बाख्रालाई बत्ती

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–६, को अधिकारीपाखामा १८ घरधुरी छन् । गाउँमा विद्युत् सुविधा पुगेको केही महिना मात्र भयो तर एक वर्षअघि नै बाख्राको गोठमा बत्ती जडान गरिएको थियो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६, अधिकारीपाखाको एक घरमा जडान गरिएको सोलार ।  तस्बिर : हरि गौतम/कान्तिपुर सबैका घरमा आधुनिक गोठ छन् नै, गोठमा बत्तीसमेत जडान गरिएको छ । सबै गोठमा सौर्यऊर्जा मार्फत बत्ती जडान गरिएको हो । घर अँध्यारो हुँदा पनि अधिकारीपाखाका स्थानीयले बाख्रा गोठलाई उज्यालो बनाएका थिए । ‘व्यावसायिक बाख्रा पालन गरौं भनेर सबै गाउँले जुट्यौं,’ प्रगतिशील उन्नत बाख्रा पालन समूहकी अध्यक्ष डिला केसी भन्छिन्, ‘व्यावसायिक बाख्रा पाल्ने किसान बन्न न्यूनतम मापदण्ड पूरा गर्नैपर्‍यो, त्यसैअन्तर्गत हरेक गोठमा सोलार जडान गरेरै भए पनि गोठ उज्याला बनाएका छौं ।’ 

गाउँका सबैले एकै साथ बाख्रापालन सुरु गरेको उनको भनाइ छ । १५ हजार रुपैयाँ खर्चेर २० वाटका सोलार १८ वटै बाख्रागोठमा जडान गरिएको हो । गाउँमा विद्युत् नभएकाले सोलारमार्फत बाख्रालाई उज्यालो दिइएको उनले जानकारी दिइन् । ‘पहिला बाख्रा गोठमा मात्रै उज्यालो थियो, अहिले घर पनि उज्यालो भएका छन्,’ अध्यक्ष केसीले भनिन्, ‘गाउँ नजिकैको विद्युत् आयोजना बनेपछि हामीले पनि बत्ती बाल्न पायौं ।’ गोठमा बत्ती बाल्दा बाख्रा आरामले बस्ने, जुधेर क्षति कम हुने, चोरी चकारीबाट बच्ने किसानको भनाइ छ ।

एक वर्षअघि थालिएको व्यवसायबाट स्थानीयले आम्दानीसमेत लिन थालेका छन् । थोरै मेहनतमा सजिलै आम्दानी हुने भएपछि व्यावसायिक बन्न ढिलाइ भएकामा पछुताएका छन् ।

समूहका सचिव रुद्रबहादुर खत्रीले व्यवसाय गर्न ढिला भइसकेको महसुस भएको जनाए । ‘थोरै आम्दानी हुनेको पनि ३० हजारभन्दा कम आम्दानी भएको छैन,’ उनले भने, ‘बाख्रा पालेर एक वर्षमा सजिलै एक लाख आसपासको आम्दानी गर्दा गाउँले दंग छन् ।’ उनले समूहका १८ सदस्यले हरेक महिना बाख्रा बढाउँदै लगेको पनि बताए ।

उनका अनुसार जंगल प्रशस्त भएकाले घाँसको अभाव छैन । समूहमा तीन जना पुरुष छन् अरू सबै महिला । महिलाकै पहल र नेतृत्वमा बाख्रापालन फस्टाउँदै गएको छ ।

थोरै बाख्रा भए पनि व्यवसायमुखी व्यवस्थापनका साथ स्थानीय लागेको शिक्षक हीराबहादुर केसीले बताए । उनका अनुसार गाउँका एक घरमा भैंसी र केही घरमा गोरु मात्रै छन् । ‘परम्परागत भैंसी तथा गाईपालन छाडेर स्थानीय बाख्रामै केन्द्रित भएका छन्,’ केसीले भने, ‘पुरुष कहिले कता कहिले कता कमाउन गइरहने हुँदा महिलाले नै व्यावसायिक बनाएका हुन् ।’

बाख्रापालन सुरु गर्ने समयमा समूहलाई किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयूबीके) ले आर्थिक सहयोग गरेको थियो । आधुनिक गोठ बनाउन, सोलार खरिद गर्ने, भाँडाकुँडा र काँटामा ५० प्रतिशत अनुदान केयूबीकेले समूहलाई सहयोग गरेको थियो ।

प्रतिगोठ ४८ हजार, सोलार खरिद गर्न सात हजार पाँच सय रुपैयाँ समूहले अनुदान पाएको छ । व्यावसायिक बाख्रापालनका लागि स्थानीयको २२ लाख र केयूबीकेको १४ लाख रकम खर्च भएको छ ।कान्तिपुरबाट
प्रकाशित मितिः १० मंसिर २०७५, सोमबार ०५:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *