व्यवसायमा जमेका रिटायर्ड

प्रकाश पन्त
बीरेन्द्रनगर, १९ माघ ।
लामो समय सरकारी सेवा गरेर निवृत्त भएकाहरुले रिटायर्ड जीवनलाई थकान मेट्ने समयको रुपमा प्रयोग गर्छन् । सामान्यतयाः उनीहरु आरामदायी जीवन जीउन चाहन्छन् । फुर्सदिला देखिन्छन् । । सरकारी पेन्सन खाएर मोजमस्ती गर्नेको पनि कमी छैन । तर सुर्खेतमा यस्ता पूर्व राष्ट्रसेवक पनि छन् जसले आफ्नो बाँकी जीवनलाई व्यवसायमा लगाएका छन् । उनीहरुको आम्दानी लोभलाग्दो मात्र छैन, अरुलाई प्रेरणादायक पनि बनिरहेको छ ।

मौरीपालन व्यवसायमा जुटेका अमरबहादुर तारमी

नेपाली सेनाबाट अवकास भएपछि मौरीपालन व्यवसाय गरेका बीरेन्द्रनगर –१२ पदमपुरका अमरबहादुर तारमीले रिटायर्ड जीवनलाई व्यस्तमात्र बनाइरहेका छैनन्, मौरीपालनबाट लोभलाग्दो आम्दानी पनि गरिरहेका छन् ।
सेनावाट अवकास हुनवित्तिकै २०६० सालमा एक घारबाट मौरीपालन सुरु गरेका उनीसँग अहिले एक सय ५० घार मौरी छन् । उनले १० जनालाई रोजगारी दिएका छन् । मह र मौरीजन्य सामाग्री बेचेर वर्षमा डेढ करोड रुपैया कमाउने गरेको तारमीले बताए ।
पशु विकास अधिकृतबाट रिटायर्ड भएका बीरेन्द्रनगर बेचुलाल चौधरी पनि बंगुरपालन व्यवसायमा थालेका छन् । दुई बर्षअघि रिटायर्ड भएका उनले वंगुरबाट सवै खर्च कटाएर १४ लाख रुपैया आम्दानी गरेको बताए । हात पाखुरी चल्दासम्म अर्काको भरपर्नु हुदैन्, उनले भने, आफैले केही गनुपर्छ ।

वंगुरपालनमा जुटेका बेचुलाल चौधरी ।

उर्जाशिल जीवन देश सेवामा विताएका बीरेन्द्रनगर–७ का कृष्णप्रसाद पाण्डे पनि व्यावसायिक तरकारी खेतीमा जमेका छन् । एक विगाहा जग्गा भाडामा लिएर उनले चारबर्षदेखि बीरेन्द्रनगरको इटौरामा तरकारी खेती गदै आएका छन् । कृषि प्राविधिकबाट रिटायर्ड उनी भन्छन्, हामी जस्ता पूर्वकर्मचारीले खेतीपाती गरे, अरुले पनि सिक्छन् । अनि मात्र देशको आर्थिक उन्नतिमा टेवा पुग्छ ।
व्यसायमा जमेका रिटायर्डहरु धेरैका लागि प्रेरणाका स्रोत पनि बनेका छन् । उनीहरुको सिको गर्नेहरु हिजोआज सुर्खेतमा बढिरहेका छन् । अमरबहादुर तारमीले मौरीपालेको देखेर छिमेकीले पनि व्यवसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालन व्यवसाय सुरु गरेका रामबहादुर मन्दिर भन्छन, तारमीकै प्रेरणाले गर्दा धेरै छिमेकी मौरीपालन व्यवसायमा जुटेका छौ ।
उनीहरु आफ्नै ठाउँमा गरेको व्यवसाय दिगो हुने बताउँछन् । पैसा कमाउन विदेश जाने युवाको संख्या बढिरहेको वेला उनीहरु भन्छन्, बिदेशबाट ल्याएको पैसा सधैभरीको लागि हुदैन, आफ्नै माटोमा पसिना बगाउने पुस्तैपुस्तासम्म हुन्छ । त्यसैले विदेश नगरएर आफ्नै ठाउँमा व्यवसाय गर्न उनीहरु युवालाई सुझाव दिन्छन् ।

उनीहरु मात्र होइन, विभिन्न सरकारी सेवाबाट अवकास भएका सुर्खेतका धेरैजसो पूर्व राष्ट्रसेवक अहिले आफ्नै व्यवसायमा रमाइरहेका छन् । उनीहरुले आफ्नो ज्ञान, सीप र अनुभव अरुलाई पनि बाँडिरहेका छन् । अनि धेरैजनालाई रोजगारीसमेत दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मितिः १९ माघ २०७५, शनिबार ०६:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *