नबिल बैंकको सहयोगमा सुर्खेतमा निःशुल्क जलन उपचार शिविर सुरु

सुर्खेत – आर्थिक अभावका कारण उपचार नपाएर जलनको पीडा सहेर बसिरहेका नागरिकका लागि नबिल बैंकको आयोजना र फेक्ट नेपालको प्राविधिक सहयोगमा आजदेखि प्रदेश अस्पताल सुर्खेतमा तीन दिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सुरु भएको हो।

जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका, तर उपचार खर्च जुटाउन नसक्ने विपन्न नागरिकलाई लक्षित गरी यो शिविर सञ्चालन गरिएको हो।

बैंकका अनुसार चैत्र २९ गतेसम्म स‌ंचालन हुने शिविरबाट करिब ५० जना जलन पीडितले प्रत्यक्ष लाभ पाउनेछन् ।

शिविरमा बिरामीहरूको प्रारम्भिक परामर्शदेखि आवश्यक शल्यक्रियासम्मका सेवा निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ।

सुर्खेतमा जटिल समस्या देखिएका बिरामीहरूलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुर अस्पतालमा रिफर गरिने र त्यहाँ हुने उपचारको खर्च पनि बैंकले नै व्यवस्था गर्नेछ ।

शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्कोसँग जोडिएको अवस्थाका,  जलनका कारण हातका औँलाहरू टाँसिएका, जन्मजात ओठ वा तालु चिरिएका व्यक्तिहरू, जन्मजात औँला जोडिएका वा बढी औँला भएकाहरू र  चोटपटक लागेर जटिल समस्या भोगिरहेका नागरिकले सेवा लिनेछन् ।

यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा भएको पहिलो शिविरमा ६५ जना बिरामीले सेवा पाएका थिए।

जसमध्ये २० जनाको सेती प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको थियो भने १८ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियानलाई देशव्यापी बनाउने योजना राखेको छ। सुर्खेतपछि अब लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि यस्तै शिविर सञ्चालन गरिने बैंकले जनाएको छ।

सामाजिक उत्तरदायित्वमा नबिलको प्रतिबद्धता

नेपालको अग्रणी बैंकका रूपमा रहेको नबिल बैंकले बैंकिङ सेवा मात्र नभई सामाजिक रूपान्तरणमा पनि जोड दिँदै आएको छ।

जलनका बिरामीले समयमै स्तरीय उपचार नपाउँदा जीवनभर अपाङ्गता खेप्नुपर्ने अवस्थालाई ध्यानमा राखेर यो काम थालिएको हो।

बैंकले नबिल एसएसई मार्फत सामाजिक उद्यमशीलता र दिगो विकासमा पनि उत्तिकै सक्रियता देखाउँदै आएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया