आपूर्ति घटेपनि समानुपातिक वितरण गरेका छौ -अध्यक्ष देवकोटा

सुर्खेत, १६ जेठ ।
पानीका मुहान सुक्न थालेपछि सुर्खेत उपत्यकामा आपूर्ति हुदै आएको खानेपानी झण्डै आधाले घटेको छ । पानीको आपूर्ति आधाले घटेपछि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले समानुपातिक वितरणका लागि आलोपालो प्रणाली लागु गरेको जनाएको छ । उक्त प्रणाली अन्तर्गत अहिले उपत्यकाबासीको धारामा ९६ घण्टामा पानी आउने गरेको छ ।


लामो सुख्खा खडेरीले पानीका मुहान सुक्दै गएका छन् । सुर्खेत उपत्यकाबासीलाई अहिले दैनिक प्रतिसेकेन्ड १ सय ६९ पानी चाहिएको छ तर अहिले प्रतिसेकेन्ड ८५ लिटर मात्र पानी आपूर्ति हुदै आएको संस्थाका अध्यक्ष कुलमणी देवकोटाले बताए । मुहानबाटै पानी आपूर्ति घटेकाले वितरणमा समस्या भएको पनि उनले बताए । सुख्खा खडेरीका कारण खानेपानीका स्रोतहरु घटेकोले उपत्यकाबासीको मागलाई पुरा गर्न कठिनाइ उत्पन्न भएको उनले उल्लेख गरे । पानीको आपुर्ति घटेपनि उपत्यकाबासीलाई सर्वसुलभ रुपमा खानेपानी उपलव्ध गराउने व्यवस्था मिलाएको समेत अध्यक्ष देवकोटाले बताए ।


झुप्रा खोला मुहानबाट प्रतिसेकेण्ड ८६ लिटर पानी आपूर्ति हुदै आएकोमा अहिले प्रतिसेकेण्ड ४० लिटरमा झरेको छ । खरी–बोरी खोला मुहानबाट प्रतिसेकेण्ड ३० लिटर, इत्राम खोलाबाट प्रतिसेकेण्ड ८ लिटर, खोर्केबाट ४ लिटर, बुलबुले तालबाट २ लिटर गरी अहिले ८४ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति भैइरहेको छ ।
सुर्खेत उपत्यकाका लागि प्रतिदिन १ करोड ५४ लाख लिटर खानेपानी आवश्यक पर्छ तर अहिले दैनिक ७२ लाख ५७ हजार लिटर पानी आपूर्ति हुदै आएको छ । करिव ८२ लाख लिटर खानेपानी अपुग छ ।


सुर्खेत उपत्यकामा बढ्दो जनसंख्या र घट्दो पानीका स्रोतका कारण खानेपानीको संकट गहिरिदै गएको छ । खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्ट गरेर ल्याउने प्रक्रिया पनि अघि बढाइएको अध्यक्ष देवकोटाले बताए ।
प्रदेश राजधानीमा पानीको समस्या बर्षेनी गहिरिदै गएपनि समस्या समाधानको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले दीर्घकालिन योजना बनाउन ढिलाई गरिरहेको बताएको छ ।
यसैवीच बुधबार सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति हुदै आएको झुप्रा खोला मुहानको स्थलगत अनुगमन गरिएको छ । प्रदेश खानेपानी आयोजनाका निर्देशक बासुदेव पौडेल, संघिय खानेपानी आयोजनाका प्रमुख पूर्णबहादुर जुहारचन, सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटा लगायत संचारकर्मीको टोलीले मुहानको स्थलगत अनुगमन गरेको हो ।

प्रकाशित मितिः १६ जेष्ठ २०७६, बिहीबार ०६:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *