सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालको व्यवस्थापनमा तत्काल सुधार आवश्यक रहेको बताए ।
सोमबार प्रदेश अस्पतालले गरेको कार्यक्रममा उनले विगत देखि अस्पताल सेवाप्रति नागरिकको गुनासो बढ्दै गएकोले अब गुनासो आउने अवस्थालाई पूर्णविराम लगाउनुपर्नेमा जोड दिए।
उनले भने, “अस्पतालमा आउने बिरामी र नागरिकको पहिलो अपेक्षा भनेकै गुणस्तरीय सेवा हो। बाहिरी सौन्दर्य मात्र पर्याप्त हुँदैन, भित्र पनि व्यवस्थापनले त्यसको अनुभूति गराउनुपर्छ।”
मुख्यमन्त्री कँडेलले अस्पताल परिसर बाहिर देखिने सौन्दर्यपूर्ण वातावरणजस्तै भित्र पनि अनुशासन, स्वच्छता र सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिए ।
उनले अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति जिम्मेवार हुन आग्रह गरे।
कार्यक्रममा अस्पतालका निर्देशक डाक्टर गणेश थापाले जनशक्ति अभाव, उपकरणको पर्याप्त प्रयोगमा कठिनाइ, औषधि आपूर्ति समस्या र पूर्वाधार विस्तारको आवश्यकता रहेको जानकारी गराए ।
राराखबर । २०८२, १० भाद्र मंगलवार