा पनि रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।


सेवा बजार सुदृढिकरण विज्ञ रामप्रसाद पुलामीले सहभागीलाई स्वागत गर्नु भएको गोष्ठीमा आयोजना कार्यान्वयनमा सहयोग गर्ने विभिन्न निकाय र उपआयोजनाहरुलाई प्रशंसा र प्रमाणपत्र वितरण गरिएको छ । गोष्ठीको संचालन प्राविधिक सहायक देवीराम कँडेलले संचालन गर्नु भएको थियो ।

प्रकाशित मितिः १५ भाद्र २०७५, शुक्रबार २१:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *