उपचारको खोजीमा धनसरा

लक्ष्मी भण्डारी
सुर्खेत, २९ असार
धनसरा बुढाको आङ ९पाठेघर० खसेको १८ वर्ष भयो, त्यसमाथि पाँच वर्षअघि उनको आँखाको ज्योति गुम्यो । सुर्खेतको चौकुने गाउँपालिका–७, गुटुकी ४७ वर्षीया धनसराकोे दिनचर्या अचेल कच्चीघरको पिढीमा झोक्राएर बित्ने गर्छ ।
उनले पहिल्यै पाठेघरको अप्रेसन गर्न खोजेकी थिइन्न। तर, सुख–दुःखका साथी श्रीमान्ले नै अप्रेसन गर्न दिएनन् ।
“श्रीमान्‌ले अप्रेसन गर्न जान दिनुहुन्न, अहिले दोहोरो दुःख सहेर बाँचिरहेकी छु,” उनले पीडा पोख्दै भनिन्, “रोग पालेर, भाग्य सराप्दै बसेकी छु ।”
सम्पतीका नाममा एउटा कच्ची घर र अलिकति पाखो बारी छ । न त आँखा देख्न सक्छिन्, न त राम्रोसँग उठबस गरेर काम गर्न नै ।
कमजोर आर्थिक अवस्थाकै कारण छोरीको १५ वर्षको उमेरमै विवाह भयो । छोरा कामको लागि भारत गएका छन् । घरमा ९४ वर्षीया सासु र धनसरामात्र बस्दै आएका छन्, मदिरामै मस्त हुने श्रीमान् घर आउँदैनन् । ।
धनसरालाई अचेल छर–छिमेकले दिए खान पाउँछिन् नभए भोकै बस्नु पर्छ ।
कहिलेकाहीँ छामछुम गरेर घाँस काट्न जाने गरेको उनले बताइन् । आँसु पुछ्दै उनले भनिन्, “एक दिन त घाँस बोकेर आउने बेला पोखरीमा खसेछु , गाउँलेले देखेका रहेछन् र बचाए ।”
सुत्केरी भएदेखि पाठेघर खस्ने समस्या देखिएको उनले बताइन । “सुत्केरी हुँदा पनि भरपेट खान पाइएन,” उनले भनिन्, ‘त्यसमाथि घरको काम उस्तै गर्नुपर्ने ।”
कसैले सहयोग गरेमा पाठेघरको अप्रेसन गर्ने चाहना रहेको उनले बताइन् । स्थानीय गणेश देउवाले धनसराको नाजुक अवस्था देखेर खान दिने गरेको बताए । उनले भने, “पाठेघरको अप्रेसनका लागि वीरेन्द्रनगर लैजान्छौ भन्दा श्रीमानले नदिएका कारण समस्या भएको छ ।” हिमालखवर पत्रिकावाट

प्रकाशित मितिः २९ असार २०७४, बिहीबार १६:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *