बद्री पन्त
सुर्खेत २५, माघ ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सरकारी सञ्चार माध्यम नम्बर वान सञ्चार माध्यम बन्नु पर्ने बताउनु भएको छ ।
वीरेन्द्रनगरमा रेडियो नेपालले शुक्रबार आयोजना गरेको तीन दिने समावेशी प्रचार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धि तालिमको उद्घाटन गर्दे मन्त्री भण्डारीले रेडियो नेपाललाई देशबासीको अपनत्व हुने गरी विकासको मूल प्रवाहमा जोड्न आवश्यक रहेको कुरा बताउनु भयो ।
राष्ट्रले अङ्गिकार गरेको समावेशी लोकतन्त्रको सम्बर्द्धन टेवा र्पुयाउन सञ्चार माध्यमलाई आग्रह समेत गर्नु भयो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले रेडियो नेपाललाई समय सापेक्ष बनाउँदै सबै जातजाति भाषाभाषी, वर्ग, लिङ्ग र क्षेत्रलाई समेट्ने गरी सूचना तथा समाचार उत्पादन तथा प्रसारण गर्न सुझाव दिनु भयो ।
विकासको आयामलाई बदल्दै अब भौतिक पूर्वाधार मात्र नभई सामाजिक न्यायसहितको विकासमा रेडियो नेपालले योगदान र्पुयाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा रेडियो नेपाल योजना विकास तथा विस्तार महाशाखा प्रमुख पुष्करराज गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सन्तोषकुमार खत्री, रेडियो नेपाल समाचार महाशाखा प्रमुख पवन प्याकुरेल, तालिम शाखा प्रमुख जर्नादन विष्ट, रिपोर्टिङ शाखा प्रमुख प्रमोद दाहाल, रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख जानकीशरण शाह, वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वाज लामा, कार्यक्रम अधिकृत भानुभक्त खड्का लगायतले धारणा राख्नु भएको थियो ।
तालिममा कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी र ५ नम्बर प्रदेशको दाङ, बाँके लगाएत जिल्लामा कार्यरत स्थानीय सम्वाददाता, कार्यक्रम तथा विभिन्न भाषाका समाचारमा कार्यरत कर्मचारी लगायत सहभागिता रहेको छ ।
पहिलो दिनको तालिम कार्यक्रममा रेडियो नेपाल योजना विकास तथा विस्तार महाशाखा प्रमुख पुष्करराज गौतमले रेडियो नेपालले गरेका विभिध गतिविधि र भावि कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । भने तालिम शाखा प्रमुख जर्नादन विष्टले समाबेशी पत्रकारीताको विषयमा तथा मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका सह प्रध्यापक अर्जुनबहादुर अयडीले सामाजिक समावेशीकरण र सामाजिक बहिष्करणका विषयमा सहजीकरण गर्नु भएको थियो ।