यस्ताे छ , १२० वर्षीया हजुरआमाको धोको

राजेन्द्र कार्की
जाजरकोट,१५ असोज । उमेर १ सय २० वर्ष । अझै हट्टाकट्टा । एक दर्जन सन्तानकी आमा । यो परिचय हो– जाजरकोट भेरीमालिका नगरपालिका–६ भेरेकी भीमा वलीको । कुरा सुन्दा नै अपत्यारिलो जस्तो लाग्ने भीमा वली १ सय २० वर्षकी भइन् । उनी यति धेरै लामो उमेरसम्म बाँच्न पाएकोमा आफूलाई गौरव पनि गरिरहेकी छन् । राणाशासनसमेत भोगेकी उनी प्रजातन्त्र, पञ्चायत बहुदल हुँदै गणतन्त्र देख्न पाएकोमा निकै खुसी छन् ।

उनी पहिलेको व्यवस्थाभन्दा अहिले निकै स्वतन्त्रता भए पनि छाडातन्त्र बढी भएकोमा भने चित्त बुझेको छैन । पहिलेका मानिसहरू एक महिना लगाएर बाँकेको नेपालगन्ज पुगेर नुन ल्याउँथे । अहिलेको जस्तो कुनै कुराको पनि सुविधा थिएन अहिलेका मानिस निकै भाग्यमानी भएको उनको ठहर छ । बाँचेपछि सबै देख्न पाइँदो रहेछ हजुरआमा भीमाले भनिन् । आफ्नो पुस्ताले जीवन निर्वाहका लागि निकै संघर्ष गर्नुपरेको उनको अनुभव छ । बिरामी भयो भने धामीझाँक्रीमा भर पर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

भीमाले अझै पनि आफूले पोलेको मकै र भुटेको भट्ट खाना सक्छिन् । आँखा नदेख्ने र कान नसुन्ने वलीको बोल्नलाई भने कुनै समस्या देखिएको छैन । ६ भाइ छोरा र ६ बहिनी छोरीलाई जन्म दिएकी वलीले आफूले काललाई पनि जितिसकेको बताउँछिन् । अन्तिम १२औं सन्तानका रूपमा कान्छो छोरा टीकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उनले जानकारी दिइन् ।

Dhrubaभात खान मन नपराउने भीमा मकैको रोटी दूधसँग खान सजिलो हुने बताउँछिन् । नियमित चिया पिउने गरेको उनको भनाइ छ । दैनिक खानामा दही, दूध पनि खाई रहेकी वलीले चाउचाउ खाना पनि उत्तिकै मन पराउँछिन् । चिसो पानी, आफ्नै बारीमा फलेको सागसब्जी र अन्न, दही, दूध नियमित सेवन उनको दीर्घ जीवनका आहार हुन् । उनी केही वर्षपहिलेसम्म दिनभर कामकाज गर्थिन्, तर अहिले काम गर्न भने सक्दिनन् । सल्यानको दार्माकोट जन्मघर भएकी वलीको १३ वर्षमा जाजरकोटको भेरेमा विवाह भएको थियो ।

माइती घर दार्माकोटमा हालसम्म अघिल्लो पुस्ताको कोही पनि जीवित नरहेको र नयाँ पुस्ताका कसैलाई पनि आफूले नचिन्ने बताउँछिन् । एक शताब्दीभन्दा बढी उमेर पुगेकी वलीले आफूले जन्म दिएका १२ सन्तानमध्ये हाल दुई छोरा र एक छोरी मात्र जीवित रहेको बताइन् । जीवित रहेकामध्ये छोरा हरिबहादुर र टीकाराम रहेका छन् भने छोरीमा ओइली खत्री रहेकी छन् । अन्य दिदीबहिनी र दाजु भाइको यसअघि नै मृत्यु भइसकेको छ ।

कान्छो छोरा टीकारामसँग बस्दै आएकी वलीले आफ्ना लागि अझै काल नआएको बताइरहेकी छन् । २०५२ सालमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी वलीले नेपाल सरकारबाट बुझ्ने ज्येष्ठ नागरिक भत्ताले आफूले लगाउने कपडा र चिनी चियापत्ती खरिदमा खर्च गर्ने गरेको बताइन् । १९५३ सालमा जन्मिएकी उनी नागरिकता लिँदा ९९ वर्षकी थिइन् ।

साथै १ सय २० वर्षे भीमाले नजिकिँदै गरेको वडा दसैंको उपलक्ष्यमा सम्पूर्ण नेपालीको उन्नति, प्रगति र समुन्नतिको कामना गदै सबै दल मिलेर संविधान कार्यान्वयन गर्न आग्रह गरेकी छन् । उनले एकपटक अझै चुनावमा भोट हाल्ने धोको छ । आफू कुनै पार्टीको नभएको बताउँदै भनिन्, ‘जसले जनताका लागि राम्रो काम गर्छ, त्यही पार्टीलाई भोट हाल्छु ।’ राजधानी दैनिकबाट साभार ।

प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार ०८:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *