अनाथ बालबालिकालाई न्यानो काख दिएर हुर्काउने आमाहरू

जन्मदिने आमा पनि सानैमा टाढिएपछि डाक्टर देवराज भारतीलाई मिठुनिधि तिवारीले आमाको न्यानो काख दिएर हुर्काइन्।

फतेवहाल आँखा अस्पताल नेपालगन्जमा कार्यरत उनी जन्म दिने आमा टाढिए पनि आफूले आमाको न्यानो काखको अभाव महसुस गर्नु नपरेको बताउँछन्।

आफूले हुर्काइरहेका बच्चाहरूलाई विद्यालय पठाउने तयारी गदै बालग्राम सुर्खेतकी आमा शर्मिला केसी

बुवाको निधनपछि आमाले अर्को विवाह गरेपछि उनी ६ वर्षको हुँदा देखि नै एसओएस बालग्राम सुर्खेतमा हुर्केए।

छोराछोरीको प्रगतिमा खुसी

उनलाई हुर्काएकी आमा मिठुनिधि भन्छिन्, ‘आफ्नो कोखबाट नजन्माए पनि आफ्नै काखमा हुर्किएको छोराको प्रगति देख्दा निकै खुसी लाग्छ।’

एसओएस बालग्राम सुर्खेतमा सेवाबाट अवकाश लिएर जीवन बिताइरहेकी ६९ वर्षीया तिवारीले भारतीसहित २७ जना छोराछोरीलाई आमाको न्यानो काख दिएर हुर्काएको बताउँछिन्।

उनले पालनपोषण गरेका छोराछोरीहरू अहिले डाक्टर, इन्जिनियर, बैङ्क म्यानेजरलगायत विभिन्न पेसा र पदमा छन्।

४८ वर्षीया पार्वती गुरुङले पनि २३ वर्षदेखि अनाथ बालबालिकालाई आमाको न्यानो माया दिँदै आएकी छन्।

विवाह नगरी ऊर्जाशील जीवन अनाथ बालबालिकाको स्याहार सुसार र शिक्षादीक्षामा खर्चिएकी उनी आमाको अभाव पूरा गर्न पाउँदा सन्तुष्टि मिलेको बताउँछिन्।

बालग्राम बनेपामा कार्यरत उनी आफूले नजन्माए पनि सानैदेखि आफैँले हुर्काएका छोराछोरीसँग गाँसिएको सम्बन्धलाई शब्दमा अभिव्यक्त गर्न नसकिने बताउँछिन्।

आमाबाबु गुमाएर एसओएस बालग्रामको संरक्षणमा आएका कैयौँ बालबालिकालाई मिठु र पार्वती जस्ता धेरै आमाहरूले आमाको न्यानो काख दिएर वर्षौँदेखि हुर्काइरहेका छन्।

सुखदुखमा साथ

अनाथ बच्चाहरूलाई आमाको न्यानो काख
आफूले बालग्राममा हुर्काएका छोराछोरीसँग अस्ट्रेलिया घुम्दै आमा पार्वती गुरुङ

 

धेरै दु:ख कष्ट सहेर हुर्काएर आफ्नै खुट्टामा उभिन सक्षम बनाइएका छोराछोरीले पनि आमालाई उत्तिकै माया गर्ने गरेका छन्।

उनीहरूले आमालाई देश विदेशमा गुमाउने, बिरामी पर्दा उपचार गर्ने, चाडपर्वमा भेट्न आउने गर्छन्।

तीन पटक अस्ट्रेलिया घुमेर आएकी पार्वती गुरुङ भन्छिन्, “स्वदेश-विदेश जहाँ रहे पनि छोराछोरीले सुखदुख मा सम्झि नै रहन्छन्।”

फरक-फरक उमेर, समुदाय र पृष्ठभूमिका ८-१० जना बच्चालाई वर्षौँसम्म सँगै राखेर हुर्काउँदा कयौँ रात नसुतेरै बितेको आमाहरू बताउँछन्।

महिना दिन भित्रका ६ सहित ३२ जना बच्चाहरू हुर्काएकी शर्मिला केसी हुर्काउँदा जति दु:ख सहे पनि उनीहरू सक्षम भएपछि दु:खहरू बिर्सिने गरेको बताउँछिन्।

हुर्काउने र सक्ष बनाउने चिन्ता

अनाथ बच्चाहरूलाई आमाको न्यानो काख
एसओएस बालग्रामको संरक्षणमा ल्याइएका बच्चालाई बालग्रामका आमाको जिम्मामा दिँदै

“बच्चा हातमा परेपछि उसलाई कसरी हुर्काउने र सक्षम बनाउने भन्ने चिन्ता आमालाई हुँदो रहेछ,” हालसम्म अविवाहित उनी भन्छिन्।

“मन्दिरमा गएर नपाएको शान्ति बच्चाहरू हुर्काउँदा पाइँदो रहेछ,” ३२ जना छोराछोरीलाई हुर्काएकी आमा विष्णु अधिकारी भन्छिन्। “आफूले हुर्काएका छोराछोरीको शिर सधैँ उँचो भएको देख्ने चाहना हरेक आमामा हुन्छ।”

सानैदेखि स्याहार सुसार गरेका छोराछोरीले पनि आमाकै रूपमा आत्मीय व्यवहार गर्दा गर्वको अनुभूति हुने उनी बताउँछिन्।

३ वर्षको हुँदा बुवा आमा गुमाएपछि बालग्राममै हुर्केकी आस्था खत्री जन्म दिने आमाले छोडेर गए पनि आमा नभएको महसुस कहिल्यै नभएको बताउँछिन्। हरेक सफलतामा हुर्काउने आमाको हात रहेको उनी बताउँछिन्।

पूर्ण छात्रवृत्तिमा अमेरिकाको एउटा विश्वविद्यालयमा अध्ययनरत उनी भन्छिन्, “मेरो हरेक सफलताको पछाडि मलाई हुर्काउने आमाको ठूलो हात छ।”

बालग्राममा पाएको पारिवारिक वातावरण, आमासँगको भावनात्मक सम्बन्ध र घरलाई कहिल्यै पनि बिर्सन नसक्ने बालग्रामका हुर्केकाहरू बताउँछन्।

प्राकृतिक प्रकोपजस्ता विभिन्न कारणले आमाबाबु गुमाएका बालबालिकाको स्याहार गर्ने आमाहरूले बालग्रामबाट तलबसहितको सेवा सुविधा पाउँछन्।

तर ती आमाहरू भन्छन्, – जीवनभरि छोराछोरीलाई गरेको मायालाई पैसामा तुलना गर्न मिल्दैन।

आमाहरूले आफूले हुर्काएका छोराछोरीको विवाह पनि आफ्नै हातले गरिदिएको बताउँछन्।

आत्मीयता

पढाई पूरा गरेर बाहिर गए पनि आफूले हुर्काएका छोराछोरी नियमित रूपमा भेटघाटमा आउने, बिरामी पर्दा पैसा पठाउने, फोन गरेर सन्चो बिसन्चो सोध्ने, सुखदुख मा साथ दिने गरेको आमाहरूको भनाइ छ।

“आमाहरू छोराछोरीले प्रगति गर्दा खुसी र बाटो बिराउँदा दुखी हुनुहुन्छ,” बालग्राममै हुर्केका श्याम क्षेत्री भन्छन्। “जन्माउने भन्दा पनि हुर्काउने आमासँगको आत्मीयता बढी हुँदो रहेछ।”

“जस्तो खाना लगाउन खोज्छन्, त्यस्तै पुर्‍याउनु पर्छ,” मिठुनिधि भन्छिन्। मनको भावना बुझ्न सकिएन भने उनीहरूले बाटो बिराउन सक्ने उनको बुझाइ छ।

थोरै समय काम गर्ने सोच बनाएर बालग्राम प्रवेश गरेका आमाहरू बच्चाहरू हेर्न थालेपछि विवाह गर्ने सोच नै नआएको बताउँछन्।

अनाथ बच्चाहरूलाई आमाको न्यानो काख
आफूले हुर्काएका ६ जना छोरीहरूसँग बालग्राम बनेपामा कार्यरत आमा पार्वती गुरुङ
बढी जिम्मेवार

हर्मन माइनर विद्यालय सुर्खेतका प्राचार्य जगदीश ढकाल बालग्रामका आमाहरूले हुर्काएका बालबालिका जिम्मेवार, मेहनती र अनुशासित हुने गरेको बताउँछन्।

एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माका अनुसार नेपालमा रहेका १० वटा बालग्राममा १९६ जना आमाहरूले अहिले १६ वर्षमुनिका १ हजार १ सय ८५ जना बच्चाहरूलाई न्यानो काख दिएर हुर्काइरहेको छन् भने ७१७ जना किशोरकिशोरीहरू युवालयमा छन्।

आफैँ सक्षम

आमाबाबु गुमाएर नेपालका बालग्रामको संरक्षणमा आएका ४ हजार ३ सय ७४ जना आफ्नो खुट्टामा उभिन सक्षम भएर समाजमा पुनर्स्थापित भएको उनले बताए ।

उनीहरू डाक्टर, इन्जिनियर, कर्मचारी, स्वास्थ्यकर्मीको रूपमा कार्यरत छन्।

आमाको अनुपस्थितिमा उनीहरूलाई काकीहरूले रेखदेख र स्याहार सुसार गर्ने एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले बताए।

बालग्रामका निर्देशकले पनि उनीहरूको समाजमा पुनर्स्थापित हुनको लागि आधार निर्माण गर्न सघाउने देखि लिएर कार्यप्रगतिबारे परामर्श दिनेसम्मको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।

६० वर्ष पुगेपछि सेवा निवृत्त हुने आमाहरूलाई बाँचुन्जेल आवास, औषधि उपचारका साथै निवृत्तिभरणको पनि व्यवस्था भएको बताइन्छ।

दोस्रो विश्वयुद्धमा आमाबाबु गुमाएका बालबालिकाको लागि अस्ट्रियाका नागरिक डा. हर्मन माइनरले स्थापना गरेको एसओएस बालग्राम अहिले विश्वका धेरै देशमा छन्। बीबीसीबाट साभार 

प्रकाशित मितिः २७ माघ २०७६, सोमबार ०६:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *