नेपालमै पहिलो पटक रुकुममा आइतबारदेखि यार्सा महात्सव सुरु भएको छ । विश्व जैविक विविधता दिवसको अवसरमा रुकुममा पुपाल यार्सा महोत्सव सुरु भएको हो ।
समुद्र सतहबाट तीन हजार दुई सय मिटरको उचाईमा रहेको रुकुमको रन्मामैकोटमा आयोजना गरिएको महोत्सवको सभामुख ओनसरी घर्ती, वन मन्त्री अग्नी सापकोटा, आपूर्ति मन्त्री गणेशमान पुन, सार्वजानिक लेखा समितिका सभापति जनार्दन शर्मा प्रभाकरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । रुकुमको रन्मामैकोटमा पाइने यार्सा नेपालको अन्य ठाँउको भन्दा उत्कृष्ट रहेको सन्देश दिनको लागि महोत्सव गरिएको आयोजकले बताएका छन् । सभामुख ओनसरी घर्तीले अबको संविधानले कष्टकर जीवन बिताइरहेका नागरिकको सपना पूरा गर्ने बताउनुभयो ।
यस्तै महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै आपूर्ति मन्त्री गणेशमान पुनले अब आर्थिक समृद्धिको युग सुरु भएको बताउनुभयो । दुई वर्ष अगाडी देखि यार्सा ट्रेल सुरु भएको जानकारी गराउँदै मन्त्री पुनले यो योजना पूरा भएमा समग्र रुकुमेलीको जीवनस्तरमा परिवर्तन हुने बताउनुभयो । रुकुम क्षेत्र नम्बर १ का सांसद समेत रहेका मन्त्री पुनले रन्मामैकोटसहित जिल्लाका दुर्गमका नागरिकलाई लक्षित गर्दै सडक तथा पुल निर्माण, खानेपानी योजना, प्राविधिक शिक्षालय स्थापना लगाएत विकास निर्माणका काम भइरहेको जानकारी दिनुभयो । महोत्सव जेठ २३ गते सम्म सञ्चालन हुने आयोजक समितिका संयोजक लक्षिण पुनले बताउनुभयो ।
राराखबर । २०७३, ९ जेष्ठ आईतवार