परिवारले गोजीको पैसा तिरेर हेलिकप्टरबाट गरेको उद्धारमा ‘क्रे डिट’ लिनेको होडवाजी

जाजरकोट- आइतबार बिहान १० बजे नलगाड नगरपालिका–२ छेप्काका एकै परिवारका तीन सदस्यका लागि एउटा ठूलो बज्रपात आइलाग्यो। खाना पकाउने ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा परी उनीहरू गम्भीर घाइते भए। नगर अस्पताल दल्लीमा प्रारम्भिक उपचारपछि उनीहरूलाई तत्काल सुविधायुक्त अस्पताल लैजानुको विकल्प थिएन।

तर, विपद्को यो घडीमा पीडित परिवारको आफ्नै बुता र पैसाले उनीहरूको ज्यान जोगाउने प्रयास भयो। विडम्वना के छ भने, परिवारले लाखौँ रुपैयाँ खर्चेर गरेको यो उद्धारलाई अहिले सामाजिक सञ्जालमा ‘हाम्रो नेता र हाम्रो पहल’ भन्दै जस लिने सस्तो प्रचारबाजी सुरु भएको छ।

के भएको थियो वास्तविक घटना?

घाइतेलाई तत्काल काठमाडौँ पुर्‍याउनुपर्ने अवस्था आएपछि आफन्तले जिल्ला प्रशासन कार्यालयलाई गुहारे। प्रशासनले गृह मन्त्रालयलाई जानकारी त गरायो, तर एउटा सर्तमा-“हेलिकप्टरको खर्च घाइतेका परिवार आफैँले व्यहोर्ने।”

नेपाली सेनाको नियमअनुसार भाडा पहिले नै खातामा जम्मा नभई हेलिकप्टर उड्दैन। यदि स्थानीय, प्रदेश वा संघ सरकारले जिम्मेवारी लिएको भए अर्कै कुरा हुन्थ्यो, तर यहाँ कसैले जिम्मेवारी लिएनन्। अन्त्यमा, घाइतेका आफन्तले आफ्नै गोजीको पैसा जम्मा गरेपछि मात्रै सेनाको हेलिकप्टर सुर्खेतबाट जाजरकोटका लागि उड्यो।

सेनाको हेलिकप्टरले सुर्खेत–जाजरकोट–नेपालगन्ज उडान भरेको थियो। प्रतिघन्टा २ लाख ७० हजार रुपैयाँका दरले नेपालगन्जसम्म पुर्‍याउँदा परिवारले ४ लाख ५ हजार रुपैयाँ नगद बुझाउनु पर्यो। बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको झन्झटिलो प्रक्रिया र पैसाको जोहो परिवार आफैँले गरे।

लाजमर्दो ‘क्रेडिट’ राजनीति

अहिले फेसबुक र अन्य सामाजिक सञ्जालमा “हाम्रो नेताको पहलमा उद्धार भयो” भन्दै भ्रमपूर्ण पोस्टहरू भइरहेका छन्। यसप्रति स्थानीय बासिन्दा र घाइतेका आफन्त आक्रोशित छन्।

“यदि परिवारले पैसा तिर्न नसकेको भए सेनाको हेलिकप्टर आउने नै थिएन,” एक स्थानीयले आक्रोश पोखे, “जिल्ला प्रशासनमा जानकारी दिनुलाई नै उद्धार गर्यौँ भन्नु लाजमर्दो कुरा हो। उद्धार त त्यसलाई भनिन्छ, जहाँ सरकारले खर्च व्यहोर्छ वा कुनै व्यक्तिले व्यक्तिगत खर्चमा सहयोग गर्छ। यहाँ त परिवारलाई ऋण बोकाएर नेताहरूले फोटो प्रदर्शनी गरिरहेका छन्।”

पीडामा परेका नागरिकको बाध्यतालाई राजनीतिक दाउपेच र सस्तो लोकप्रियताको माध्यम बनाइनुले हाम्रो समाज र राजनीतिको कुरुप ऐना देखाएको छ। आफ्नै पैसाले उपचारका लागि छटपटाएका नागरिकको उद्धारमा ‘जस’ खोज्नु मानवीय संवेदना माथिको प्रहार हो।

आगलागीमा परी माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीहरु तीनै जनाको अहिले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भैइरहेको परिवारले जनाएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया