वीरेन्द्रनगर नगरपालिका ९, स्थित लाटीकोइली स्वास्थ्य चौकीमा पर्याप्त पूर्वाधार नहुँदा उपचारमा समस्या भएको छ । स्वास्थ्य चौकीले प्रसूति, ल्याब, बहिरंग, परिवार नियोजनलगायत सेवा प्रवाह गर्दै आइरहेको छ ।
चौकीको बहिरंग सेवामा दैनिक ५० देखि एक सय ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये मौसमी समस्याका बिरामी धेरै हुन्छन् । फराकिला कोठा नहुँदा विरामी उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
‘साना दुई कोठा छन्, एउटा बर्थिङ र एउटा डेलिभरी बेड छ,’ बर्थिङ सेन्टरकी इन्चार्ज अर्चना न्यौपानेले भनिन्, ‘एकैपटक दुई/तीन वटा केस आए भने राख्ने ठाउँ नै हुँदैन, हामीलाई नै गाह्रो भइरहेको हुन्छ ।’ उनले पर्याप्त पूर्वाधार नहुँदा गुणस्तरीय सेवा दिन नसकेको बताइन् । अनमी सरिता श्रेष्ठले कहिलेकाहीं दुई/तीनजना प्रसूति हुन सँगै आउँदा एक जनालाई भुइँमै राख्नुपर्ने बताइन् ।
कोठा सानो भएकाले भुइँमै राख्न पनि ठाउँ नहुने अनमी श्रेष्ठको भनाइ छ । चालु आर्थिक वर्षको मंसिर दोस्रो सातासम्म स्वास्थ्यचौकीमा ३७ जनाले प्रसूति सेवा लिएका छन् । गत आर्थिक वर्षमा ५० जनालाई प्रसूति सेवा दिइएको थियो । स्वास्थ्य चौकीका अनुसार गत आर्थिक वर्षमा एक हजार चार सय ७९ र यो वर्ष पाँच सय ५५ जनाले गर्भवती जाँच गरेका छन् ।
जाँच गर्न आउनेमध्ये करिब १० प्रतिशत मात्रै प्रसूतिका लागि आउने गरेका छन् । ‘तर ती १० प्रतिशतको डेलिभरी गराउन पनि भौतिक संरचना र जनशक्ति पर्याप्त छैनन्,’ स्वास्थ्यचौकी प्रमुख धनप्रसाद देवकोटाले भने, ‘पूर्वाधार नहुँदा सेवा दिन मुस्किल छ ।’
स्वास्थ्य चौकीले गत वर्षदेखि प्रयोगशाला (ल्याब) सेवा पनि सुरु गरेको छ । ल्याबका लागि भवन नहुँदा सानो कोठामा सेवा सञ्चालन गर्नुपरेको प्रमुख देवकोटाले बताए । ल्याब सेवा सुरु गरेपछि अन्य स्वास्थ्य सेवा प्रभावकारी भएको उनको भनाइ छ । ‘ल्याब सेवाले सेवाको गुणस्तर कायम गर्न सजिलो भएको छ,’ उनले भने, ‘तर भवन नहुँदा ल्याब व्यवस्थापन गर्न समस्या छ ।’ बिरामीको चाप धेरै भएका बेला व्यवस्थापन गर्न समस्या हुने प्रमुख देवकोटा बताउँछन् ।