सुर्खेत, ७ भदौ ।
लत्ताकपडा किन्न नसक्ने गरीव परिवारलाई निःशुल्क उपलब्ध गराउन सुर्खेतमा पनि कपडा बैंक स्थापना गरिएको छ । कमजोर आर्थिक अवस्था भएका विपन्न व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजान सक्छन् ।
बीरेन्द्रनगर -६, बुद्धपथमा रहेको न्यु प्रभात पुस्तक पसल अगाडी स्थापना गरिएको कपडा बैंकको शुक्रवारदेखि संचालनमा आएको छ ।
प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसी, नेपाल रेडक्रस सोसाइटी बीरेन्द्रनगर शाखाका अध्यक्ष कमल नेपाल र आर्किटेक्ट इन्जिनियर आकृति नेपालले संयुक्त वैक संचालनमा आएको घोषणा गरेका थिए ।
सामाजिक सेवामा सक्रिय रहदै आएका डा. केसीको सल्लाह, पहल र आर्किटेक्ट इन्जिनियर आकृतिको अगुवाईमा कपडा बैंक खुलेको हो ।
कपडा बैंक स्थापनाको लागि लागेको सम्पूर्ण खर्च न्यु प्रभात पुस्तक पसलले व्यहोरेको हो । कल्याणकारी सोच राखेर बीरेन्द्रनगरका अरु दुई ठाउँमा पनि कपडा बैंक सञ्चालनमा ल्याइएको छ ।
कपडा बैंकमा महिलाले लगाउने महिला, बालबालिका र पुरुषका कपडाहरु चिटिक्क पारेर राखिएका छन् । बुद्धपथ र प्रदेश अस्पतालमा खुलेका कपडा बैंकबाट गरीब तथा विपन्न परिवारलाई ठूलो राहत पुग्ने सामाजिक अभियन्ता डा. केसीले बताए ।
तपाईको पुरानो लुगा कसैको लागि नयाँ हुने भएकोले गरिव तथा विपन्न व्यक्तिको लागि आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न इन्जिनियर नेपालले आग्रह गरिन् ।
किनेर लुगा लगाउने नसक्ने अवस्थाका व्यक्तिलाई कपडा वैकले ठुलो सहयोग गर्ने समाजसेवी कमल नेपालले बताए ।
कपडा बैंकमा नयाँ र पुराना सवै लुगाहरु राखिने भएकोले गोदाम र पसलमा मौसम सकिएर थन्किएका, घरमा प्रयोग नभएका कपडा बैंकलाई दिन युवा समाजसेवी गगन रानाले आग्रह गरे ।
यस्तै मध्यपश्चिमाञ्चल विश्वाविद्यालयका प्रवक्ता शेरबहादुर केसीले पवित्र मनवाट गरिएको सामाजिक कार्यलाई सक्दो सहयोग गर्नु पर्नेमा जोड दिए ।