धर्तीकी अप्सरा रारा, पर्यटकको पर्खाइमा

rara-4मुगु, १९ साउन ।
रारा ताल हेरेर फर्किनेहरु भन्छन बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको अनुभुति हुने गर्छ ।
राराको सफा पानीमा स्नो ट्राउट माछादेखि हाँस, जलेवा, र्कयाङकुरुङजस्ता चराहरू जलक्रिडामा मस्त हुन्छन ।
नेपालगन्ज र सुर्खेतबाट करिब आधा घन्टाको हवाई यात्रामा ताल्चा विमानस्थल उत्रिएपछि २ घन्टाको पैदल यात्रापछि रारा ताल पुगिन्छ ।
ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ ।
रारा ताल कर्णाली अञ्चलको मुगु जिल्लामा पर्छ । यो नेपालको सबैभन्दा ठूलो र प्रशिद्ध ताल हो ।
राराताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाईंमा पर्छ ।
मुगुको सदरमुकाम गमगढीबाट पश्चिम ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ ।
प्रकृतिको सुन्दर उपहारको रूपमा रहेको राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीका साथै निकुञ्जमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तु र डाँफे लगायतका चरा चुरुङ्गीहरूले समेत थप आर्कषित गरेका छन ।
रारा तालले दिनभरीमा आफनो रुप फेरिरहन्छ । जेष्ठ देखि असोज महिना सम्म विभिन्न फुलहरूले सजिएर रारा ताल स्वर्गकी अप्सरा जस्तै देखिन्छ ।
रारातालको अर्को विशेषता भनेको यो तालमा विश्वमा अन्यत्र कतै पनि नपाइने असला अर्थात हिमाली माछा पाइन्छ ।
रारा तालबाट पश्चिममा रहेको करीब ३ घण्टाको पैदल दुरीमा रहेको मुर्माटपवाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको मनोरम पनि अवलोकन गर्न सकिन्छ ।
रारा राष्ट्रिय निकुञ्जमा रेडपान्डा, दुर्लभ सेतो कस्तुरी, नाउर, घोरल, गिद्ध, बाज, चीलजस्ता पशुपन्छी अवलोकन गर्न सकिन्छ ।
यो क्षेत्र यार्सागुम्बा, पाँचऔले, अत्तिस, कटुकी, भोल्तेजस्ता जडिबुटीको भण्डार पनि हो ।
तत्कालिन राजा महेन्द्र शाहले २०२० सालमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।
रारा तालको वनोट
लम्बाई ५ दशमलव १ किलोमिटर
चौडाई ३ दशमलव २ किलोमिटर
सतहको क्षेत्रफल १० दशमलव ८ वर्ग किलोमिटर
गहिराई १६७ मिटर
पानीको आयतन १ घन किलोमिटर
सतहको उचाई २ हजार ९सय ७२ मिटर ।

प्रकाशित मितिः १९ श्रावण २०७३, बुधबार ०३:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *