घट्दै राउटे जनसंख्या

दैलेख – पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

२०४० सालमा पहिलोपटक गरिएको गणनामा राउटेको जनसंख्या ३ सयको हाराहारीमा थियो। २०६५ सालमा गरिएको अर्को गणनाअनुसार राउटेको जनसंख्या एक सय ६६ मा झरको देखियो। सो गणना पत्रकार हरिहरसिंह राठौर र भक्तबहादुर शाहीको अगुवाइमा हप्ता दिन लगाएर गरिएको थियो। ‘हामीले दोस्रोपटक राउटेको जनसंख्या गणना गरेको थियौं,’ पत्रकार राठौरले भने, ‘पहिलोपटक समाजशास्त्री डोरबहादुर विष्टले २०४० सालको गणनामा तीन सय जनाजति राउटे थिए।’ १५ वर्षपछि आधाभन्दा बढी राउटेको घटेको पाइएको छ। उनीहरूको परिवर्तित दैनिकीले जनसंख्या घटेको पत्रकार राठौरको भनाइ छ। सरकारले राउटेहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि उनीहरूको जनसंख्या क्रमशः घटिरहेको छ।गुराँस गाउँपालिकाले राउटेको लगत संकलन गरेर स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा–आमाको नाम र पति–पत्नीको नाम उल्लेख गरेको छ। राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्तामा एकरूपता दिन, नेपाली नागरिकका रूपमा स्थापित गर्न स्थायी परिचयपत्र वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए। मान्छेको संख्या गणना गरेर विगतमा भत्ता वितरण भएपछि गुराँस गाउँपालिकाले परिचयपत्र वितरणसँगै उनीहरूको जनसंख्या पनि गणना गरेको थियो।

अहिले राउटे समुदाय जहाँजहाँ पुग्छ, गाउँपालिकाले नियुक्त गरेका कर्मचारी त्यहीं–त्यहीं पुग्ने गरेका छन्। परिचय पत्र वितरणपछि दैलेखसहित सुर्खेत, सल्यान, दाङ, अछामको सेरोफेरोमै राउटेहरू आफ्नो बस्ती घुमन्ते रूपमा सार्ने गर्दछ। अहिले राउटेहरू सुर्खेतका जंगलमा छन्। यसपछि उनीहरू सल्यान जाने तयारीमा छन्। उनीहरू जहाँ गए पनि गुराँस गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरी कर्णाली सरकारले व्यवस्थापन मिलाएको छ। एउटै गाउँपालिकाबाट भत्ता वितरण भयो भने जनसंख्या यकिन गर्न तथा भत्ता वितरणमा एकरूपता आउने जनाइएको छ।

राउटेको पछिल्लो जनसंख्या
गुराँस गाउँपालिकाले २०७५ असार ३० गते सार्वजनिक गरेको जनसंख्याअनुसार फिरन्ते जीवत बिताइरहेका राउटे समुदायकोसंख्या १ सय ४९ रहेको छ। यो समुदायमा सात वर्षसम्मका बालबालिकाको संख्या अधिक रहेको तथ्यांकले देखाएको छ। राउटे समुदायमा सात वर्षसम्मका ४७ जना बालबालिका छन। यस्तै १६ देखि ४० वर्षसम्मका ४४ छन् भने ८ देखि १५ वर्षसम्मका २४ जना। ४१ देखि ६० वर्षसम्मका २० र ६१ वर्षमाथिका १४ जना छन्। राउटे समुदायमा निकै हेला गरिने एकल महिलाको संख्या ११ जनाको रहेको छ। २०७५ पुस मसान्तसम्म राउटेको संख्या घटेर एक सय ४५ रहेको गुराँस गाउँपालिकाले जनाएको छ।

यसरी घट्यो जनसंख्या
सशस्त्र द्वन्द्वसँगै राउटेहरूले घना जंगल छाडेर मानव बस्ती नजिकका जंगलमा बस्ती सार्न थाले। त्यसयता राउटे समुदायमा सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी देखिन थाल्यो। पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले हाकाहाकी पैसा माग्दै हिँड्न थाले। परम्परागत काठका भाँडाकुँडा बिक्री गरेर या अन्नसँग साटेर आफ्नो जीवनयापन चलाउने उनीहरूले आफ्नो पेसा भुल्दै गए। मानवबस्ती नजिक हुँदा त्यसको असर सिधै राउटेहरुमा पर्ने थाल्यो।

बजारमा पाइने सुर्तीजन्य पदार्थदेखि मदिरामा बिहानैदेखि लत पर्दै गयो। उनीहरुको जीवनयापन सहजताका लागि सरकारले दिएको भत्ताले मदिरादेखि अन्य कुरा किनेरै खाने आदत भयो। उनीहरूले खाने खाना पोषणयुक्त भएनन्। प्रायः जाँडरक्सीमै बिहानैदेखि साना बालबालिकादेखि वृद्धसम्म लतमा फसिरहे। अन्ततः उनीहरूको जनसंख्या बर्सेनि घट्दै गएको हो। विगतमा उनीहरू जंगली जडीबुटीयुक्त खानपानमा अभ्यस्त थिए। उनीहरू हत्तपत्त बिरामी हुँदैनथे। बिरामी भइहाले बस्तीभित्रै जडीबुटी लगाएर ठीक पारिन्थ्यो। तर अहिले उनीहरूको रहनसहनमा पुरै परिवर्तन आएको छ।

उनीहरू औषधोपचार गर्न मान्दैनन्, बस्तीनजिक जडीबुटी पाइँदैन। त्यसकारण राउटेहरू अकालमा मृत्युवरण गर्न बाध्य छन्। राउटे मुखिया सूर्यनारायण शाही आफूहरुलाई जंगलमा बस्न गाह्रो भइरहेको बताउँछन। ‘जंगलमै लामखुट्टे भेटिन थाले, पानीका मूलहरु सुक्न थाले, कन्दमूल र बाँदर पनि पाइँदैनन्,’ मुखिया सूर्यनारायण भन्छन्, ‘यहीं समस्याले चाँडोचाँडो बस्ती सार्न थालेका छौं, दुःखबिमार पनि धेरै लाग्न थालेको छ।’ आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सार्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्ने गरेको छ।नागरिक दैनिक

प्रकाशित मितिः ११ माघ २०७५, शुक्रबार १९:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *