बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले एकजना किसानको डेढलाख ऋण तिरी दिएका छन् ।
भैसी किन्दा ल्याएको ऋण तिर्न नसकेर समस्यामा परेको बेला डाक्टर केसीले उक्त ऋण तिरी दिएको किसान कृष्णबहादुर खत्रीले बताए ।

उनले भने, भैसी किन्दा ७० हजार ऋण ल्याएको थिए । समयमै तिर्न नसक्दा डेढलाख पुगेछ अहिले डाक्टरले तिरी दिनुभयो ।
दुध बेचेर ऋण तिर्ने सोचले भैसी किनेको भएपनि भनेजस्तो आम्दानी नभएपछि समयमै पैसा तिर्न नसकेको उनले बताए ।
आफ्नो उक्त समस्या थाहाँ पाएपछि डाक्टर केसीले डेढलाख रुपैया दिएर ऋणबाट मुक्त गर्न सहयोग गरेको पनि कृष्णबहादुरले बताए ।
समयमै बुझाउन नसकेपछि भैसी किन्दा लिएको ऋण थपिएर दुई लाख पुगेकोमा आफुले अहिलेसम्म ५० हजार रुपैया मात्रै तिरेको बताए ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. केसीले समस्यामा परेका छिमेकी किसानलाई आफ्नो तर्फबाट सक्ने सहयोग गरेको बताए ।
उनले भने, यो बर्ष कर्णालीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कर्णाली सरकारले दुर्गम बिशेष भत्ता दिएको थियो ।
दूर्गम वा सुगम होइन कर्णाली, मेरो घर हो, त्यसैले योे भत्ता आफ्नो लागि खर्च गर्नु भन्दा समस्यामा परेका विपन्न किसानको लागि खर्च गर्न उपयुक्त ठाने ।
उनले उक्त विशेष भत्ता दिने प्रदेश सरकारलाई धन्यवाद समेत दिए ।
उनी प्रश्न गर्छन, बैंकहरु सधैं नाफामा रहिरहदा मेहिनेती कृष्णबहादुर जस्ता तिनै बैंकका सेवाग्राहीहरुले पनि नाफाको अनुहार देख्न पाउने बैकिङ व्यवस्था कहिलो होला ?

अव्बल चिकित्सक समेत रहेका डा. केसी समाज सेवामा पनि उक्तिकै सक्रिय छन् ।
उनले कर्णालीका दुर्गम गाउँमा पुगेर निशुल्क स्वास्थ्य शिविर संचालन गर्नेदेखि बीरेन्द्रनगरलाई सफा र सुन्दर सहरको रुपमा विकास गर्न ग्रीन सुर्खेत, क्लीन सुर्खेत अभियान पनि संचालन गरिहेका छन् ।
उनले संचालन गरेकै अभियानकै कारण बीरेन्द्रनगर अहिले विस्तारै सफा र सुन्दर सहरको रुपमा परिणत हुदै गएको छ ।
कर्णालीका दुर्गम गाउँका विरामीलाई विशेषज्ञ डाक्टरसँग जोडन र स्वास्थ्य सेवा लिन उनले नै ल्याएको टेलिमेडिसिन सेवा अहिले संचालनमा रहेको छ ।