उपचारमा खटिएका स्वास्थ्यकर्मी भन्छन् डरत्रास कम हुँदै गएको छ

कोरोनाभाइरस सङ्क्रमितलाई राखिएको बाँकेको नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा खटिएकी स्वास्थ्यकर्मी शुभद्रा रोकामगर मनोबल उच्च राखेर सङ्क्रमितहरूको उपचार तथा हेरचाह गरिरहेको बताउँछिन्।

दुई सातादेखि चौबीसै घण्टा सङ्क्रमितहरूको हेरचाह तथा उपचारमा सक्रिय उनी सुरुका दुई-तीन दिन निकै डर त्रासको अनुभूति भएपनि अहिले सबै हराई सकेको बताउँछिन् ।

भेरी अस्पतालकी नर्सिङ्ग निरीक्षक उनी भन्छिन्, “स्वास्थ्य क्षेत्रमा काम गर्न थालेको २५ वर्षको अवधिमा पहिलो पटक एकदमै जोखिम महसुस भयो।”

कोरोनाभाइरससँग लड्न अग्रपङ्क्तिमा खटिएका उनी जस्ता अरू स्वास्थ्यकर्मीले पनि सुरुमा जोखिम र तनावको अनुभूति भएपनि दिनहरू बित्दै जाँदा सबै सामान्य लाग्न थालेको बताउँछन्।

सावधानी अपनाए कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न सकिने भन्दै उनीहरू व्यक्तिगत सुरक्षा कवच (पीपीई, मास्क, स्यानिटाइजर) जस्ता स्वास्थ्य सामग्रीले मनोबल बढाएको बताउँछन्।

पेशा रोजेको के अर्थ ?

एक महिनादेखि प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा खटिएकी स्वास्थ्यकर्मी दुर्गा श्रेष्ठ भन्छिन्, सुरुमा जोखिम महसुस भएपनि त्यसपछि चौबीसै घण्टा सङ्क्रमितकै उपचार तथा हेरचाहमा बित्न थालेपछि डर त्रास पनि हरायो।

प्रदेश अस्पताल सुर्खेतको आइसोलेशनमा रहेका बिरामीको हेरचाह तथा उपचारमा जान सबैजना डराइ रहेका बेला आफुलाई भने आँट आएको डाक्टर लक्ष्मी रेग्मी बताउँछिन्।

“आँट त आयो तर डर पनि लाग्दो रहेछ”, एकहप्ता आइसोलेशनमा काम गरेर अहिले क्वारन्टीनमा बसिरहेकी रेग्मीले भनिन्, बाहिर हुँदा जति डर लाग्थ्यो उपचार तथा हेरचाहमा खटिँदै जाँदा डर हराउँदै जाँदो रहेछ।

स्वास्थ्यकर्मीहरू
कोरोनाभाइरस सङ्क्रमितलाई राखिएको बाँकेको नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मीहरू

अग्रपङ्क्तिमा खटिएर कोरोनाभाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी थुप्रै खाले चुनौती सँग जुध्नु परेको बताउँछन्।

जस्तासुकै चुनौती आएपनि आत्मबल र आत्मविश्वास दुवै दरो बनाएर काम गर्नुको विकल्प नभएको आइसोलेशनमा खटिएका अर्का डाक्टर प्रकाशराज ओलीले बताए।

उनले भने, स्वास्थ्यकर्मीको दायित्व भनेकै बिरामीको उपचार गर्ने हो, यदि आफ्नो दायित्वबाट भाग्ने हो भने पेशा रोजेको के अर्थ ?

स्वास्थ्यकर्मीले आइसोलेशनको कन्ट्रोल रूमबाट चौबीसै घण्टा सङ्क्रमितको निगरानी, उपचार तथा हेरचाहको साथै परामर्श दिन्छन्।

सङ्क्रमितहरूको ६-६ घण्टाको फरकमा रक्तचाप जाँच्ने, ज्वरो नाप्ने, औषधी खुवाउने, सीसीटीभी क्यामेराबाट निगरानी राख्ने, खाना, खाजानास्ता पुर्‍याउने र फोनबाट आवश्यक सल्लाह सुझाव दिने गरेको उनीहरूले बताए।

आइसोलेशनमा रहेकाहरूलाई घरकै जस्तो वातावरण दिने प्रयास आफुहरूले गरिरहेको स्वास्थ्यकर्मीको दाबी छ।

सुरक्षा कवचले ‘ढुक्क’

पढेलेखेका सङ्क्रमितले आफैले आफ्नो ज्वरो, रक्तचाप नाप्छन्, बुढापाका र नजान्नेहरूको मात्र स्वास्थ्यकर्मीले ज्वरो, रक्तचाप जाँच्छन्।

यस्तो बेला भाइरस सर्ने डर भएपनि माथिदेखि तलसम्म सुरक्षा कवच लगाउँदा ढुक्क हुने उनीहरूले बताए।

पल पलमा निगरानी गर्नुपर्ने भएकोले ध्यानजति बिरामीमै केन्द्रित हुँदा डरत्रास पनि बिर्सिएको स्वास्थ्यकर्मी बताउँछन्।

भेरी अस्पतालकी प्रमुख नर्सिङ्ग प्रशासक दुर्गा श्रेष्ठ भन्छिन्, “हामीले नै आत्मबल कमजोर बनायौँ भने बिरामीको उपचार तथा हेरचाह कसरी हुन्छ ?”

हताश र निराश अवस्थाका सङ्क्रमितलाई खुशी भएर र उच्च मनोबल बनाएर मात्रै कोरोनालाई परास्त गर्न सकिन्छ भनेर सम्झाउने गरिएको उनले बताइन् ।

कोरोनाभाइरस बारेका थरीथरीका कुराले बिरामीहरू आत्तिँदा सम्हाल्नै गाह्रो हुने गरेको छ।

सबै एउटै स्वाभावका हुँदैनन्, स्वास्थ्यकर्मी सुभद्रा रोका भन्छिन्, “कतिपयले अस्वाभाविक व्यवहार (छट्पटाउने, खाना नखाने, सुतिरहने) देखाउन थाले भने तुरुन्तै विशेष सेवा दिनुपर्‍यो।”

“कतिबेला मनमा नौराश्यता पनि आउँछ”, प्रदेश अस्पताल सुर्खेतको आइसोलेशनमा बसेका एकजना सङ्क्रमित भन्छन्, “यस्तो बेला स्वास्थ्यकर्मीको व्यवहार र परामर्शले आत्मबल बढाउन सघाउँछ।”

क्यान्सर अस्पताल

धरैजसो सङ्क्रमितमा लक्षणहरू नदेखिँदा उनीहरूले त्यतिकै हामीलाई किन आइसोलेशनमा ल्याएर राखियो भन्दै ‘हैरान’ पार्ने गरेको स्वास्थ्यकर्मीहरूले बताए।

तर आइसोलेशनबाट धेरैजना सङ्क्रमित ठिक भएर घर जाने भएकोले नयाँ सङ्क्रमितलाई सम्झाउन बुझाउन सजिलो हुन थालेको छ।

जोखिम मोलेरै भएपनि बिरामीको जीवनलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, एक महिनादेखि सङ्क्रमितहरूको उपचारमा संलग्न डाक्टर राजन पाण्डे भन्छन्, “कि त पेशा नै छोड्नु पर्‍यो हैन भने आफ्नो दायित्व र कर्तव्य पनि त झुल्नु भएन।”

सावधानी अपनाए सजिलै जित्न सकिने भएकोले कोरोनाभाइरस सङ्क्रमण हुँदैमा आत्तिन नहुने उनले बताए।

पीपीईले आत्मबल बढाउन सघाए पनि त्यो लगाएर आइसोलेशनमा काम गर्दा निकै गाह्रो हुन्छ।

पीपीई लगाएरको आधा घण्टाबाटै शरीरबाट खलखल्ती पसिना आउँछ।

“धेरै बेर खेप्न सकिँदैन”, उनीहरू भन्छन्, “पीपीई लगाएपछि पानी खान र बाथरूम जान पनि मिल्दैन।”

तर जतिसुकै अप्ठ्यारो खेप्नु परेपनि सुरक्षाको लागि पीपीई लगाउनुको बिकल्प छैन।

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको गाइडलाइनलाई मान्ने हो भने कोरोनाभाइरसले छुन नसक्ने अनुभूति स्वास्थ्यकर्मीको छ।

चौबीसै घण्टा उनीहरूकै सेवामा खटिँदा आफै सङ्क्रमित भएपनि केही नहुँदो रहेछ भन्ने आत्मविश्वास बढेको उनीहरूको भनाई छ।

छिमेकीको व्यवहार

सङ्क्रमितहरूले बिभिन्न थरी माग गर्छन्, स्वास्थ्यकर्मी भन्छन्, सबैका लागि एउटै खान आउँछ तर कतिपयले यो पनि चाहियो त्यो पनि चाहियो भन्छन्।

बाटोमा हिँड्दा छिमेकी पनि नजिक पर्दैनन्।

रोग बोकेर आएकी छ कि भनेर डराउँछन्, सबैले हेला गर्ने यो कस्तो रोग होला ?

रातदिन कोरोनाभाइरस सङ्क्रमितको उपचार तथा हेरचाहमा क्रियाशील स्वास्थ्यकर्मी घरपरिवारले आफुहरूको धेरै चिन्ता लिने गरेको बताउँछन्।

आफन्तले जागिर छाड्न दबाव दिने, बिदामा बस्न सुझाउने गरेको उनीहरूले बताए।

आफूहरूले “आपत परेका बेला धोका दिनु दिनु हुँदैन भनेर” आफन्तजनलाई सम्झाउने गरेको उनीहरूले बताए।

नेपालमा कोरोनाभाइरस सुरुमै देखिएको भए, धेरै समस्या हुन्थ्यो तर ढिलो देखिएकोले हुनाले स्वास्थ्यकर्मीले प्रयाप्त तयारी गर्ने र सावधानीका उपाय अपनाउने अवसर पाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भन्छन्, बाहिरको अनुभवबाट धेरै कुरा सिकेको हुनाले पनि कोरोनाभाइरस सङ्क्रमितको उपचार तथा हेरचाह खटिएका स्वास्थ्यकर्मीको ‘आत्मविश्वास’बढेको हो।

मन्त्रालयका अनुसार कोभिड- १९ को उपचारको लागि तोकिएका तीन तहका अस्पतालहरूमा ‘क्रिटिकल केयर’को तालिम लिएका ३८७ भन्दा बढी स्वास्थ्यकर्मीहरू परिचालित छन्।बीबीसीबाट

प्रकाशित मितिः ३० जेष्ठ २०७७, शुक्रबार ०५:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *