शिविरको बास सरकारको आश अझै कहिलेसम्म ?

दिपक शाही
गिरीघाट (सुर्खेत), ७ भदौ ।
सुर्खेत–जुम्ला सडकको छेउमा रहेको हरिहरपुर– ५ गिरीघाट अस्थायी शिविरकी ७१ बर्षिय जल्दरी विक औषधी सेवन गर्दैथिइन् । बाटो छेउमा टन्टलापूर घाममा कम्मल ओछ्याएर बसेकी उनलाई ज्वाइले औषधी खुवाउँदै थिए । घाम लागेको समयमा शिविरको पाल तात्तिएर भित्र पोल्ने भएपछि औषधी खान उनी रुखको छेउमा कम्मल ओछ्याएर बसेकी थिइन तर त्यहाँ पनि घामले उनलाई पछ्याई रहेको थियो ।
काँप्दै गरेका हातले आफ्नो परिवार बस्ने पाल देखाउँदै विकले भनिन्– ‘उ त्यही हो हामी बस्ने पाल हिँउद चिसोले सताउँछ, बर्खामा घाम र पानीले सताउँछ, सरकारको आश गर्दागर्दै दुइ बर्ष बितिगयो यत्तिकै दिन काट्नुपरेको छ ।’ उनका परिवारका सदस्यको हातमुख जोड्ने आधार नै गिट्टी भएकोले ७१ बर्षको उमेरमा पनि उनी घाम पानी नभनी गिट्टी कुट्ने गर्छिन् । ‘छोराछोरीको सहयोगमा आरामले बस्ने यो उमेरमा गिट्टी कुटेर खानु मेरो भाग्यमै लेखेको रैछ, मरेपछि मात्रै यो दुःख टर्छ होला’ उनले बिरामीले थलिएको अनुहार उठाउँदै भनिन् ।
जल्दरी विकको मात्र नभई अस्थायी शिविरमा बसेका सम्पूर्ण पीडितको समस्या उस्तै देख्न पाइन्छ । २०७१ भदौ २९ गते गीरीघाट खोला र भेरीमा आएको बाढीले विस्थापित भएका १ सय ३९ घरपरिवार यो अस्थायी शिविरमा बस्दै आएका छन् ।
‘त्यो रातिमा आएको बाढी त्यसैमा बगेको परिवार झलझली सम्झिरहन्छु अहिलेसम्म पनि, सुतिरहेका बेला घरबाट बगेर उर्लेको भेरीमा पौडी खेल्दै आफू पनि बाँचे परिवार पनि बचाए, यति दुःखद् जीवन विताउन लेखेको रछ त्यसैले बाँचियो नत्र उही कालो दिनमा मेरो जीवनको अन्त्य भैसकेको हुन्थ्यो ।’ त्यही अस्थायी शिविरमा बस्दै आएकी सुमित्रा सुनाले भनिन् ।
तर उनको सरकारसंग आश पनि मरेको छैन र सरकारसंग गुनासो भने छदैछ । उनले भनिन् ‘सरकारको तर्फबाट दिने भनिएको ५० हजार राहत रकमले दर्तावाला जग्गा किनेर देखा अनि अरु पैँसा दिन्छु भनेर भन्छ, ५० हजारले कुन ठाउँमा दर्तावाला जग्गा आउँछ ? आउँछ भने सरकार आफै आएर किनिदिए भैगोनि ।’ सरकारले दिने त्यही रकम पनि आफूले नपाएको उनले बताइन् ।
edशिविरमा बस्दै आएका सुमित्रा सुनार, हरिकला दर्लामी, तिला मन्दिर, इन्द्रा विक, विष्णा विक चित्रकला विक लगाएत जो कोहीले परिवारको हातमुख जोड्ने आधार गिट्टी कुट्ने क्रममा हातमा उठेका फोका र थिच्चिएका नङ् देखाउँदै सरकारसंग गरिएको आश, माग र गुनासो शिविरमा जाने नयाँ मानिसहरुसंग राख्ने गर्छन् ।
बालबालिका झन समस्यामा
शिविरमै बस्दै आएकी सविना नेपाली कक्षा ५ मा पढ्दैछिन् । ‘घरमा विहान खाउँ बेलुका छैन, बेलुका खाउँ साँझ कसरी खाने भन्ने चिन्ता हुन्छ यस्तो अवस्थामा कसरी कापी कलम र स्कुलको पोशाक किनेर पढौँ, यस्तो समस्या कसैलाई नपरोस ।’ सविनाले रुन्चे अनुहारमा भनिन् ।
उनले भनिन् –बाबा र जेठो दाजु भारत जानुभएको छ, भाउजुले दाजुलाई र हामीलाई छोडेर अन्तै गइसक्नुभयो, आमाले गिट्टी कुटेर परिवारको खाना खर्च र हामी भाइबहिनीको पढाइ खर्च जेनतेन् चलाउनुभएको छ ।’
कोही चिटिक्क परेको मानिसको समूह र गाडीहरु बस्ती वा स्कुलमा आए भने केही राहत ल्याएका छन् र दिन्छन्कि भन्ने आश लाग्छ उनले थपिन् । उनले स्कुलमा भोग्नुपरेको समस्याका विषयमा पनि बताइन्, उनले भनिन् – स्कुल पनि पालले ढाकिएको छ घाम लाग्यो भने पसिनाले लुथ्रुक्क पार्छ, पानी प¥या भने चुहिएर पानीले लुथ्रुक्क पार्छ ।
न स्कुलमा पढ्ने वातावरण छ नत शिविरमा । पानीमा माटो बगेको प्रष्टै देखिन्छ तर पनि तिर्खा मेटाउने पानी त्यही हो ।’ स्कुलको छानामा टिन हाल्दिनुप¥यो, धारा सुद्ध पानीको धारा बनाइदिनुप¥यो, चर्पी बनाइदिनुप¥यो सविनाको सरकारसंग माग छ ।
‘पालमा अँध्यारो छ बत्ति छैन, खाना पकाउने बेलामा धुवाँ हुन्छ, पढ्ने वातावरण केही गरी मिल्दैन ।’ कक्षा ५ मै अध्ययनरत विनिता नेपालीले भनिन् । उने भनिन्– पाल पनि च्यात्तिएको छ, न सिलाउन मिल्छ, पानी चुहिन्छ । कहिले बाघले सताउँछ कहिले सर्पले दुःख दिन्छ । यत्रो दुःख भोग्न थालेको २ बर्ष पुगिसक्यो सरकारले हामीलाई नजिकबाट किन हेर्दैन ?’ विनिताको पनि बाबा आमा दुवै भारत गएका छन् उनी अहिले शिविरमा हजुरआमासंग बस्दै आएकि छिन् ।
शिविरमा बस्दै आएका सबैजसो बालबालिका अहिले आफू र आफ्नो परिवारको लागि पढाइभन्दा पनि बढी दाउरा बनाउने र गिट्टी कुट्ने काममा ज्यादा लाग्नुपरेको छ ।
यस्तै उनीहरुका अभिभावक राहतको आशैआशमा बसिरहेका छन् । कतिपयलेत सरकारले जग्गा किन्नका लागि दिएको राहत रकम खर्च गरिसकेका छन् । २०७१ मा आएको बाढीका कारण सुर्खेतका विभिन्न ठाउँहरुमा क्षती पुगेको छ । पीडित परिवार सरकारको आशमा २ बर्षदेखि अस्थायी शिविरमा बस्दै आएका छन् ।¬

प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार ११:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *