जहाँ नवदुलहीले खोला तरे अनिवार्य बलि चढाउनुपर्ने अनौठो चलन छ

बीबीसी नेपाली सेवाबाट

कर्णालीको हिमाली जिल्ला हुम्लाको ताजाकोट गाउँपालिका, मैलाका मनदत्त जोशीले दुई वर्ष अघि बाजुरा कोल्टीकी निर्जना पाण्डेसँग विवाह गरे।

केटी भगाएर हुम्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने कवाडी खोला तरेर घर ल्याएका उनले गएको असोज महिनामा आफुहरूले तरेको खोलाको किनारमा बलि चढाए।

कवाडी खोला तरेर दुलही घर ल्याउँदा बलि दिने पुर्खौँदेखिको चलनलाई सुरुमा खासै वास्ता नगरेका मनदत्तले विवाह गरेको २ वर्षसम्म पनि गर्भ नबस्ने, श्रीमति बिरामी भइरहने र दुई जनाबीच मनमुटाव हुन थालेपछि बलि चढाउन बाध्य भएको बताए।

“गाउँलेले भनेजस्तै बच्चा नहुने, महिलाको ज्यान सुक्दै जानेजस्ता समस्या देखिन थालेपछि मनमा पनि आशङ्का उब्जियो,” उनले भने। “बलि नचढाउँदासम्म बच्चा हुँदैन कि भन्ने लागेर रुढीवादी परम्परालाई मान्न बाध्य भएँ।”

त्रिचन्द्र कलेज काठमाण्डूमा स्नातक तहमा अध्ययनरत उनी कुवाडो देउतालाई बलि चढाएपछि भने गर्भ पनि रहेको र अरू तनावबाट पनि मुक्ति मिलेको अच्चमको अनुभूति भएको दाबी गर्छन्।

मनदत्तजस्तै बझाङ, बाजुरा, हुम्ला र मुगुबासीले कवाडी खोला तारेर नयाँ दुलही घर भित्र्याउँदाअनिवार्य रूपमा बलि दिँदै आएका छन्।

हुम्ला र बाजुरा जिल्लाको सिमाना भएर बग्ने कवाडी खोलामा बाजुराको हिमाली गाउँपालिकाको ठुले र हुम्लाको ताजाकोट गाउँपालिकाको काँडागाउँ जोडने बेलीब्रिज छ।

नयाँ यातायातका साधन र पशुचौपाया किन्दा पनि बलि अनिवार्य

त्यही बेलिब्रिजको छेउमै रहेको कुवाडो देउताको थानमा आएर गाउँलेले कुवाडो देउतालाई बलि चढाएर पूजा गर्ने चलन छ।

उक्त खोला पहिलोपटक तर्ने जो कोही नवदुलहीले आइतवार बाहेक अरू बारमा आएर पूजा गर्नु पर्ने मान्यता छ।

प्रायजसो माघे र साउने पूर्णिमाको दिनमा बलि चढाएर पूजा गर्ने गरिन्छ।

यो चलन बाजेबराजुको पालादेखि चल्दै आएको ताजाकोटका कर्णप्रसाद जैसीले बताए।

“यदि दुलहा पक्षले नदिए दुलही पक्षले भए पनि कुवाडो देवतालाई बलि दिनुपर्छ,” उनले भने।

कवाडी खोला पहिलोपटक तरेका नयाँ यातायातका साधन, गाईगोरु, भैँसीजस्ता पशुचौपाया किनेर ल्याउँदा पनि बलि दिने चलन छ ।

गाउँलेहरूका अनुसार त्यहाँ रहेको प्रहरी चौकीमा आउने कतिपय नयाँ प्रहरीले समेत कुवाडो देउतालाई बलि चढाउने गरेका छन्।

कुवाडो देवतालाई सम्झने चलन

नयाँ विवाह गरी कवाडी पुल वारपार गरेपछि बलि दिनुपर्छ भन्ने चलन पहिल्यै देखि चलेको हो।

पुलनजिकै कवाडो देउताको थानमा बलि दिन दिनहुँ जसो मान्छेहरू आउँछन्।

नयाँ विवाह गर्दा, नयाँ वस्तु किन्दा सबैभन्दा पहिला कुवाडो देवतालाई सम्झने चलन रहेको स्थानीय राजबहादुर धामी बताउँछन्।

उनी भन्छन्, “यदि कुवाडो देउतालाई नसम्झने हो भने बच्चाबच्ची नहुने, गाइभैँसीले दुध नदिने, गाईभैँसी थारिने (बाँझो हुने), परिवारमा बेमेल हुने, गाडीको इन्जिन विग्रनेजस्ता समस्या आइपर्ने यहाँ मान्यता छ।”

विदेश र छिमेकी मुलुक भारतबाट कमाइ गरेर घर फर्कने कतिपय गाउँलेहरूले समते बलि चढाउँछन्।

स्थानीय तहमा व्याप्त उक्त मान्यताकै कारण हरेक व्यक्तिले आफ्नो गच्छे अनुसार (हुने खानेले बोका र नहुनेले कुखुरा) को बलि चढाउँछन्।

विशेषगरी दुलही भित्र्याउँदा बोका र पशुचौपाया किनेर ल्याउँदा कुखुराको बलि दिने चलन छ।

बलिको साथै कुवाडो देवतालाई खिचडी, पुरी रोटी, धजा र घण्टीहरू समेत चढाइन्छ ।

सुत्केरी र महिनावारी भएका महिलाले खोला तर्दैनन्

सुत्केरी र महिनावारी भएका महिलाहरूले भने कवाडी खोला तर्दैनन्।

यस्तो बेला खोला तरे देउता रिसाएर दु:ख दिने डरले सुत्केरी र महिनावारी हुँदा आफूहरूले खोला नतर्ने गरेको कमला पाण्डे जैसी बताउँछिन्।

“खोला नजिक जाँदा केही भइहाल्ने हो कि भनेर शरीर नै जिरिङ्ग हुन्छ,” उनी भन्छिन्। “देउताको असाध्यै डर लाग्ने भएकोले सुत्केरी हुँदा कम्तीमा १२ दिन र महिनावारी हुँदा ५ दिनपछि मात्रै खोला तर्ने गर्छौँ।”

खोला जहाँ तरेपनि बेलीब्रिज नजिक रहेकै थानमा बलि चढाउने र पूजा गर्ने गरिन्छ।

कसैले थाहा नपाएर खोला तरे पनि थाहा हुन बित्तिकै पूजा गरेर बलि चढाउँछन्।

बेलीब्रिज बन्नु अघि उक्त ठाउँमा पहिला घाटबाट मान्छेहरू खोला तर्ने गर्थे।

गाउँबाट कामको सिलसिलामा घरबाहिर जाँदा कुवाडो देउतालाई अनिवार्य सम्झने र फर्केर आएपछि बलि दिएर पूजा गर्ने चलन त्यहाँ छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया