सङ्क्रमित प्रवेश गर्न नदिन कर्णालीका गाउँमा पालैपालो पहरा

गाउँमा मान्छेहरू भित्रिन नदिन झोलुङ्गे पुल बन्द गदै स्थानीय

सिमीकोट तल्लोगाउँ हुम्लाकी लालकला बोहराले गाउँ प्रवेश गर्ने बाटोमा हप्ता दिनदेखि पहरा दिइरहेकी छन्।

तल्लोगाउँ प्रवेश गर्ने चारवटै बाटोमा ४-४ जनाको समूह बनाएर दैनिक १६ जना महिलाले पालैपालो पहरा दिँदै आएको उनी बताउँछिन् ।

उनी भन्छिन, “कोरोनाभाइरसको डरले अपरिचित कसैलाई पनि गाउँ आउन र गाउँलेलाई पनि बाहिर जान दिएका छैनौँ। हामीले बिहान ६ देखि साँझ ७ बजेसम्म पहरा दिन थालेपछि गाउँले पनि ढुक्क छन्।”

सिमीकोट तल्लोगाउँका महिलाले जस्तै सुर्खेतको चौकुने गाउँपालिका शोभानचौरका युवाले पनि गाउँ आउने बाटोमा चौबिसै घण्टा पहरा दिँदै आएका छन् ।

समुदाय अग्रसर

सिमाना जोडिएको कैलाली जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि आफूहरूले शोभानचौर र कैलालीको सावा जोडने झोलङ्गे पुलमा गत चैत्र २३ गतेदेखि रातदिनै पहरा दिइरहेको युवा गंगाराम रानाले बताए ।

उनी भन्छन्, “कसैको करकापले होइन। आफू पनि जोगिउँ र गाउँलेलाई पनि जोगाऔँ भनेर स्वत:स्फूर्त रूपमा पुलमा पहरा दिइरहेका छौँ।”

त्रास बढ्दै गएपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि कर्णालीका गाउँगाउँमा अहिले स्थानीयले स्वत:स्फूर्त रूपमा सावधानीका विभिन्न उपायहरू अपनाएको देखिन्छ।

गाउँ प्रवेशमा रोक, मूल बाटोमा पहरा, जबरजस्ती गाउँ आउनेलाई जरिबाना, पुलमा ताला लगाएर पहरा, गाउँमा अपरिचित मान्छेहरु देख्ने वित्तिकै प्रहरीलाई खबर गर्ने जस्ता काम गर्दै आएको उनीहरू बताउँछन्।

गाउँ प्रवेश गर्ने बाटोमा पहरा दिँदै आएकी सिमीकोट तल्लोगाउँकी उजेली रावत भन्छिन, “कोरोनाभाइरस लाग्यो भने कसैले पनि छुन र भेटन पाउँदैनन रे? त्यसैले यस्तो भाइरसलाई गाउँमै छिर्न नदिने भनेर पहरा दिइरहेका छौँ।”

सङ्कटको बेला रक्षक

रुकुमको तकसेराबासीले पनि गाउँ प्रवेश गर्ने तीन वटै बाटोमा बिहान ६ देखि राति १२ बजेसम्म पहरा दिँदै आएका छन्।

त्यसका कारण गाउँलेले पनि सुरक्षित महसुस गरेको बताउँदै शिक्षिका सीताकुमारी बुढा भन्छिन्, “पहरा दिएको पनि आफ्नै लागि हो। पछि दु:ख नहोस् भनेर समयमै सावधानी अपनाएका छौँ।”

कोरोना भाइरसको जोखिमबाट जोगिन सुर्खेतको चौकुनेबासीले अछाम र कैलाली जोड्ने १० वटै झोलुङ्गे पुलमा ताला लगाएर पहरा दिइरहेका छन्।

गाउँलेकै सहयोगमा बहिरबाट आएका १५ जना मान्छेलाई क्वारन्टीनमा राखिएको चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए।

आफ्नो लागि आफैँ सचेत नहुने हो भने कोरोनाभाइरसलाई रोक्न नसकिने त्यसरी सुरक्षामा जुटेका युवाहरू बताउँछन्।

चौकुने शोभानचौरका युवा टेकबहादुर सलामी सङ्कटको बेला गाउँको रक्षक भएर काम गर्दा खुशी लागेको बताउँछन्।

लकडाउन
सुर्खेतको चौकुने गाउँपालिका ३ शोभानचौर र कैलालीको सावाघाट जोड्ने झोलुङ्गे पुलमा पहरा

उनी भन्छन, “पुलमा चौबिसै घण्टा खटिन थालेको दुई हप्ता भयो, हाम्रो कारणले गाउँ सुरक्षित हुन्छ भने जतिदिन पनि सेवा गर्न तयार छौँ।”

गाउँलेकै सक्रियताले गर्दा सुरक्षा निकायको पहुँच नपुगेका गाउँघरमा पनि लकडाउन निकै प्रभावकारी देखिएको बताइएको छ।

सरकारले एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा जान रोक लगाएको छ भने गाउँलेहरूले एकबाट अर्को वडामा जान-आउन दिएका छैनन्।

जरिबाना र समन्वय

हुम्लाको चंखेली गाउँपालिकाकी उपाध्यक्ष बिमलाकुमारी शाही अनुमति बिना गाउँ प्रवेश गर्न खोज्ने र अटेर गर्ने विरुद्ध गाउँलेहरू कडा रूपमा प्रस्तुत हुँदै आएको बताउँछिन्।

पहिला गाउँ प्रवेशमा रोक लगाउँदा कोहीले पनि टेरेनन्, उनी भन्छिन, ‘कतिपय गाउँमा ३० हजार रुपैयाँ जरिबाना लिन थालेपछि अहिले कसैले पनि गाउँ छिर्ने हिम्मत गरेका छैनन्।’

लकडाउन प्रभावकारी बनाउन गाउँलेहरू गाउँ प्रवेश गर्न खोज्नेलाई पहिला सम्झाउने र सम्झाएर पनि नमान्नेलाई प्रहरीको जिम्मा लगाउने गरेको बताउँछन्।

सुर्खेत, जाजरकोट, दैलेख, हुम्ला, डोल्पा, जुम्ला, सल्यान, कालीकोटजस्ता जिल्लामा यसरी गाउँलेले जिम्मा लगाएका व्यक्तिलाई क्वारन्टीनमा राख्ने गरिएको छ।

जाजरकोटका युवा सेतेन्द्र बोहरा भन्छन्, “आफ्नो गाउँठाउँको सुरक्षा गर्नु युवाको पनि दायित्व सम्झेर नै हामीले गाउँको निगरानी गर्ने, विदेश र भारतबाट आएका व्यक्तिलाई क्वारन्टीनमा पठाउन सहयोग गदै आएका छौँ।”

रूकुमरुकुमको तकसेरा गाउँमा पनि स्थानीयले पहरा दिइरहेका छन्

यस्तो बेला पनि लापरवाही गर्नु भनेको मूर्खता बाहेक केही नहुने उनको तर्क छ।

आफ्नो सुरक्षाको समेत ख्याल नगरि रातदिनै गाउँ समाजको पहरेदारको रूपमा काम गदै आएका महिला र युवालाई सम्बन्धित वडा, सामुदायिक वनलगायतले खाजा खुवाउने गरेका छन्।

कोरोनाभाइरस विरुद्ध गाउँलेहरूले उच्च सर्तकता आपनाउँदा प्रहरी प्रशासनलाई पनि लकडाउनको परिपालना गराउन सजिलो भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

गाउँले नै जागरुक भएपछि लकडाउनलाई थप प्रभावकारी बनाउन बल मिलेको स्थानीय तहका प्रमुखहरू बताउँछन्।

मान्छेको मृत्यु भए भेटघाट र मलामी जाने बेला बाहेक अरू समयमा गाउँमा खासै ठूलो भिडभाड नहुने उनीहरूको भनाइ छ।(बीबीसीबाट साभार)

प्रकाशित मितिः १३ बैशाख २०७७, शनिबार ०७:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *