बलात्कार मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

सुर्खेत – बालिका बलात्कार मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। २०७२ असार ११ गते जिल्ला अदालत सुर्खेतले चिङ्गाड गाउँपालिका–५ का बाशुदेव साउँदलाई जबरजस्ती करणीमा पाँच वर्षको कैद सजाय सुनाएको थियो।

त्यसयता भारतमा रहँदै आएका ५४ वर्षीय साउँदलाई आफन्तको सहयोगमा घरमा बोलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘बालिकालाई जबजस्ती करणीलगत्तै भारत फरार रहेका साउँदलाई जिल्ला अदालत सुर्खेतले तीन वर्षअघि पाँच वर्षको कैद सजाय सुनाएको थियो’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वशन्त रजौरेले भने, ‘त्यसयता भारतमै रहेका उनलाई आफन्तको सहयोगमा घरमा झिकाएर पक्राउ गर्न सफल भएका हौं।

प्रहरीले पछिल्लो समय अदालतले कैद तथा जरिवाना फैसला गरेका फरार अभियुक्त पक्राउ गर्ने अभियानलाई तिब्र बनाएको छ। पछिल्लो एक महिनाको अवधिमा २० भन्दाबढी फरार अभियुक्तलाई पक्राउ गरेर कारागार चलान गरिएको प्रहरी नावय उपरीक्षक (डिएसपी) प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

ठगी मुद्धाका अभियुक्त दुई वर्षपछि पक्राउ
यस्तै जिल्ला प्रहरी कार्यालय कालिकोटले ठगी मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पक्राउ गरेर सुर्खेत पठाएको छ। २०७३ चैत २७ गते जिल्ला अदालत सुर्खेतले तीन वर्ष कैद र नौ लाख २५ हजार ७३० रुपैयाँ जरिवानाको फैसला गरेका कुलचन्द्र आचार्यलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले बुधबार पक्राउ गरेको हाे। उनलाई अड्डासार गरेर सुर्खेत ल्याइएको हो।

लागूऔषधसहित दुई पक्राउ
यस्तै प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ औद्योगिक क्षेत्रबाट वीरेन्द्रनगर–११ का २० वर्षीय शरद गुरुङ र वीरेन्द्रनगर–७ का २० वर्षीय शम्शेर रानालाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीका अनुसार उनीहरुको साथबाट १८० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको छ। प्रहरीले पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ। नागरिक दैनिकबाट

प्रकाशित मितिः ५ पुष २०७५, बिहीबार १३:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *