महिलाले यसरी कर्णालीको नमुना गाउँ बनाए

महिलाको अगुवाइमा सुर्खेतको आफर गाउँ कर्णालीकै नमुना गाउँ बनेको छ। संवत् २०७२ सालमा पाँचवर्षे रणनीतिक योजनाअन्तर्गत ३९ वटा सूचक र ९० वटा उपसूचक बनाएर महिलाले आफ्नै बलबुतामा गाउँलाई नमुना बनाउन सफल भएको बताए।

पाँच वर्षअघिसम्म जातीय विभेद, बालविवाह, घरेलु हिंसा, जाँडरक्सी तथा जुवातासको चर्को समस्या झेलिरहेको गाउँको अवस्था बदल्न सकेको भन्दै महिला हर्षित देखिन्छन्।

आफू स्वावलम्बी भएपछि घरेलु हिंसा पनि अन्त्य भएको र बालविवाह, जातीय विभेद पनि अन्त्य भएको ती महिलाहरूले बताएका छन्।

दृढ इच्छाशक्ति

मदिरा र जुवातास निषेध भएपछि गाउँमा शान्ति छाएको गाउँकी ५६ वर्षीया पवित्रा विक बताउँछिन्। उनी भन्छिन्, “यति चाँडै गाउँ बदलिएला भन्ने लागेको थिएन, तर गाउँ बदलिन समय नै लाग्दोरहेनछ।”

उमेर पुगेका बालबालिका विद्यालय बाहिर छैनन्। सबै गाउँले साक्षर छन्।

गाउँ सफा, सुन्दर र हरियालीले ढाकिएको छ। नमुना गाउँकी एक अभियन्ता यशोदा विक भन्छिन्,”दृढ इच्छाशक्ति भए, असम्भव केही रहेनछ।”

पाँच वर्ष अघिसम्म हरेक क्षेत्रमा पछि परेको गाउँलाई चौतर्फी रूपमा अघि बढाउन महिलाले ठूलो परिश्रम गरेको बताए।

गाउँलाई नमुना बनाउन उनीहरूले शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, जीविकोपार्जन, सशक्तीकरण, वातावरणीय संरक्षणलाई केन्द्रमा राखेर विभिन्न सूचक बनाएका थिए।

विश्वास नगर्नेहरू

उक्त सूचकहरू पूरा भएपछि गाउँमा आफैँ समृद्धि आएको स्थानीय मीना बाठाले बताइन्।

नमुना गाउँ बनाउने अभियान थाल्दा सुरुसुरुमा धेरैजसो गाउँलेले महिलाको क्षमतामाथि विश्वास गरेका थिएनन्।

सबैको साथ नपाएपनि आफूहरू अगाडि बढिरहेको उनीहरू बताउँछन्।

“थुप्रै चुनौती छिचोल्दै आफ्नै बलबुतामा गाउँलाई नमुना बनाउन सफल भयौँ,” स्थानीय महिला लक्ष्मी बाठाले भनिन्, “उतिबेला हाम्रो अभियानलाई विश्वास नगर्नेहरू अहिले सहयोगी बनेका छन्।”

वीरेन्द्रनगर नगरपालिकामा पर्ने आफरमा ६० घर छन् । यो गाउँका सबैले आयआर्जनसम्बन्धी छुट्टाछुट्टै योजना बनाएका छन्।

पन्ध्र घरले होमस्टे सञ्चालन गरेका छन् भने बाँकी ४५ घरमध्ये कसैले व्यावसायिक योजना बनाएर भैँसीपालन तथा तरकारी खेती गरेका छन्। केहीले कुखुरा, र बङ्गुर पालेका छन्।

सरकारी र गैरसरकारी संस्थाले गाउँलेको आवश्यकताभन्दा पनि आफूअनुकूल हुने कार्यक्रम सञ्चालन गर्ने भएकोले आफूखुसी गाउँमा कार्यक्रम सञ्चालन नभएको उनीहरूले बताए।

सरकारी र गैरसरकारी निकायले नमुना समितिको सल्लाहभन्दा बाहिर गएर कार्यक्रम सञ्चालन गर्न पाउँदैनन्, नमुना गाउँ व्यवस्थापन समितिकी अध्यक्ष रचना बाठा भन्छिन, “हामीले बनाएको योजनाअनुसार नै गाउँलेलाई उनीहरूले सहयोग गर्नुपर्छ।”

गाउँको चर्चा सुनेर विभिन्न जिल्लाबाट मानिसहरू अवलोकन गर्न आफर आउने गरेका छन्।

आफ्नो गाउँ हेर्न बाहिरबाट आउने मानिसलाई उनीहरूले आफूले जानेका कुरा सिकाउने गरेको समितिकी सदस्य बेलमती विक बताउँछिन्।

प्रेरणा

नमुना आफर गाउँ हेर्न आउने जो कोहीलाई महिलाले फूलमालाले स्वागत गर्ने गर्छन्। उनीहरू भन्छन, “यो हाम्रो संस्कार हो।”

पाहुनालाई राम्रो व्यवहार गरे उनीहरू फेरिफेरि आउने सम्भावना बढ्ने महिलाहरू बताउँछन्।

जनजाति र दलित समुदायको बाहुल्य रहेको आफर गाउँका महिलाको काम, उनीहरूको हिम्मत र लगनशीलता देखेर त्यहाँ पुग्ने धेरैजना प्रेरित हुन्छन्।

समाजसेवी पूर्णप्रसाद पौडेल भन्छन्, आफरगाउँबाट प्रेरित भएर सुर्खेतको सिम्ता र बराहताल गाउँपालिका पनि आफ्नो पालिकाभित्र आफ्ना गाउँलाई नमुना बनाउन कस्सिएका छन् ।

आफर नमुना गाउँ व्यवस्थापन समितिका अध्यक्ष रचना बाठा ठूलो खर्च लाग्ने सडक, सिँचाइ बाहेकका अरू सबै सूचकहरू पूरा गरेको बताउँछिन्।

उनले बढी खर्च लाग्ने सूचकहरू पनि पूरा गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसँग पहल गरिरहेको बताइन्।

नमुना गाउँका लागि शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, जीविकोपार्जन, सशक्तीकरण र वातावरणीय संरक्षणका लागि विभिन्न सूचक निर्धारण गरिएका थिए ।

उक्त सूचकहरूअन्तर्गत रहेका सामुदायिक पुस्तकालय स्थापना, गर्भवती महिलाले चार पटक अनिवार्य स्वास्थ्य संस्थामा जाँच गर्ने व्यवस्था, शुद्ध पानी, सफा शौचालय र धुलोरहित चुलो गाउँलेले प्रयोग गरिरहेका छन्।

सुर्तीजन्य पदार्थमा रोक, हरेक घरमा धारा जडान र छोराछोरीमा समान व्यवहार गर्दै आएको महिलाले बताए।

आत्मनिर्भर

आयआर्जन गर्ने उपाय नहुँदा वर्षौँदेखि पतिको भर पर्दै आएका महिला अहिले आत्मनिर्भर बनेको बताउँछन्।

आयआर्जन बढेपछि आफरका महिलाले आफ्नै सहकारी पनि खोलेका छन्।

“सहकारीमा पहिले महिनामा पाँच रुपैयाँ बचत गर्ने सामर्थ्य थिएन, अहिले ५०० रुपैयाँ बचत गर्न सक्ने भएका छौँ,” उनीहरूले भने।

सहकारीमा जम्मा गरेको रकम आवश्यक परेको बेला झिकेर समस्या टार्ने गरेको उनीहरूले बताए।

महिलाको अग्रसरतामा नमुना गाउँ बनेपछि आफरका पुरुष पनि दङ्ग छन्।

स्थानीय हर्कबहादुर विकले भने, “महिला दिदीबहिनीले आँट नगरेको भए हाम्रो गाउँ सधैँ पछाडि नै हुन्थ्यो।” आफरवासी महिलाको सिको गर्दै कर्णाली प्रदेश सरकारले पनि प्रदेशका ४० वटा गाउँलाई नमुना गाउँको रूपमा विकास गर्ने योजना बनाएको जनाएको छ।

आफरवासी महिला भन्छन्: योजना बनाएर अघि बढे गाउँलाई समृद्ध बनाउन कसैको मुख ताक्नुपर्दैन।

बीबीसी नेपालीसेवाबाट साभार ।

प्रकाशित मितिः ७ आश्विन २०७६, मंगलवार ०६:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *