७५ बर्षको उमेरमा नागरिकता

बद्री पन्त
जाजरकोट १, चैत
बारेकोट गाँउपालिका ३, पहाडामुलसामकी ७५ बर्षीया मन्दरा कामी नेपाली नागरिकताको प्रमाण पत्र लिन हस्या“ङ फस्या“ङ गर्दै शुक्रबार गाउँपालिका केन्द्र लिम्सा पुग्नु भयो । उहाँलाई सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले नागरिकताको प्रमाण पत्र प्रदान गर्नु भएको हो ।
जीवनको उत्तरार्धमा ७५ बर्षको उमेरमा पहिलो पटक घर नजिकै नागरिकता लिन पाउँदा आफु निकै खुसी भएको मन्दाले बताउनु भयो । सदरमुकाम जान दुई तीन दिन हिड्नु पर्ने बाध्यता, आफै हिडेर जान नसक्ने, सदरमुकाम लगिदिने मान्छे नभएको, आर्थिक समस्या र नागरिकताको खासै काम नपरेकोले बनाउन नपाएको कामीले बताउनु भयो । समयमा नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र चुनावमा भोट हाल्न बाट समेत बञ्चित हुनु परेको उहाँले गुनासो सुनाउनु भयो ।
त्यसैगरी बारेकोट २, रोकायगाउँका ७० बर्षिय नन्ने कामीले घर नजिकैबाट नागरिकता पाउँदा खुसीले गदगद भएको बताउनु भयो । १० बर्ष भारतको कालापाड विताएको अनुभव सुनाउदै, आफुसंगैकाले सामाजिक सुरक्षा भत्ता रकम बुझ्ने गरेको उहाँले बताउनु भयो । मेरो पनि नागरिकता बन्यो अब सरकारी सेवा सुविधा पाउँने भए खुसी छु, उहाँको भनाई छ । मन्दरा र नन्ने मात्र होइन बारेकोटका सयौं बासिन्दाले घर दैलोमै नागरिकताको प्रमाण पत्र पाएका छन् ।


दुर्गम गाउँमा पहिलो पटक डिजिटल प्रविधीबाट शिविरमा नागरिकता वितरण गरिएको हो । बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा संचालित घुम्ती शिविरमा तेस्रो दिन ५ सय ५० जनाले नागरिकता, ६ सयले फोटो सहितको मतदाता नामावली लगाएतका सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले बताउनु भयो । सदरमुकाम जान दुई तीन दिन हिड्ेर जानु पर्ने बाध्यता तथा घरदैलो नजिक नागरिकता लगाएत सरकारी सेवा पाएपछि स्थानीयलाई सहज भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहाुर शाहले बताउनु भयो । बारेकोट ५, नायकबाडाकी ६९ बर्षिया कल्दरी शाही कामीले घर आँगनमै नागरिकता बनाउन पाउँदा सहज भएको बताउनु भयो । ढिलै भएपनि नागरिकता पाईयो उहाँको भनाइ छ ।


शिविरमा सुत्केरी महिला, बृदबृद्धा, शारीरिक रुपमा अशक्त लगायतले सेवा लिने अबसर पाएका छन । एक सातासम्म संचालन हुने शिविरमा नागरिकता, फोटो सहितको मतदाता नामावली, अपाङ्गता परिचय पत्र, घरेलु उद्योग व्यवसाय दर्ता लगाएतका सेवा प्रवाह भैरहेकोे गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत रुद्रबहादुर पछाईले बताउनु भएको छ ।
बारेकोटवासीको बाध्यतालाई मध्यनजर गरी गाँउपालिकाले यसरी पहिलो पटक जिल्ला प्रशासन कार्यालयको सहयोगमा गत बुधवार देखि बारेकोटमा संचालन गरेको नागरिकता वितरण लगायतका सेवाबाट स्थानियबासी लाभान्वित भएको प्रमुख प्रसासकीय अधिकृत पछाईले जानकारी दिनु भयो ।
शिविरमा १,२,३,४,५ र ६ वडाका बासिन्दाको लागि गाउँपालिका केन्द्रबाट सेवा लिने व्यवस्था मिलाईएका छ, भने ७, ८ र ९ वडाका बासिन्दाको लागि ३ र ४ गते ८ को वडा कार्यालय सेपुखोलाबाट नागरिकता, फोटो सहितको मतदाता नामावली, अपाङ्गता परिचय पत्र, घरेलु उद्योग व्यवसाय दर्ता लगाएतका सेवा प्रवाह हुने अधिकृत पछाईको भनाई रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया