‘कसैलाई परिवार भेट्नै गाह्रो, भेट्नेलाई सङ्क्रमण सर्ने चिन्ता’

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा कार्यरत प्रसन्न मिश्र तीन महिनायता दैनिक १३-१४ घण्टा काम गरिरहेका छन्।

कोरोनाभाइरस परीक्षण गर्नुअघि दैनिक ६-७ घण्टा काम गर्ने मिश्रले घर जान र आफन्त भेट्न पनि पाएका छैनन्।

उनी भन्छन्, “लामो समय लगातार काम गर्दा मानसिक र शारीरिक थकान हुन्छ। पालो दिने कोही छैनन्, त्यसैले परीक्षण गर्नुपर्ने बाध्यता छ।”

उनले फोन र भिडिओ कलबाटै घरपरिवारसँग भेटघाट र कुराकानी हुने गरेको बताए।

यस्तै अवस्था देशका अरू ठाउँका प्रयोगशालामा कार्यरत प्राविधिकहरूको पनि छ।

आफैथला पर्ने डर

कोरोनाभाइरस छिटो परीक्षण गर्ने स्वचालित उपकरण र पालो दिने जनशक्ति नहुँदा एकछिन पनि आराम नगरेर परीक्षण गर्नुपर्ने बाध्यताले हैरानी खेप्नु परेको उनीहरूको दुखेसो छ।

“परीक्षणको निम्ति सङ्कलन गरिएका स्वाबको नमुना दिनदिनै बढिरहेको छ,” प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा कार्यरत सुभद्रा दुलाल भन्छिन्, “बिहान ७-८ बजेदेखि राति १०-११ बजेसम्म काम गर्दा आफै बिरामी पर्ने डर छ।”

डेढ वर्षको दुधे बालकलाई दिनभरि घरमै छाडेर परीक्षणमा सक्रिय उनी शारीरिक र मानसिक थकान बिर्सेर काम गर्नुपर्ने बाध्यता सुनाउँछिन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर २१ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको छ।

ती प्रयोगशालाहरूमा पर्याप्त जनशक्ति नहुँदा एकातिर उपलब्ध जनशक्तिलाई भार परेको छ भने अर्कोतिर परीक्षणमा पनि ढिलाइ भइरहेको देखिन्छ।

परीक्षणकर्ताहरू

‘स्वचालित मेसिन र जनशक्ति चाहियो’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा ५०-६० जनाको जनशक्तिले काम गरिरहेको भएपनि अरू प्रयोगशालाहरू भने ६-७ जनाले धानिरहेको अधिकारीहरू बताउँछन्।

उनीहरूका अनुसार पालो दिने जनशक्ति र स्वचालित पीसीआर मेसिनको तत्काल खाँचो परेको छ। त्यसपछि मात्र सरकारको लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन सकिन्छ।

“भारतबाट आउनेको सङ्ख्या बढेसँगै प्रयोगशालाहरूमा स्वाबको चाप बढेको छ,” प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा कार्यरत भरत देवकोटा भन्छन्।

“स्वचालित मेसिन र जनशक्ति थप नगर्दासम्म परीक्षण बढाउन सकिदैन।”

उनका अनुसार सुर्खेतको प्रयोगशालामा दैनिक पाँच-सात सय नमुना थापिन्छन् तर दुई-अढाइ सयको मात्र परीक्षण सम्भव छ।

‘त्यो अवसर छैन’

रातदिनै कोरोनाभाइरस परीक्षणमा खटिएका प्राविधिकहरू क्वारन्टीन र आइशोलेसनमा बस्नेहरूका साथै गाउँगाउँमा पुगेर पनि स्वाब लिनुपर्ने भएकोले आफूहरू पनि सङ्क्रमणको उच्च जोखिममा रहेको ठान्छन्।

दुलाल भन्छिन्, “हामीले बनाएको रिपोर्टको आधारमा चिकित्सक र नर्सहरू सुरक्षित हुन्छन्। तर हामीलाई त्यो अवसर हुँदैन।”

तीन महिनादेखि कोरोनाभाइरसविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्दा सुरुका बेलाको जस्तो डर हराउँदै गएको उनीहरूको अनुभव छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमा कार्यरत एलिसा सापकोटा काम गर्दै जाँदा आत्मविश्वास बढेको सुनाउँछिन्।

“अहिलेसम्म कुनै पनि प्रयोगशालाकर्मीलाई सङ्क्रमण नदेखिएको हुँदा आत्मविश्वास बढेपनि जोखिम उठाएरै कर्तव्य पूरा गर्नु परेको छ।”

सुरुका दिनहरुमा आफैले स्वाब सङ्कलन र परीक्षण गर्दै आएका उनीहरू अहिले टोली फरक-फरक भएकोले कामको बोझ केही घटेको बताउँछन्।

‘अदृश्य नायक’

कोरोनाभाइरस महामारीको बेला पर्दा पछाडि रहेर प्रयोगशालाका प्राविधिकहरू ‘अदृश्य नायक’को भूमिकामा देखिन्छन्।

परीक्षणकर्ताहरू

तर ‘काममा जति घोटिए पनि कसैले समस्या नबुझेको’ तीतो अनुभव सङ्गालेका उनीहरू सरकारले घोषणा गरेको अतिरिक्त भत्ता अझैँ नपाएको गुनासो गर्छन्।

कतिपय अस्पतालले बाहिरै खाने बस्ने व्यवस्था गरेपनि अधिकांश परीक्षणकर्ताहरू घरबाटै आवतजावत गर्छन्। जसको कारण घर पारिवारलाई सङ्क्रमण हुने हो कि भन्ने चिन्ता हुन्छ।

“चिकित्सक र नर्सहरूलाई सात दिन आइशोलेसनमा काम गरेर १४ दिन क्वारन्टीनमा बस्ने सुविधा छ,” मिश्र भन्छन्, “हामीलाई पनि त्यो सुविधा दिनुपर्छ।”

एक दिन पनि बिदा नलिएर तीन महिनादेखि रातदिन काम गर्दा धेरै तनाव महसुस भइरहेको उनीहरू बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लोकबन्धु चौधरी भन्छन्, “दिनरात खटिएर काम गर्दा पनि झन् छिटो काम गर्नुपर्ने दबाव आइरहेको छ।”

प्रयोगशालाका प्राविधिकहरूका अनुसार आफ्नै ढङ्गले काम गरिरहेका बेला शल्यक्रिया गरिएका बिरामी, अस्पताल र क्वारन्टीनमा मृत्यु भएका व्यक्ति र विशिष्ठ व्यक्तिको नमुनालाई प्राथमिकता दिएर परीक्षण गर्नुपर्छ।

व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगाएर १३-१४ घण्टा काम गर्दा गर्मीका बेला झन् हैरानी खेप्नु परेको उनीहरूको अनुभव छ।(बीबीसीबाट) 

प्रकाशित मितिः ४ असार २०७७, बिहीबार ०५:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *