दिपेन्द्र शर्मा
सुर्खेत ।
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले विद्यालयमा कार्यरत शिक्षकहरुका लागि पेशागत विकास सम्वन्धी तालिम संचालन गरेको छ ।
शुक्रवारदेखि सुरु भएको तालिमको उदघाटन गदै एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपालप्रसाद घिमिरेले पेशागत विकास तालिमले शिक्षकहरुमा नयाँ उर्जा थप्ने बताए ।
विद्यालयका निमित्त प्राचार्य हरिहर बस्नेतले सेवाकालिन शिक्षकहरुका लागि संचालन गरिएको तालिमले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
मानसिक स्वास्थ्य अवस्था सम्वन्धी प्रशिक्षण दिदै बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले विद्यालय तहको पढाइमै बालबालिकाहरुले सम्पूर्ण कुराहरु सिक्ने भएकोले उनीहरुको मनोभावनालाई वुझेर शिक्षक अघि बढ्नु पर्ने बताए ।
उनले विद्यार्थीहरुको समस्याप्रति शिक्षकले विशेष चासो राखेर समाधानको लागि पहल चाल्नु पर्नेमा जोड दिए ।
तालिममा मध्यपश्चिम विश्वविद्यालयका पूर्वसहायक डिन विष्णुकुमार खड्काले प्रभावकारी कक्षा शिक्षण सिकाई, बीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखाका अधिकृत उत्तम आचार्यले स्थानीय पाठ्यक्रमसम्वन्धी प्रशिक्षण दिएका छन् ।
तालिमको दोस्रो दिन मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक डा. सिपी रिजालले विद्यालय तहमा गुणस्तरीय शिक्षा र विश्वविद्यालयकै सहप्रध्यापक डा. अर्जुनबहादुर अयडीले बालअधिकार, बालबालिकाको काम, कर्तव्य र अधिकार तथा बालबालिकाको समस्या र समाधानका उपाय सम्वन्धी प्रशिक्षण दिएका छन् ।
राराखबर । २०७९, १७ बैशाख शनिबार