बालेनसँग प्रधानमन्त्री जुध्न जानुभएको छैन : महासचिव पोखरेल 

सुर्खेत । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने बताएका छन् ।

बिहीवार प्रेस चौतारी, कर्णालीले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले आफूले दुई दलीय प्रणालीको कुरा नगरेको बताएका हुन् । उनले आफ्नो अभिव्यक्तिलाई बङ्गाइएको बताए । उनले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन, फरक बिचार भएका दुई ठुला दलको कुरा गरेको हुँ ।’

महासचिव पोखरेलले मुलुकको स्थायित्व र विकासका लागि काँग्रेस एमाले भए पुग्ने बताए । ‘अमेरिकामा सयौँ वर्षदेखि दुई दलबिच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरू दल खोल्न नपाइने हो र ? तर दुई दलबिच नै प्रतिस्पर्धा चलिरहेको छ’ महासचिव पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो ।’

मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै भएको उनको तर्क छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ  महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को आरोप प्रत्यारोपलाई  कसरी हेर्नु भएको छ ? भन्ने पत्रकारको प्रश्नमा महासचिव पोखरेलले कृत्रिम कुरा गरेर विवाद उचाल्ने काम भरेको प्रतिक्रिया दिए ।

‘बालेन सँग प्रधानमन्त्रीज्यूले विवाद कहिले गर्नुभयो ? कहिले लड्न जानुभयो । नभएको कृत्रिम विवाद सृजना गर्न खोजियो,’ पत्रकारहरूलाई प्रति प्रश्न गर्दै उनले भने, ‘पक्ष विपक्षमा भएको बहसलाई प्रधानमन्त्रीसँग जोड्नु पर्ने कारण देखिँदैन ।’

सत्ताबाहिर पुगेपछि नेकपा ( माओवादी ) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलङ्का र बंगलादेशको बाटोमा डो¥याउने भन्दै दिएको अभिव्यक्ति अलोकतान्त्रिक र अराजनीतिक भएको भन्दै  आपत्ति जनाए ।

फरक प्रसङ्गमा उनले अहिलेको सरकार बनेपछि राजस्व लगायतका कुरामा वृद्धि भएको र अहिले पनि एमाले पार्टी जनताको पहिलो पार्टीका रूपमा रहेको दाबी समेत गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया