आइसोलेशनमा बसेका कोरोनाभाइरस सङ्क्रमितको यस्तो छ दैनिकी

उनी साँझ नौ बजेतिर सुतेर बिहानै पाँच बजे उठ्छन्।

झन्डै ४५ मिनेटको शारीरिक व्यायाम गरेपछि पौने छ बजेतिर खाली पेट औषधि खान्छन्।

आठ बजेतिर खाजा नास्तापछि फेरि अर्को औषधि खान्छन्। अनि १० बजेतिर खाना खाएर तीन घण्टाजति सुत्ने गरेको उनी बताउँछन्।

“दिउँसो गीतहरू सुन्छु, आफन्तसँग फोनमा कुराकानी गर्छु,” उनी भन्छन्।

विश्वासै लागेको छैन

जेठ ७ देखि वीरेन्द्रनगरस्थित कोभिड-१९ भएका मानिसका लागि बनाइएको विशेष अस्पतालको आइसोलेशन वार्डमा बसेका सुर्खेत चौकुने गाउँपालिकाका ३३ वर्षीय उनी कोरोनाभाइरस सङ्क्रमित छु भन्ने विश्वासै नलागेको बताउँछन्।

उनी भन्छन्, “म मानसिक र शारीरिक रूपमा स्वस्थ छु। यदि कमजोर हुन्थेँ भने आजसम्म कोरोनाभाइरसले ढालिसक्थ्यो।कोठामा बस्नै पर्ने बाध्यता छ। बाहिर आउन मिल्दैन।”

“एक्लै दिनभरि कोठामा बस्दा अत्यास त लाग्छ तर आफन्तहरूले फोन गरेर हौसला दिनुहुन्छ।”

सुरुका एक-दुई दिन आइसोलेशनमा बिताउन साह्रै मुस्किल भएपनि अहिले बानी परिसकेको उनले बताए।

सुखदु:ख साटासाट

“खानबस्न, सरसफाइ, खानेपानी, ओढ्ने-ओछ्याउने कुराको असुविधा छैन।”

तर इन्टरनेटको सुविधा भइइदिएको भए समाचार सुन्न, फिल्म हेर्ने, साथीभाइसँग सुखदु:ख साटासाट गरेर दिन बिताउन सजिलो हुने थियो भन्ने उनको भनाइ छ ।

स्वास्थ्यकर्मीले दिनमा चार पटक स्वास्थ्य जाँच गदै आएका छन् ।

स्वास्थ्यकर्मीको व्यवहारले पनि कोरोनाविरुद्ध लड्न बल प्रदान गरेको अनुभूति उनले गरेका छन् ।

“सङ्क्रमण हुनुभन्दा अघि जति डर त्रास थियो अहिले छैन”, उनी भन्छन्, “आत्मबल कमजोर भएको छैन दृढ विश्वासका साथ कोरोनाभाइरसविरुद्धको लडाइँ लडिरहेको छु।”

“स्वास्थ्य अवस्था ठिक छ । सङ्क्रमित हुँ जस्तो पनि लागेको छैन कसरी कोरोनाभाइरसको सङ्क्रमण देखियो चकित छु। घर परिवारले धेरै चिन्ता लिएका छन् । तर मैले उल्टै सम्झाइरहेको छु।”

आखिरमा त्यही भयो

“भारतबाट घर फर्किँदा मुम्बईमा स्वास्थ्य चेकजाँचपछि सँगै आएका साथीबाट अलग्गिनु पर्दा धेरै पीडा भयो । त्यसपछि रिपोर्ट कस्तो आउने हो भन्ने चिन्ताले सतायो।”

“जे नहोस् भन्ने कामना गरेको थिए आखिरमा त्यही नै भयो। सोचेको कहिल्यै पुग्दो रहेनछ,” उनी भन्छन्, “त्यसैले अब सामना गर्नुबाहेक अरू विकल्प छैन।”

गहुँ खेती गरेर गतवर्ष मंसिरमा उनी कामको सिलसिलामा भारत महाराष्ट्रको गोरेगाउँ गएका थिए।

त्यहाँको एउटा रेस्टुराँमा विगत १५ वर्षदेखि काम गदै आएको उनी बताउँछन् ।

सहयोगी कुकबाट काम थालेका उनी अहिले तन्दुरी हेड कुकमा कार्यरत थिए। उनका अनुसार उनी मासिक २४,००० नेपाली रुपैयाँ कमाउँछन्।

यही कमाइले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन्।

‘बरु आधा पेट खान्थेँ’

उनको काँधमा दुई जना छोराछोरी, श्रीमती र वृद्ध बुबा पाल्नु पर्ने जिम्मेवारी छ।

पन्ध्र-सोह्र वर्षको उमेरमै कालापार जान थालेका उनले भने, “रहरले हैन, बाध्यताले जाने गर्छु।”

“जग्गा जमिन थोरै छ। खेतबारीमा उब्जेको अन्नले दुई महिना पनि खान पुग्दैन। गाउँमा गरी खाने अरू उपाय छैन। कालापार नगए कसरी परिवार पाल्ने ?”

“घरमा खान पुग्ने भए बरु आधा पेट खाएरै पनि बस्थेँ,” आफ्नो समस्या दर्शाउँदै उनले भने, “आफ्नै देशमा आम्दानी गर्ने बाटो भए अर्काको देशमा किन पसिना बगाउन जान्थेँ र ?”

‘मर्नु परे घरमै मरूँला भनेर हिडेँ’

लकडाउन हुनेबित्तिकै रेस्टुराँमा काम गर्ने सबै भारतीय कामदार आफ्नो घरतिर गए। तर घर आउन सक्ने अवस्था नभएपछि उनी झन्डै दुई एक्लै बसे।

महामारीको अन्त्य र लकडाउन खुल्ने छाँटकाट नदेखेपछि मर्नु परे पनि घरमै मरूँला भनेर हिँडेको उनले बताए।

मालबाहक ट्रक रिजर्भ गरेर गाउँका ६५ जना साथीहरू महाराष्ट्रबाट नेपाल भारतको सीमा नाका रुपेडिया चार दिनमा पुगेको उनले सुनाए।

महाराष्ट्रबाट रुपेडियासम्मको भाडा ७०० रुपैयाँ भएपनि ६५ जनाले मालबाहक ट्रकलाई प्रतिव्यक्ति चार हजार भारु तिर्न बाध्य हुनु परेको उनले बताए।

बहराइचको क्वारन्टीनमा दुई दिन बसेका उनी भन्छन्, “महाराष्ट्रमा बस्दा एकदमै सुरक्षित थिएँ।”

“रुपेडिया आउँदा गाउँकै साथीहरू मात्र थियौँ। कसैसँग सम्पर्क पनि भएको थिएन।”

तर नेपाल प्रवेश गर्ने बेला भने जमुनाहा नाकामा एक्कासि हजारौँ मान्छेको बीचमा पर्नुपरेको उनले बताए।

“सायद कोरोनाभाइरस त्यहीँ सरेको हुनुपर्छ। बरू महाराष्ट्रमै बस्नु पर्नेरहेछ । नेपाल आइसकेपछि धेरै दु:ख पाइयो।”

नेपाल प्रवेश गर्दा ‘सुरक्षाकर्मीको दुर्व्यवहार सहनुपरेको’ र स्वास्थ्य जाँच पनि नगरेर पठाइएको उनले बताए।

सीमामा पुगेपछि सुरक्षित रूपमा कसैले पनि उद्धार नगरे पनि आफ्नै पैसाले सुर्खेतसम्म आएको उनको भनाइ छ ।

कर्णाली प्रदेश प्रवेश गर्ने बबई नाकामा स्वास्थ्य परीक्षणपछि अलग्गै छुट्याउँदा मनमा चिसो पसेको उनले सम्झिए ।

आत्मविश्वास

बाहिर चर्चा भएजस्तो कोरोनाभाइरसले आफूमा जटिल प्रभाव नपारेको देख्दा उनी अलिअलि चकित र अलिअलि खुसी छन्।

बलियो आत्मविश्वास भए उक्त भाइरसलाई पराजित गर्न सकिनेको ठम्याइ छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतले बनाएको विशेष अस्पतालको आइसोलेशन वार्डमा अरू सङ्क्रमितहरू पनि छन्।

पीडा र दु:ख फरक भएपनि उनीहरू सबैको दैनिकी आफ्नो जसरी नै बितिरहेको उनी बताउँछन्।(बीबीसीबाट)

प्रकाशित मितिः १९ जेष्ठ २०७७, सोमबार ०६:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *