सुरुङभित्रको जोखिमपूर्ण दैनिकी

सुर्खेत – गुलरिया नगरपालिका–१ बर्दियाका भीमबहादुर सुनार राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा संलग्न भएको सात महिना भयो। उनी दैनिक १२ घन्टा सुरुङभित्र काम गर्छन्। बिहान सात बजे उनीजस्तै कामदारलाई मोनोरेलले सुरुङमार्गभित्र पु-याउँछ। उनीहरू बेलुका सात बजे सुरुङबाट बाहिरी संसारमा निस्कन्छन्। नेपालमै पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) सँगै उनीहरू काम गर्छन्।

‘सुरुङभित्रको दैनिकी जोखिमपूर्ण भए पनि चिनियाँबाट सीप सिक्ने मौका पाइरहेका छौं’, सुनारले भने, ‘आम्दानी राम्रो छ।’ १२ घन्टा काम गरेबापत नेपाली कामदारले दैनिक एक हजारदेखि दुई हजार रुपैयाँसम्म कमाउँछन्। नेपाली कामदारलाई सुरुङमार्गमा काम गर्दा दुईवटा फाइदा छन्। ‘स्वदेशमै रोजगारी पाउनु छँदैछ त्यसमाथि नयाँ प्रविधिसँग नयाँ सीप सिक्न पाइएको छ’, उनले भने।  ४८ वर्षीय सुनारले अधिकांश समय भारतमा मजदुरी गरेर बिताए। ‘३० वर्षसम्म भारतमा काम गर्दा चाडपर्वमा जहानबच्चालाई नयाँ लुगा फेर्नेबाहेक बचत गर्न सकिएन’, उनले भने, ‘घरनजिकै काम गर्न पाएको छु, बचत पनि राम्रै भइरहेको छ।’

सुर्खेतको भेरीगंगा नगरपालिकाका अमर बस्यालले पनि सुरुङमार्गमा काम गर्न थालेको दुई वर्ष भयो। सुरुङमार्ग निर्माणमा सुरुदेखि नै संलग्न बस्याल मासिक ३८ हजार रुपैयाँ कमाउँछन्। सुरुमा १५० मिटर मानव निर्मित सुरुङ खन्न पाँच सयको हाराहारीमा कामदार परिचालन गरिएको थियो। त्यो समयदेखि उनी सुरुङ निर्माणमा सक्रिय छन्। ‘सुरुसुरुमा सीप थिएन, आम्दानी पनि थोरै हुन्थ्यो’, स्वचालित मेसिन चलाउन सिकेका उनले भने, ‘अहिले हातमा सीप छ, सोहीअनुसारको आम्दानी भइरहेको छ।’

टिबिएम प्रयोग भइसकेपछि २४ घन्टा काम हुन्छ। १२–१२ घन्टामा ड्युटी परिवर्तन हुन्छ। कामदारका लागि खाजा, खानाको व्यवस्थापन सुरुङभित्रै हुन्छ। सामान्य बिरामी हुँदा औषधिउपचारको व्यवस्था पनि सुरुङभित्रै हुन्छ। भेरी–बबई आयोजना निर्माण कार्य सुरु भएदेखि दैनिक पाँचदेखि ६ सय जना नेपालीले रोजगारी पाएका छन्। तीमध्ये दुई सय हाराहारीमा नेपालीहरू सुरुङभित्र काम गर्छन्। उनीहरूसँगै ८० जना चिनियाँ कामदार पनि छन्।

आइतबारसम्म टिबिएमले नौ किलामिटर आठ सय ८४ मिटर सुरुङ खनेको छ। जतिजति सुरुङमार्ग विस्तार हुँदैछ, उतिउति अनुभव र काममा निखारता आएको नवराज खत्री बनाउँछन्। ‘घर नजिकै रोजगारी पाइएको छ, आम्दानी पनि राम्रै छ’, उनले भने, ‘नयाँ प्रविधिसँग काम गर्दा धेरै कुरा सिक्न पाएका छौं।’

स्वचालित मेसिनबाट टिबिएम सञ्चालन हुन्छ। सुरुङमार्ग झिलिमिली छ। सुरुङमार्गभित्र नेपाली कामदारहरू मेसिन चलाउनेदेखि माटो ओसार्ने, सेग्मेन्ट भर्ने, प्लास्टर गर्ने, सफाइलगायतका काममा संलग्न छन्। काम गर्ने स्थानसम्म पाइपलाइनबाट अक्सिजन पु-याइएको छ। सुरुङमार्गसम्म पुग्न, आवश्यक सामग्री पु-याउन र टिबिएमले खनेको माटो बाहिर ल्याउनका लागि मोनोरेल प्रयोग गरिएको छ।

भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सन् २०१५ को जुलाई ४ मा चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) सँग सम्झौता भएको थियो। २०७४ कात्तिक २० गते सुरुङ निर्माण थालिएको थियो।

आयोजना प्रमुख सञ्जीव बराल आयोजना सुरु भएसँगै स्थानीयदेखि छिमेकी जिल्लाका पाँच सयदेखि छ सयसम्मले दैनिक रोजगारी पाइरहेको बताउँछन्। ‘अधिकांशलाई आयोजनाले सीप सिकाएर काममा लगाएको हो’ उनले भने, ‘कामदारहरूले सीपअनुसारको आम्दानी गरिरहनुभएको छ।’ उनले कामदारको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताए। ‘सुरुङ निर्माण कार्य जोखिमपूर्ण भए पनि हामीले उच्च सुरक्षा सतर्कता अपनाएका छौं’, उनले भने, ‘अहिलेसम्म बिनाअवरोध काम भइरहेको छ।’

आयोजना प्रमुख बरालले समयअगावै सुरुङ निर्माण कार्य सम्पन्न हुने बताए। ‘बबईदेखि चिप्लेसम्मको १२ किलोमिटर सुरुङ २०२० मार्चभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो’, उनले भने, ‘अब तीन किलोमिटर मात्रै बाँकी छ, अहिलेकै गतिमा काम भएमा चाँडै काम सम्पन्न हुन्छ।’ आयोजनाले सुरुङ निर्माणमा मात्रै ध्यान दिँदा चिप्लेमा बाँध (ड्याम) र बबईमा विद्युत् गृह निर्माणको काम भने ओझेलमा परेको छ।नागरिक दैनिकबाट 




फेसबुकबाट तपाईको प्रतिक्रिया