कोषाध्यक्षका कारण तलव खान नपाएको भन्दै खानेपानीका कर्मचारी आन्दोलित

सुर्खेत
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा कार्यरत कर्मचारीहरु संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले चेकमा हस्ताक्षर नगरेका कारण चार महिनादेखि तलव खान नपाएको भन्दै खानेपानी सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
कोषाध्यक्षका कारण मंसिर महिनादेखि मासिक तलब खान नपाएको भन्दै कर्मचारीहरुले फाल्गुन १९ देखि २२ गतेसम्म संस्थामा तालाबन्दी गरी खानेपानी संचालन बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने बताएका छन् ।
फाल्गुन २३ गतेसम्म पनि समस्या समाधान नभए खानेपानी सेवा समेत ठप्प पार्ने चेतावनी उनीहरुले दिएका छन् ।
सुरुका दिनहरुमा संस्थाको कुनै कारणले गर्दा तलब पाउन ढिलो भएको होला भन्ने सम्झि कामकाज गर्दै आईरहेका थियौं, विज्ञप्तीमार्फत उपभोक्ता र सरोकारवालाको ध्यानाकर्षण गदै उनीहरुले भनेका छन, अव चुप लागेर बस्दैनौ ।

चार–चार महिना सम्म तलब सुबिधा नपाएपछि, कार्यालय प्रमुखसँग मौखिक अनुरोध गर्दा नआतिनुहोस भैहाल्छ भन्ने मौखिक जवाफ पाएको र पछि संस्थाको यही फाल्गुन ६ गते बसेको मुल समितिको बैठकले कर्मचारीको तलब समेत निकासा दिनेगरी निर्णय गरेपनि तलव रकम निकासा गर्न कोषाध्यक्ष गौतमले चेकमा दस्तखत नगरेको जानकारी आफुहरुले पाएको उनीहरुको भनाई छ ।
ट्रेड यूनियनले फाल्गुन ७ गते कार्यालय प्रमुख डम्मरबहादुर गौतमलाई तलब उपलब्ध गराउन र प्रमुख जिल्ला अधिकारीलाई तलब खुवाउने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन अनुरोध पनि गरेको उनीहरुले बताए ।
फेरी फाल्गुन १६ गते संस्थाका अध्यक्ष र कार्यालय प्रमुख समक्ष कर्मचारीहरुलाई तिनदिन भित्र तलब उपलब्ध गराइदिन अनुरोध गरेपनि अध्यक्ष र कार्यालय प्रमुखले कोषाध्यक्षले चेकमा दस्तखत नगरेका कारण तलव दिन नसकेको मौखिक जानकारी दिएकोले बाध्य भएर संर्घषमा उर्तिनु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भोकोपेट कामगर्न सकिदैन्, कर्मचारीहरुको ट्रेड यूनियनका अध्यक्ष गणेशमान खनालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, आफुहरुको आन्दोलनबाट आम उपभोक्तामा पर्न जाने असरको जिम्मेवारी तलब नखुवाउनेहरु हुनेछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया