प्रकाश पन्त
बीबीसी न्यूज नेपाली
शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट गाउँ छिर्ने हिउँचितुवाले डोल्पाको साल्दाङका किसान दोर्जे छिरिङ गुरुङका बर्सेनि १०-१२ वटा भेडाबाख्रा र च्याङ्ग्रा मार्ने गरेको छ।
विगतमा आफूले पालेका भेडाबाख्रा र च्याङ्ग्रा मारिँदा आफूले ठूलो हानि बेहोर्नुपरेको गुनासो गर्ने उनी अब भने उचित क्षतिपूर्ति पाइने आशामा छन्।
“हिउँचितुवाले पहिले जति नोक्सानी गरे पनि भने जस्तो क्षतिपूर्ति पाइएन,” उनी भन्छन्, “पशुको बीमा गरेकोले उचित क्षतिपूर्ति पाउनेमा ढुक्क छु।”
दुर्लभ वन्यजन्तु हिउँचितुवा जोगाउन निकुञ्जको मध्यवर्ती क्षेत्रका १,५०० घरधुरीका झन्डै २५,००० घरपालुवा जनावरको बीमा गर्न सुरु गरिएको निकुञ्जले जनाएको छ।
किसान खुसी र उत्साहित
पशु बीमा गरेपछि आफूले पालेका पशुचौपाया हिउँ चितुवाले मारिदिएमा दोर्जेजस्ता धेरै किसानले क्षतिपूर्तिस्वरूप बजार मूल्यकै हाराहारीमा रकम पाउनेछन्।
हिउँचितुवाको मुख्य वासस्थान मानिएका डोल्पाको साल्दाङ, भिजेर, धो, फोक्सुन्डो र डोल्फु क्षेत्रका बासिन्दाको आम्दानीको प्रमुख स्रोत नै चौँरी, भेडाबाख्रा, च्याङ्ग्रा हुन्।
त्यसैले निकुञ्जभित्र पर्ने २४ वटा गाउँका प्रत्येक किसानले सरदर ५०-६० देखि १५०-२०० वटासम्म भेडाबाख्रा र च्याङ्ग्रा पालेका छन्।
चराउन वनमा लगेको बेला र राति खोरमै आएर हिउँचितुवाले आफ्ना पशुको सिकार गर्ने उनीहरूको भनाइ छ।
हिउँचितुवाले ठूलो क्षति गर्दा समेत विगतमा एक रुपैयाँ पनि राहत नपाएको दाबी गर्ने किसान पशु बीमाबाट क्षतिपूर्ति पाइने भएपछि धेरै खुसी र उत्साहित छन् ।
पशुचौपाया मारेको रिसमा लुकीछिपी कसैले हिउँचितुवालाई नोक्सानी गर्न सक्ने भए पनि अब भने त्यस्तो नदोहोरिने फुर्वा साङ्मो गुरुङ बताउँछिन् ।
उनी भन्छिन्, “पशु बीमाले किसानमा हिउँचितुवा संरक्षण गर्नुपर्छ भन्ने भावना पैदा भएको छ।”
हिउँचितुवाले विशेषगरी जाडो महिनामा किसानले पालेका घरपालुवा जनावर बढी मार्ने गर्छ। किसान दोर्जे छिरिङ गुरुङका अनुसार खोरभित्र पसेर हिउँचितुवाले एउटै किसानको एकै रातमा ३०-३५ वटासम्म च्याङ्ग्रा मारेको छ।
समुदायमा आधारित पशु बीमाले एकातिर त्यस्ता किसानको घाउमा मलमपट्टी लगाउन सघाउने र अर्कातिर हिउँचितुवा जोगाउन पनि सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ।

एक करोड ६० लाख रुपैयाँको कोष
सन् २००९ मा गरिएको गणनाअनुसार हिउँचितुवाको प्रमुख वासस्थान मानिने शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा ११०-१३० को सङ्ख्यामा हिउँचितुवा थिए ।
त्यसयता तिनको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको अनुमान छ। पछिल्लो समय हिउँचितुवाको गणना गरिएको भए पनि अहिलेसम्म नयाँ तथ्याङ्क सार्वजनिक भएको छैन।
हिउँचितुवाको सङ्ख्या वृद्धिसँगै क्षति पनि बर्सेनि बढ्दै गएको गुनासो किसानको छ। हिउँचितुवाले बर्सेनि झन्डै दुई प्रतिशत घरपालुवा जनावर मार्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ।
आफूले पालेका जनावर मारेको बदलामा हिउँचितुवालाई पनि हानि पुर्याउने प्रवृत्तिलाई पशु बीमाले निरुत्साहित गर्ने निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले ठानेका छन् ।
“पशुचौपाया मारेको आक्रोशमा किसानले हिउँ चितुवालाई हानि नपुर्याऊन् भनेरै पशु बीमा गरिएको हो,” उनी भन्छन्, “प्रतिशोध र द्वेषका कारण अब शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवाजस्ता दुर्लभ वन्यजन्तु मारिनेछैनन्।”
वन्यजन्तुबाट हुने क्षतिसम्बन्धी राहत निर्देशिकाअनुसार थोरै मात्र राहत पाइरहेका किसानले अब राहत र बीमाबाट बजार मूल्यकै हाराहारीमा रकम पाउनेछन्।
पशु बीमाको लागि विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपालले एक करोड ६० लाख रुपैयाँको कोष स्थापना गरेको निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले बताए।
तीन वर्षसम्म हिउँचितुवाले क्षति नगरे आफूले प्रिमियमस्वरूप तिरेको रकम किसानले फिर्ता पाउनेछन्।
हिउँचितुवा जोगाउन गठन गरिएका पाँचवटा संरक्षण समितिमार्फत् शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले पशु बीमा कार्यक्रम कार्यान्वयन गरेको छ।
‘द्वन्द्व घटाउने र आयस्रोत जोगाउने’
हिउँचितुवा संरक्षणमा लागि समुदायमा आधारित पशु बीमा कार्यक्रम निकै प्रभावकारी हुने आशा डब्ल्यूडब्ल्यूएफ नेपालले गरेको छ ।
डब्ल्यूडब्ल्यूएफ नेपाल डोल्पामा कार्यरत चन्द्रजङ्ग हमाल पशु बीमाले किसान तथा हिउँचितुवाबीच विद्यमान द्वन्द्व घटाउन र किसानको आयआर्जनको स्रोत पनि जोगाउन सहयोग गर्ने विश्वास व्यक्त गर्छन्।
“प्रतिशोध लिन सिनोमा विष हालेर हिउँचितुवा मारिएका थुप्रै उदाहरण अरू देशमा छन्,” उनी भन्छन्, “यहाँ त्यस्ता घटना हुन नदिन समयमै सजगता अपनाइएको छ।”
केही न केही राहत दिएर किसानलाई पनि हिउँचितुवा संरक्षणमा सँगसगै सहभागी गराउने यसको प्रमुख उद्देश्य रहेको उनले बताए।
निकुञ्जका अनुसार समुदायले नै सञ्चालन र व्यस्थापन गरेको हुनाले किसानले बिनाझन्झट सहज रूपमा पशु बीमाको रकम पाउनेछन्।

थप काम
निकुञ्जले विभिन्न ठाउँमा ३०० वटा क्यामरा जडान गरेर हिउँचितुवा तथा अन्य दुर्लभ वन्यजन्तुको निगरानी गरिरहेको छ।
दुईवटा हिउँचितुवामा ‘रेडियो कलर’ जडान गरेको निकुञ्जले आउँदो चैत्र महिनामा फेरि थप दुईवटा हिउँचितुवामा तिनको गतिविधि निगरानी गर्न रेडियो कलर जडान गर्न लागेको छ ।
पोहोरदेखि निकुञ्जले पशु बीमाको साथै चोरीसिकार नियन्त्रण, जनचेतनामूलक अभियानलगायतका काम थालेकोमा किसानहरू खुसी देखिन्छन्।
चोरीसिकार नियन्त्रण गर्न कडाइ गरिएपछि पछिल्लो समय हिउँचितुवाको मुख्य आहारा मानिने नाउरजस्ता वन्यजन्तुको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि उनीहरू बताउँछन्। (बीबीसीबाट साभार)