कर्णालीमा उपनिर्वाचन: कुन-कुन दलले कहाँ दिए उम्मेदवारी ? 

सुर्खेत । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । एक गाउँपालिका अध्यक्ष, एक नगर पालिकाको उपप्रमुख,  एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त रहेका उक्त पदमा उपनिर्वाचन हुदैछ । उपनिर्वाचनका लागि प्रदेशका आठ पदमा ४४ जनाको उम्मेदवारी परेको छ ।

 विभिन्न राजनीतिक दलका ४१ र तीन जना स्वतन्त्र गरी ४४ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । कर्णालीमा उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राप्रपा लगायतका दलले उम्मेदवारी दर्ता गराएका छन् ।

दैलेख महावु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ दलले मनोनयन दर्ता गराएका छन् । काँग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जङ्गबहादुर शाही, माओवादीबाट जङ्गबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर रहेका छन् ।

एमालेबाट उम्मेदवार बनेका शाही यसअघि २०७४ मा नेकपा एमालेबाट महावुको अध्यक्ष बनेका थिए । २०७९ को निर्वाचनमा उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए । केही अघि मात्र एमालेमा फर्किएर उनी पुनः महावुको अध्यक्ष उम्मेदवार बनेका छन् ।

यसअघि नेपाली काँग्रेसबाट निर्वाचित महावु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको २०७९ माघ २७ गते मृत्यु भएको थियो ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा ६ दलले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार काँग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बाट पवित्रा जैसी र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सुनिता पुन रावलले मनोनयन दर्ता गराएका हुन् । यसअघि २०७९ को निर्वाचनमा काँग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहको ०८० कार्तिकमा भूकम्पमा परेर निधन भएको थियो ।

उपनिर्वाचन हुने हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ६ जना महिला र एक जना पुरुष चुनावी प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसबाट सबिता बुढा, नेकपा एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचा शाही उपाध्यक्षका लागि चुनावी मैदानमा छन् । नरेश शाही र रामसरा खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७९ को चुनावमा माओवादीबाट उपाध्यक्षमा निर्वाचित चन्द्रसिंह कार्कीको गत भदौ ४ गते सवारी दुर्घटनामा परेर निधन भएको थियो ।

प्रदेशका ५ वटा वडामा उपनिर्वाचन हुँदैछ । रुकुम पश्चिममा सानी भेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालका अनुसार उक्त वडामा नेपाली काँग्रेसका तर्फबाट मोतीराम खत्री, माओवादी केन्द्रबाट जसिराम बस्नेत, एकीकृत समाजवादीबाट हंसराज पुरी र स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

दैलेखको दुल्लु नगरपालिका–१३ मा वडाध्यक्ष पदका लागि ६ दलले मनोनयन दर्ता गराएका छन् । उक्त पदका लागि एमालेबाट लालबहादुर शाही, काँग्रेसबाट शेरबहादुर शाही र माओवादीबाट ढकेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै , राप्रपाबाट रेसम शाही, रास्वपाबाट रामबहादुर शाही र नेमकिपाबाट पूणर्प्रसाद उपाध्यायले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

यसअघिका वडाध्यक्ष बर्खबहादुर शाहीको गत माघमा ब्रेनट्युमरका कारण मृत्यु भएको थियो । २०७९ मा उनी नेपाली काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा पनि ६ दलले उम्मेदवारी परेको छ । उक्त वडामा काँग्रेसबाट पैलन बहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन शाही र माओवादीबाट नैस्वभा शाहीको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लामा दर्ता भएका सबै दलहरूले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । २०७९ मा निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको दुई वर्षअघि राचुली पहिरोमा परी बेपत्ता भएपछि उपनिर्वाचन हुन लागेको हो । परबहादुर माओवादी केन्द्रबाट निर्वाचित थिए ।

त्रिपुरा सुन्दरी नगरपालिका–५ डोल्पाको वडाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । यहाँ एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री, समाजवादीबाट ज्योति घर्ती र काँग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । ०७९ को निर्वाचनमा एमालेका नन्दलाल रोका निर्वाचित भएका थिए । उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

जाजरकोटको कुसे गाउँपालिका–७ को वडाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । काँग्रेसबाट खम्बबहादुर घर्ती, एमालेबाट डम्मरबहादुर घर्ती, माओवादी केन्द्रबाट गोरख नेपाली र राप्रपाबाट लालबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया