सुर्खेत, २७ कार्तिक ।
गएको बैसाख महिनामा जेठी छोरी सरिताको विवाह गर्दा जाजरकोटको नलगाड नगरपालिका –८, खगेनकोटका तिलक खत्रीले छोरीज्वाईलाई चार लाख रुपैयाको माला लगाई दिए ।
छोरीज्वाईको गला नोटको मालाले भरेका उनी भन्छन, ‘परिवारको इज्यत र सम्मानको लागि छोरीज्वाईलाई दुई–दुई लाख रुपैयाको माला लगाईदिए ।’
छोराले थातथलो(घरजग्गा)खान्छन् । छोरी विवाह गरेर अर्काको घर गएपनि बावुआमाको सम्पतिमा समान हक लाग्ने भएकोले उसलाई चार लाख नगद र पाँच तोला सुन दिएको उनी बताउँछन् ।
नोटको माला लगाउने प्रतिस्पर्धा
जाजरकोटमा मात्र हैन कर्णाली प्रदेशका विभिन्न गाउँबस्तीमा विवाह गरेर विदाई गर्ने बेला बेहुला बेहुलीलाई नोटको माला लगाउने अनौठो चलन झागिंदै गएको छ ।
दुवोको मालाको साटो माइतीले बहिनी ज्वाई–छोरीज्वाईलाई ४०–५० हजार देखि चार-पाँच लाख रुपैयासम्म राखेर नोटको माला लगाइ दिने र वाकी रकम वाकसमा राखेर दिने गर्छन् ।
पछिल्लो समय जाजरकोट, कालिकोट, रुकुम, जुम्ला, सुर्खेत, सल्यान लगायतका जिल्लाका गाउँबस्तीमा यो चलन बढ्दै गएपछि धेरैले चिन्ता गर्न थालेका छन् ।
अरुलाई देखाउनको लागि ऋण सापट गरेर माला लगाएर पैसा दिने प्रतिस्पर्धाले समाजमा विकृति निम्त्याएको उनीहरु बताउँछन् ।
यस्तो चलनले समाजमा धनी र गरिवबीच विभेद पैदा गदै आर्थिक अवस्था कमजोर भएका वर्गको आत्म सम्मानमा चोट पुर्याउने उनीहरुको तर्क छ ।
देखासिकी गर्दा ऋणको भारी
उनीहरु भन्छन, ‘देखासिकी गर्दा आर्थिक अवस्था कमजोर हुनेहरु छोरीबहिनीको विवाह गर्दा ऋणमा डुवेका पनि छन् । त्यसैले यस्तो चलन हटाउँनु पर्छ ।’
सामाजिक कार्यकर्ता सुशिला सिंह मालाको बाहानामा पैसा दिने चलनले घरेलु हिंसालाई मलजल र परिवारमा कलह सृजना गरेको बताउँछिन् ।
गाउँघरमा जग्गाजमिन बेचेर, समुह सहकारी र साहुबाट चर्को व्याजमा ऋण ल्याएर माला लगाएर पैसा दिने होडबाजी नै चलेको छ, उनी भन्छिन्, ‘छोरीबहिनीलाई राम्रो स्कुल कलेज पढाएर आफ्नो खुट्टामा उभिने बनाउ भन्ने सोच कसैको छैन् ।’
कालिकोटको शुभकालिका गाउँपालिकाकी यशोदा आचार्य माला बनाएर दिने पैसा चलनले धेरै बावुआमालाई समस्यामा पर्ने गरेको बताउँछिन् ।
उनी भन्छिन, ‘हुने खानेले त सजिलै दिन्छन् तर नहुँनेले ऋणको भारी बोक्नुको विकल्प हुदैन् ।’
चार–पाँच बर्षदेखि गाउँघरका भित्रिएको बिवाहमा पैसाको माला लगाउने चलनेले तराईतिर सुनिदै आएको दाइजो प्रथाको झल्को दिने गरेको कतिपय बताउँछन् ।
गाउँभरी गिल्ला हुने डर
पहिला यस्तो चलन थिएन्, टीकाटालो गर्ने बेला दक्षिणको रुपमा थोरै पैसा दिन्थे, बुढापाखाहरु भन्छन, ‘घरगरी खान सजिलो होस् भनेर आफ्नो गच्चे अनुसार छोरीबहिनीलाई हुन्ना, गाग्रा ताउला, थाल, कचौरा, अम्खारा, गाई, भैसी, भेडाबाख्रा दिएर माइतीले विदा गर्थे ।’
उतिवेला अहिलेजस्तो छिमेकी बाँझिएर सकि नसकी पैसा दिने चलन थिएन, ८० बर्षिय समाजसेवी चन्द्रबहादुर रावलले भने, ‘अहिले त छोरीबहिनीलाई विदाई गर्दा पैसाको माला लगाएन भने गाउँभरी गिल्ला हुनु चिन्ताको विषय हो ।’
पैसा हैन, शिक्षा
मान्छेलाई पैसा कहिल्यै पुग्दैन् । छोरीबहिनीलाई पैसा भन्दा पनि राम्रो शिक्षा दिएर आफ्नै खुट्टामा उभिने सक्ने बनाए उनीहरु जीवनभर सुखी र खुशी रहन सक्ने उनी बताउँछन् ।
जाजरकोटकी अस्मिता विक माला लगाउने बहानामा पैसा दिने चलनले छोरीबहिनीको विवाह गर्न गरिवलाई गरो (खेत) बेच्नु पर्ने अवस्था आएको बताउँछिन् ।
निकै खर्चालु हुँदै गएकोले यस्तो चलन रोक्नु पर्छ भनेर बारम्वार आवाज उठाएपनि कसैले नसुनेको उनी गुनासो गर्छिन् ।
रहर नभई बाध्यता
भर्खरै विवाह गरेका दुलाह दुलही भने, पैसा दिनु राम्रो नभए पनि गाउँघरमा चलेको प्रचलनलाई स्वीकार गर्नुको विकल्प नभएको बताउँछन् ।
उनीहरु भन्छन, विदा हुने बेला माइतीले लगाउने मालालाई कसरी अस्वीकार गर्नु ?
देखासिकीमा गरिने यस्तो चलनले आफुहरु मर्कामा परेको धेरै अभिभावकहरु गुनासो गर्छन् ।
हुने खोनेलाई केही समस्या हुदैन्, उनीहरु भन्छन, ‘केही नगरे गाउँभरी गिल्ला हुने डरले पनि इज्यत जोगाउन ऋण सापट गरेरै भएपनि विवाह टार्नु पर्ने बाध्यता हुन्छ ।’
छोरीबहिनीको विवाह गर्दा परेको समस्या भन्न पनि उनीहरु हिच्किचाउने गरेको पाइन्छ । उनीहरु भन्छन, ऋण लागेको कुरा भन्दा झन् लाज हुने भएकोले आफ्नो समस्या आफैभित्र राख्नु पर्ने बाध्यता छ ।
छोरीबहिनीको मनोवल बढ्ने
कतिपय अभिभावक भने छोराछोरी दुवै वराबरी भएकोले बावुआमाको सम्पति समान रुपमा बाँड्नु पर्ने बताउँछन् ।
छोराको भागमा पर्ने जति सम्पति छोरीलाई दिंदा कसैले अप्ठ्यारो मानु पदैन् उनीहरुको तर्क छ, ‘यसले छोरीबहिनीको मनोवल उच्च बनाउने र अघि बढ्न थप हैसला दिन्छ ।’
कसैसँग प्रतिस्पर्धा गर्नुको लागि होइन, आफ्नो गच्छे अनुसार छोरीबहिनीलाई उनीहरुको भाग दिनुपर्ने उनीहरु बताउँछन् । बीबीसीबाट साभार ।
राराखबर । २०७६, २७ कार्तिक बुधबार