सल्यानमा अपांगता भएकाहरूले पाएनन् परिचयपत्र

सल्यान — संघीयता कार्यान्वयनसँगै महिला तथा बालबालिका कार्यालय खारेज भएपछि अपांगता भएकाहरू परिचयपत्रबाट वञ्चित भएका छन् । अपांग परिचयपत्र वितरण गर्दै आएको कार्यालय खारेजीमा परेपछि जिल्लाका अपांगता भएका व्यक्तिहरू चार महिनादेखि परिचयपत्रबाट वञ्चित भएका हुन् ।  परिचयपत्र नपाएका कारण अपांगले आफ्नो पहिचान गुमाउनुका साथै पाउने सेवा सुविधाबाट वञ्चित भएका छन् । स्थानीय तहमा समेत कसले परिचयपत्र दिने भन्ने बारेमा अन्योल भएको कल्याणकारी अपांग संघ सल्यानका अध्यक्ष कृष्ण बुढाथोकीले बताए ।

उनका अनुसार कुनै पनि स्थानीय तहले परिचयपत्र वितरण गरेका छैनन् । उनका अनुसार अख्तियारी नभएको भन्दै जिल्लामा तीन नगरपालिका र सात गाउँपालिकाले परिचयपत्र वितरण गर्न सकेका छैनन् ।

परिचयपत्र वितरण नगर्दा अपांगता भएका व्यक्ति औषधि उपचार, विद्यालय, यातायात, सरकारले दिने भत्तालगायत अन्य सुविधाबाट वञ्चित छन् । ‘समयमै परिचयपत्र नपाउँदा धेरै साथीभाइहरू समस्यामा परेका छन्,’ उनले भने, ‘एक त अपांगता भएका व्यक्तिलाई सबैमा समस्या छ झन्अहिले परिचयपत्र नपाउँदा थप समस्या बल्झिएको छ ।’ उपचार ५० प्रतिशत छुट हुने भए पनि अधिकांशले परिचयपत्र नभएकै कारण छुट पाउन नसकेको उनले जनाए ।

जिल्ला समन्वय समितिका अनुसार जिल्लामा ३ हजार ३ सय ९५ अपांग छन् । जसमध्ये ३ सय ७५ अति अशक्त, ४ सय ५० अशक्त गरी १ हजार ८ सयले मात्र परिचयपत्र पाएका छन् । उनका अनुसार १ हजार ५ सय ३५ जना अझै परिचयपत्रबाट वञ्चित छन् ।

सरकारले अपांगलाई धेरै किसिमको सेवा सुविधा दिँदै आए पनि अधिकांश परिचयपत्र नहुँदा वञ्चित हुनुपरेको स्थानीय टेकबहादुर चलाउनेले बताए । उनी शारीरिक अपांगता भएका व्यक्ति हुन् । ‘अपांग परिचयपत्र नहुँदा धेरै समस्या भएको छ,’ उनले भने, ‘चार महिनादेखि परिचयपत्र वितरण रोकिँदासमेत सरकारी निकाय मौन छन् ।’

बन्गाडकुपिण्डे नगरपालिका ९, जयतपानीका केबल विकले अहिलेसम्म परिचयपत्र बनाउन नपाउँदा कुनै पनि सरकारी सुविधा पाउन नसकेको बताए । परिचयपत्र भएको भए सामाजिक सुरक्षा भत्ता पाउने आशाले एक महिनाअघि सदरमुकाम गए पनि कार्यालय नभेटाएर फर्किएको उनले गुनासो गरे ।

बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम मल्लले महिला विकास कार्यालय नरहेपछि कसले परिचय पत्र वितरण गर्ने भन्ने अन्योल भएकाले समस्या भएको बताए । उनले परिचयपत्र वितरणबारे बाग्चौर नगरपालिकाले कार्यविधि बनाएको जानकारी दिए । उनले कार्यविधिअनुसार अपांगलाई परिचयपत्र वितरण गर्ने तयारी थालिएको जनाए ।

ऐनमा प्रस्ट उल्लेख नभएकाले गाउँपालिकाले परिचयपत्र दिन नसकेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । ‘अहिले अपांग परिचयपत्र वितरणका लागि कार्यविधिको काम गरिरहेका छौं,’ उनले भने, ‘कार्यविधि पास भएपछि एक महिनापछि वितरण सुरु गरिनेछ ।’ उनका अनुसार कालीमाटी गाउँपालिकामा एक सय बढी विभिन्न समस्या भएका अपांग छन् ।कान्तिपुरबाट
प्रकाशित मितिः ४ पुष २०७५, बुधबार १५:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *