सुर्खेत, १७ कार्तिक ।
२०६० सालमा विदेश जान ठिक्क परेका सुर्खेत खारखोलाका युवा चुडामणि ढकाल अहिले दुध बेचेरै महिनामा एक लाख रुपैया कमाउदै आएको बताउँछन् ।
एयरपोर्टबाट फर्केर भैंसीपालन व्यवसायमा सुरु गर्दा खिसीटिउरी गर्ने खारखोलावासी अहिले उनको बाटो पच्छाइरहेका छन् ।
कामको खोजीमा विदेश जाने युवाको लागि आइडल बनेका उनी मिहिनेत गरे गाउँमै पैसा फलाउन सकिन्छ भन्ने प्रमाणित गरेका छन् ।
विदेश जाने सपना त्यागेर भैंसीपालन व्यवसाय सुरु गरेका अहिले यो व्यवसायबाट उनी आफुमात्र समृद्ध भएका छैनन्, खारखोला गाउँलाई नै समृद्धिको बाटोमा हिडाएका छन् ।
विदेश जानको लागि म्यानपावर कम्पनीलाई बुझाएको पैसा फिर्ता ल्याएर त्यही पैसावाट २ वटा भैंसी किनेर व्यवसाय सुरु गरेका उनको फर्ममा अहिले २६ वटा भैसी छन् । १५÷१६ जनालाई रोजगारी दिएका उनीले बताए ।
सुरुमा उनी एक्लै जर्किनमा बोकेर दैनिक ६ लिटरसम्म बेच्थे । अहिले दैनिक करिब हजार लिटर दुध बेच्छन ।
अहिले सवै गाउँलेको दुध संकलन गरेर आफै वेच्छन । दुध बेच्न बजार जानु नपर्ने भएपछि गाउँलेलाई पनि सजिलो भएको छ ।
भैसीपालनबाट ढकालले गरेको लोभलाग्दो आम्दानी देखेर अहिले खारखोलामा भैंसी नपाल्ने घर छैन ।
उनकै प्रेरणाबाट विदेश गएका श्रीमानलाई वोलाएर भैसीपालन व्यवसाय सुरु गरेको महिला किसान शान्ता विकले बताइन् ।
भैसीपालन व्यवसायबाट ढकालले गाउँलाई नै समृद्धिको बाटोमा हिडाएको खारखोलाका भैसीपालक किसान गणेश गिरीले बताए ।
भैसीपालन व्यवसायवाट नाम र दाम दुवै कमाएका ढकाल विदेशमा गर्ने मिहिनेत आफ्नै गाउँमा गर्न युवालाई सुझाव दिन्छन् ।
खारखोलावासी गाउँले र तमाम युवाका प्रेरणाका पात्र बनेका ढकालले दुध बेचेरै छोरा सुरज र छोरी जमुनालाई काठमाडौंमा चार्टर्ड एकाउन्टेन्ट पढाई रहेका छन् भने बीरेन्द्रनगरमा घरजग्गा समेत जोडेका छन् ।